रवि पौडेल ##
मलाई एक जना साथी भेट्न जानु थियो । आफूसँग कुनै सवारीसाधन थिएन, कसरी जाने होला ? सोचमा परेको थिएँ । म त भारतमा मजदुरी गर्ने मान्छे । यसो मोबाइल खोलेँ । केही वर्षपहिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषण सुनेँ : समृद्ध नेपाल, सुखी नेपाली । त्यसपछि केरुङ–काठमाडौँ रेलमार्ग सोध्दै म अघि बढेँ ।
कुस्मामा रेलवे स्टेसन सुनेको थिएँ । सिधा अटो समात्न अटो स्ट्याण्ड पुगेँ ।
‘ए भाइ, कुस्मा रेलवे स्टेसनसम्म जानु थियो ।’
‘हुन्छ बस्नुस्, म पुऱ्याउँछु’ अटोवालाले भन्यो ।
म अटोमा बसेँ ।
अटो निकै मन्द गतिमा सरर्र अघि बढिरहेको थियो । अटोबाटै, कुस्मा, पर्वत र बागलुङका केही केबलकार, मनमोहक दृश्य हेर्दै म कुस्मा पुगेँ ।
‘भाइ कति भयो ?’
‘सय रुपियाँ दिनुस् ।’
म छक्क परेँ । करिब चार सय लाग्ने बाटोमा रु सय ?
अटोवाला भाइले भने– ‘हो दाइ, यो ब्याट्रीबाट चल्ने अटो हो । ब्याट्री र अटो सरकारले दिएको हो । चार्जरको पैसा लाग्दैन । हावाबाट निकालेको बिजुली हो ।’
मैले ठिकै छ ल लेऊ भन्दै सय रुपियाँ दिएर कुस्म रेलवेस्टेसनभित्र पसेँ ।
ओहो झ् क्या गजब झ् पूरै एसी, रङ्गीबिरङ्गी लाइट विदेशकै झल्को लाग्यो । चेन्नै र कलकत्ताका के रेलवे स्टेसन झ् कुस्माको पो रेलवे स्टेसन ! काठमाडौँको टिकट लिएँ । मलाई हतार थियो । रेल आयो । मभित्र पसेँ । खचाखच भरिएको कोचमा एउटा मात्रै सिट रहेछ, त्यहीँ बसे ।
सबै व्यस्त थिए । एसी कोचमा फ्री वाइफाई जडान गरिएको रहेछ । म पनि के कम ? सर्च गरेँ र कनेक्टिङ गरेँ । मस्त गीत लगाएर कानमा घुसारेँ अनि कुस्मादेखि काठमाडौँसम्मका दृश्यावलोकन गरेँ । क्या सुन्दर देश झ् गिरिजा बाबुले देश सिङ्गापुर बनाउँछु भन्थे हो रहेछ ।
बेनी आइपुगिएछ । बाहिर हेरेँ ।
कस्तो सुन्दरता ? चिल्ला रोड, सुन्दर महल । सबै सरकारी भवन हुन् दाइ ? भनेर नजिकैको साथीलाई सोधेँ ।
उहाँले भन्नुभयो– ‘सबै सरकारी आवास । यहाँ गरिब, जग्गाजमिन नभएका सर्वहारा वर्ग बस्छन् ।’
म त फुरुङ्ग भएँ । कस्तो विकास ? केही समयपहिले महँगीको आन्दोलनको विरोध गर्दै केपी शर्माले भन्नुभएको थियो– पेट्रोलको पैसा मैले बढा हो ? सडकमा खाल्डाखुल्डी मैले पाऱ्या हो ? हावाहुरी, चट्याङ मैले आउन भन्या हो ? तर यति थोरै समयमै यस्तो समृद्धि देखेर म दङ्ग परेँ ।
काठमाडौँ पुगेँ । हत्तपत्त म झरिहालेँ ।
मलाई थापाथली जानु थियो । ट्याक्सी स्ट्यान्ड पुगेँ र ट्याक्सी समातेँ ।
‘भाइ म थापाथली जानुछ ? केबलकारमा जानू न, सस्तो पर्छ ?’
मैले प्रश्न गरे– ‘कसरी ?’
‘हावाबाट निकालेको बिजुली हो, पैसा कम लाग्छ ।’
म त्यतै हान्निएँ । केबलकार काठमाडौँको भ्युटावर हुँदै जाँदो रहेछ तर म साथीलाई भेट्न पहिले साथीको घर पुगेँ । बाहिरबाटै कुनै धनाड्य मालिकको महलजस्तो देखिने घर । साथीको होला भन्न पनि मुस्किल पऱ्यो । घरको बेल बजाएँ । साथी आयो ।
जताततै एसी । लाइट अनमै । कति सुन्दर झ् कति उज्यालो !
‘साथी दिउसै किन लाइट जलाएको ?’ मैले सोधेँ ।
‘ए झ् हजुरलाई थाहा छैन ? बिजुलीको पैसा लाग्दैन नि !’
कुरा गर्दै किचन पुगियो । त्यहाँ सिलिन्डर थिएन । खै त सिलिन्डर ? पाइपलाइन खोलेर साथीले चिया बनायो ।
‘हजुरलाई थाहा छैन ? सिलिन्डरको अन्त्य भएको ?’
फेरिएको समृद्धि र देखिएको खुसी म तीनछक परेँ ।
चिया पिएपछि साथीलाई काठमाडौँको टावर हेर्न लैजाने प्रस्ताव गरेँ ।
‘कुन्तो के टावर हो ? कति अग्लो’ साथीले गाडी निकाल्यो ।
कहिँ कतै खाल्डाखुल्डी छैन । चिल्ला रोड । सरर्र भ्युटावर पुगियो । तलैतला । हिँडेर जान धेरै समय लाग्ने ।
मैले लिफ्टमा जाने प्रस्ताव गरेँ । साथीले ‘अहिले हावा नचलेको हुँदा बिजुली कम पावरको छ । पैदल नै जाऊँ सिँढी चढेर’ भन्दै हामी अघि बढियो । धरहरा पो रहेछ । मैले भन्न नजानेर भ्युटावर भनेछु । साथी हाँस्यो ।
धरहरा बनाउँदा हजारौँले रोजगार पाएको । सिमेन्ट, गिटीबालुवा विक्री भएको, रड, फलाम बिक्री भएको, लोडअनलोड गर्दा धेरैले रोजगार पाएको, लरी चलेको, सिमेन्ट गिटी मिसाएर पानीले मोलेको आदि कथा सुनायो साथीले । म छक्क परेँ । देशमा त निकै विकास भएको रहेछ । रोजगारी त देशमै रहेछ । मेरो देश सम्झेर छातीमा हात राखेँ ।
धरहराको टुप्पोबाट झापाको बिजनेस कम्प्लेक्स देखिँदो रहेछ । अन्तिम तलाबाट हामी झापातिर हान्नियौँ ।
झापाको त्यो भ्युटावर पूरै खचाखच गाडी भरिएका, विदेशी पर्यटकले खचाखच फोटा खिचिरहेका । सबै फ्लोरमा व्यापार चलेको रहेछ । किन्ने पैसा थिएन । हेरेर धोको पुऱ्याएर हामी फेरि काठमाडौँ फर्कियौँ । बाटोमा गिरिजाले सिङ्गापुर बनाउँछु भनेको कुरा, गगनले कीर्तिपुरको डाँडोमा महिनामै तीन लाख कमाउन सकिन्छ, आफू प्रधानमन्त्री भए महिनाको प्रतिव्यक्ति तिस हजार दिन, आइफोन दिने—के के भनेको कुरा व्याख्या गरियो अनि ‘नेपालकै महाकाली नदीमा पानीजहाज नेपालको झन्डासहित हामीलाई कुरेर बसेको थियो अरे । बागमतीमा पानीजहाज छ साथी ?’ भनेर सोधेँ ।
‘अहिले भारतको हिन्द महासागरतर्फ गएको छ, भोलि आउँछ’ भने उनले ।
महाकाली सन्धि गरेर बेचिसकेको पानी हाम्रै हो अरे झ् समय भएन । पानीजहाजमा फेरि घुम्ने बाचा गरियो । काठमाडौँबाट साथीले केरुङ रेल, बेनी हुँदै कुस्माको टिकट काटिदिए अनि म घर फर्कें ।
कुस्मा रेलवे स्टेसन आउनुअघि रेल, पानीजहाज, सिलिन्डरको अन्त्य, ग्याँस पाइपलाइन, चन्द्रमामा बस्ती हाम्रा गिरिजाप्रसाद, ओली, गगनजस्ता देशका प्रधानमन्त्री भए भने समृद्ध नेपाल र सुखी नेपाली हुन धेरै वर्ष नलाग्ने रहेछ । स्टन्डबाजीले यसरी बनेको पहिलो देश नेपाल हुनुपर्छ । हो, स्टन्डबाजीले देश बन्छ । राम्ररी देखियो ।