• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जनताका बिचको अन्तरविरोध

"सन्दर्भ 'कमरेड जलजला’ उपन्यास–७ "

  •   आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    संसारमा विभिन्न प्रकारका शोषक वर्गद्वारा जनतामाथि हुने शोषण, उत्पीडन तथा उक्त कारणले शोषक वर्ग र शोषित जनताका बिचको अन्तरविरोध वा सङ्घर्षबारे लेखिएको धेरै साहित्य छन् तर स्वयम् जनताका बिचमा एकअर्काले गर्ने शोषण, उत्पीडन र उनीहरूका बिचको अर्न्तविरोधबारे कम लेख्ने गरिएको छ । प्रस्तुत उपन्यास ‘कामरेड जलजला’ मा त्यो पक्षबारे पनि विस्तृत रूपले विचार गर्ने प्रयत्न गरिएको छ । त्यो समाजको अत्यन्त महत्त्वपूर्ण पक्ष हो त्यो कारणले पनि जनता धेरै नै उत्पीडित वा दुखित हुनुपर्दछ । त्यसैले प्रस्तुत उपन्यासले त्यो पक्षमाथि पनि प्रकाश हाल्ने प्रयत्न गरेको छ । त्यसबारे उपन्यासमा ‘जनताका बिचको अन्तरविरोध’ शीर्षकले एउटा बेग्लै परिच्छेद नै लेखिएको छ (परिच्छेद ३६) ।

    जलजला लखनऊको कुर्माञ्चल टोलमा सुनन्दाको फुपूको घरमा बस्थिन् । उनी सुनन्दाकी साँच्चिकै पुपूभन्दा बढी थिइन् । सुनन्दा जलजला खोज्न नेपालतिर गएकी थिइन् । उनी र विद्या रोका गोरखपुर आइपुगेको समाचार प्राप्त भएको थियो तर धेरै दिन भइसक्दा पनि लखनऊ आइपुगेकी थिइनन् । जलजला उनलाई पर्खेर सरस्वतीको घरमा कैयौँ दिनदेखि बसेकी थिइन् । गोरखपुरबाट एक दिनमा नै लखनऊ आइपुग्नुपर्ने ठाउँमा सुनन्दा धेरै दिनसम्म नआइपुग्दा सरस्वती र जलजला धेरै नै आत्तिएका थिए । उनको अजितसँग भेट नभएको पनि लामो समय भइसकेको थियो । बनारसमा पार्टीको प्रशिक्षण कार्यक्रम राखिएको थियो । त्यसमा अजित पनि आउने कुरा थियो । त्यसैले त्यहाँ उनको उनीसित भेट हुने कुरा थियो तर गोरखपुरबाट सुनन्दा आउन ढिलो गरेको हुनाले उनी उनलाई नभेटीकन बनारसमा जान सक्दैनथिन् । सरस्वतीले पनि उनलाई सुनन्दा नआउँदासम्म उनलाई छाडेर नजान कर गरिरहेकी थिइन् । त्यसले गर्दा जलजला धेरै तनाव वा मानसिक अन्तर्द्वन्द्वमा थिइन् । त्यसैले उनका मनमा कैयौँ कुरा उठ्ने र त्यसबारे घण्टौँसम्म सोच्ने पनि गर्दथिन् ।

    उनले कुनै बेला कोठामा राखिएको कुचोबारे कैयौँ कुरा सोच्न थाल्थिन् । त्यसको घास कुन जङ्गलमा उम्रेको थियो होला ? उत्पादन र व्यापारको कुन कुन प्रक्रियाबाट हुँदै त्यो सरस्वतीको घरमा आएको थियो होला ? त्यो सरस्वतीको घरमा नआएको भए अरू कसैको घरमा पुगेको हुन्थ्यो होला ? नयाँ वैज्ञानिक उपकरणले त्यसलाई विस्थापित गर्दै लगिरहेका थिए तर उनलाई लाग्दथ्यो, जुन रूपमा भए पनि कुचोको आवश्यकता सधैँ रहिरहनेछ । समाजको विकास हुनुका साथै अन्य धेरै कुरा विस्थापित हुँदै जानेछन् तर जुनसुकै रूपमा भए पनि मानव जातिका लागि त्यसको आवश्यकता सधैँ रहिरहनेछ । उनले एकटक लगाएर कैयौँ बेरसम्म आफ्ना अगाडिको कुचोलाई हेरिरहन्थिन् र मनमनै सोच्दथिन्– सामान्यजस्तो देखिने त्यो कुचाको कति लामो इतिहास र महत्त्व थियो ?

    कुनै बेला उनले सोच्थिन्– महिलाले पुरुषका कपडा लगाउने चलन बढ्दै गइरहेको छ; जस्तै कि कोट, पाइन्ट, सर्ट आदि तर पुरुषले महिलाका चोला, सारी आदि लगाउने गरेको कतै पाइन्न । हिप्पीले त्यस्तो गर्ने गरेको पाइन्छ तर उनीहरूलाई समाजले खिसीट्युरी र अवहेलना गर्दछ । महिला र पुरुषका बिचको आन्दोलन विश्वव्यापी रूपमा चलिरहेको बेलामा उनीहरू दुवैका बिचका कपडाको विषयमा व्याप्त त्यस प्रकारको भेदभावमूलक दृष्टिकोणको मूलमा कुन प्रकारको मनोवैज्ञानिक दृष्टिकोणको काम गरेको थियो ?

    कुनै बेला उनले गधा र सिंहका बिचमा तुलना गर्थिन् र मनमनै सोच्थिन्– गधा समाजको लागि धेरै उपयोगी छ । त्यसले धेरै मिहिनत गर्दछ र मानिसको धेरै सेवा गर्दछ । अर्कातिर सिंह एउटा हिंसक जनावर हो । त्यो समाजका लागि कुनै पनि अर्थमा उपयोगी छैन । हिंसा तथा हत्या नै त्यसको चरित्रगत विशेषता हो तर यो सोचेर उनलाई आश्चर्य लाग्दथ्यो, मान्छेहरूले सिंहप्रति सम्मानित दृष्टिकोण राख्दछन् तर गधाप्रति अपमान, अवहेलना र घृणाको । उनले मनमनै सोच्थिन्– त्यस्तो किन हुन्छ ? जसले मानिसको धेरै सेवा गर्दछ । उसप्रति अपमान र घृणा तर जसले सधैँ मानिसको हत्या र हिंसा गर्ने गर्दछ, त्यसप्रति सम्मान ?

    कैयौँ मानिसहरूले आफ्नो नाममा ‘सिंह’ जोड्छन् तर कसैले पनि आफ्नो नामका साथमा गधा शब्द जोडेको हुन्नन् । कसैलाई ‘सिंहजस्तो’ भनेर भनियो भने त्यो प्रशंसा गरिएको हुन्छ तर ‘गधाजस्तो’ भन्यो भने !

    उनका मनमा कैयौँ पल्ट यो विचार घुमिरह्यो– आखिर त्यस्तो किन हुन्छ ? आखिर त्यस्तो किन हुन्छ ? आखिर त्यस्तो किन हुन्छ ?
    त्यो कुरा सोच्दासोच्दै उनको ध्यान एउटा कुरातिर गयो– गधाले धेरै मिहिनत गर्छ र मानिसको धेरै सेवा गर्छ तर त्यसले जति अपमान गरे पनि, गाली गरे पनि वा पिटे पनि चुपचाप सहन्छ । कुनै विरोध गर्दैन । कुनै प्रतिरोध गर्दैन । हुन सक्दछ, सायद त्यसैले त्यो धेरै अपमानित हुनुपरेको छ । विभिन्न देशका जनता, वर्ग वा जनसमूहबारे पनि त्यही कुरा सत्य थियो । जुन मिहिनेतकश जनता, मजदुर, किसान, महिला, जनजाति, दलित आदिले आफूमाथि हुने शोषण, उत्पीडन वा भेदभावको कुनै विरोध वा प्रतिरोध गर्दैनन्† जो सधैँ दब्बु रहन्छन्, उनीहरूले धेरै अपमान, घृणा वा गाली सहनुपर्दछ ।

    कुनै कुनै बेला उनको ध्यान पार्टी वा क्रान्तिसम्बन्धी गम्भीर वैचारिक प्रश्नप्रति जान्छ । कुनै बेला मानव जातिको सम्पूर्ण इतिहास र संस्कृतिप्रति उनको ध्यान जान्थ्यो र मनमनै सोच्न थाल्थिन् । उनका मनमा मानव जातिको इतिहासको पाटा घुम्न थाले ।

    मानिसमाथिको शोषण, उत्पीडन वा अत्याचारमाथि आधारित व्यवस्था वा तिनीहरूका विरुद्ध सङ्घर्षको लामो इतिहास छ । त्यसमा मानव जातिको ठुलो शक्तिको दुरुपयोग भएको छ । त्यसरी मानव जातिको ठुलो शक्तिको दुरुपयोग नभएको भए आज मानव समाज कहाँ पुगेको हुन्थ्यो होला ? त्यस अवस्थामा दासयुग, सामन्तवाद, पुँजीवाद र साम्राज्यवादजस्ता व्यवस्था आउने थिएनन् होला । विभिन्न जाति, देश वा वर्गका बिचमा युद्ध हुने थिएनन् होला ? आज समाजको जुन कुरूप, विकृत र नारकीय स्वरूप बनेको छ, त्योभन्दा र बेग्लै समाजको निर्माण हुन्थ्यो होला ? अनि कस्तो हुन्थ्यो होला त्यो समाज ?

    उनलाई यो सोचेर खुसी लागेको थियो कि समाजको जस्तो अवस्था भएको भए पनि त्यसका विरुद्ध लगातार सङ्घर्ष चल्दै आएको थियो । वर्गसङ्घर्षको लामो सिलसिला चल्दै आएको थियो । त्यसको परिणामस्वरूप समाजमा धेरै परिवर्तन र विकास भएको थियो क्रान्ति र प्रतिक्रान्तिको लामो प्रक्रियाका बिचबाट हुँदै समाज अगाडि बढ्दै आएको थियो ।

    उपन्यासमा यो लेखिएको छ– “यो सोचेर जलजला मनमनै काँपिन्, समाजमा शोषण, उत्पीडनको निर्बाध रूपले विकास हुँदै गएको भए त्यसका विरुद्ध वर्गसङ्घर्षको प्रादुर्भाव नभएको भए अहिलेसम्म समाजको अवस्था के हुन्थ्यो होला ? अहिले पनि दासयुग कायम रहिरहन्थ्यो । दासलाई साङलाले बाँधिने गरिन्थ्यो । उनीहरूमाथि जति पनि कुटपिट गर्न सकिन्थ्यो । कुनै एउटा व्यक्तिका पत्नी, छोराछोरीलाई भेडाबाख्राझैँ बेग्लाबेग्लै दिशातिर बेचेर पठाउन सकिन्थ्यो । राजामहाराजाका अत्याचार अहिले पनि कायम रहेका हुन्थे । महिलामाथिका मध्ययुगीन अत्याचार अहिले पनि कायम रहेका हुन्थे । उनीहरूलाई अहिले पनि पतिको मृत्युपछि जिउँदै चितामा जलाउने गरिएको हुन्थ्यो होला ।”

    अहिलेसम्म समाजमा जे जति परिवर्तन वा विकास भयो, पुराना अन्याय र अत्याचार, शोषण र उत्पीडन हट्दै गए । त्यसको कारण प्रतिगमनको विरोध वा वर्गसङ्घर्ष नै थियो तैपनि यो दुःखको नै कारण थियो कि रुस, चीनमा भएका जस्ता समाजवादी क्रान्ति पनि असफल भएका थिए र त्यहाँ पुनः पुँजीवादको पुनर्स्थापना भएको थियो । त्यो अवश्य पनि दुःखको कुरा थियो तर त्यो कारणले निराश हुनुपर्ने आवश्यकता थिएन । त्यस सन्दर्भमा जलजलाको मनमा बारम्बार यो विचार आउँथ्यो– “अहिले विश्व समाजवादी व्यस्थाको पतन भएको छ तर त्यो अस्थायी कुरा हो । त्यो पराजय पुनः समाजवादी क्रान्तिको विश्वव्यापी विजयको रूपमा अगाडि आउनेछ ।” त्यसरी विश्वव्यापी समाजवादी क्रान्तिको विश्वव्यापी असफलताका बाबजुद समाजवादी क्रान्तिको भविष्यमाथि उनको अगाध विश्वास थियो ।

    अहिलेसम्म विभिन्न देशमा वा इतिहासका विभिन्न कालखण्डमा शोषक वर्गद्वारा जनतामाथि भएका शोषण, उत्पीडन, तिनीहरूका विरुद्ध सङ्घर्ष वा वर्गसङ्घर्ष तथा क्रान्ति र प्रतिक्रान्ति भइरहेको थियो । उनको मनमा अकस्मात शोषित वर्गका बिचमा आपसमा हुने शोषण, उत्पीडन, भेदभाव वा पारस्परिक अन्तरविरोधप्रति गयो । त्यसबारे उपन्यासमा लेखिएको छ– “मार्क्सवादले पुँजीवादी वर्गद्वारा शोषित जनतामाथि हुने शोषणको विस्तृत रूपले व्याख्या गरेको थियो । समाजमा विद्यमान शोषण, अन्याय, अत्याचारका विरुद्ध कम्युनिस्टले संसारभरि नै लामो समयदेखि सङ्घर्ष गर्दै आएका थिए तर त्यसको एउटा अर्को पक्षतिर आज जलजलाको बढी ध्यान गइरहेको थियो । शोषित जनता खालि शोषक वर्गद्वारा मात्र पीडित हुँदैनन्, स्वयम् शोषित जनताका बिचमा पनि कैयौँ प्रकारका अन्तरविरोध हुन्छन् । उनीहरूले परस्परमा कैयौँ प्रकारका उत्पीडन गर्दछन् । त्यसबारे सोच्दासोच्दै उनलाई लाग्यो, स्वयम् शोषित वर्गको बिचमा परस्परमा उत्पीडन, अन्याय, अत्याचार पनि व्यापक रूपले हुने गर्दछन् ।”

    उनको ध्यान समाजका त्यस प्रकारका कैयौँ समस्यातिर गयो । सर्वप्रथम उनको ध्यान महिलाप्रति गयो । त्यो शताब्दीयौँदेखि नै पितृसत्तात्मक समाजको कालदेखि नै अधिकारबाट वञ्चित हुँदै उत्पीडन र भेदभावको सिकार हुँदै आएको जनसमूह हो तर महिलाका बिचमा पनि परस्परमा वैमनस्यता, ईर्ष्या, डाह वा अन्तरविरोध अत्यधिक मात्रामा पाइन्छन् । सासूबुहारी, नन्दभाउजू, जेठानीदेउरानी, सौतासौताका बिचमा कति धेरै अन्तरविरोध हुन्छन् ? त्यो आम रूपमा थाहा भएको नै कुरा हो । त्यसको समाज शास्त्रीय वा मनोवैज्ञानिक अध्ययन गर्ने हो भने त्यस प्रकारका थुप्रै उदाहरण अगाडि आउनेछन् ।

    महिलामा पुरुषप्रति जति विरोधको भावना हुन्छ, त्योभन्दा बढी सायद महिलाको बिचमा परस्परमा नै हुन्छ । महिलालाई दबाउन स्वयम् महिलाले पनि पुरुषलाई धेरै उचालिरहेका हुन्छन् वा मदत गरिरहेका हुन्छन् ।

    समाजका विभिन्न शोषित वर्गले शोषक वर्गका विरुद्ध वर्गसङ्घर्ष वा विभिन्न हिंसात्मक र क्रान्तिकारी आन्दोलन गरेका उदाहरण पाइन्छन तर महिलाले पुरुषका विरुद्ध कहिल्यै पनि त्यसरी सङ्घर्ष गरेको पाइन्न । समाजका शोषित वर्गमध्ये महिला नै पहिलो शोषित समूह हो । मार्क्सले लेखेझैँ स्त्री र पुरुषबिचको अन्तरविरोध समाजमा देखा परेको पहिलो अन्तरविरोध हो ।

    इतिहासका विभिन्न चरणमा कैयौँ शोषित वर्गहरू शोषक वर्गको दासत्वबाट मुक्त हुँदै गए र कतिपयको वर्गीय रूपमा अस्तित्व पनि समाप्त हुँदै गयो; जस्तै कि दासवर्ग तर महिला प्राचीनकालदेखि नै अविच्छिन्न रूपमा शोषित र पीडित हुँदै आएका छन् तर उनीहरूको आफ्नो हकअधिकारको सङ्घर्षले कहिल्यै पनि क्रान्तिकारी वा निर्णयात्मक रूप लिन सकेको छैन किनभने उनीहरू सामाजिक र शारीरिक रूपले मात्र होइन, मानवीय रूपले पनि पुरुषसित घनिष्ट रूपले जोडिएका हुन्छन्† जस्तै कि बाबु, पति वा छोराको सम्बन्ध । त्यही कारण हो कि अन्य शोषित वर्गको जस्तै उनीहरूको सङ्घर्षले कहिल्यै पनि क्रान्तिकारी रूप लिन सकेको हुँदैन । पुरुषसितको घनिष्ट सम्बन्धको असर उनीहरूमा कति धेरै पर्दछ भने जुन बेला हिन्दु समाजमा सतिप्रथा थियो, त्यो बेला पनि महिलाले पुरुषलाई साथ दिएका हुन्थे । उनीहरूले पिता, पति वा पुत्रको रूपमा पुरुषलाई माया गरिरहेका हुन्थे वा त्यस बेलाको दासताको व्यवस्थालाई उनीहरूले स्वीकार गरेका हुन्थे । केही समाजमा त्यस प्रकारको संस्कृतिको अवशेष अझै पनि थियो ? सायद थियो । सायद मात्र होइन, अवश्य पनि थियो ।

    महिलामाथि शोषण वा अत्याचार खालि उच्च वर्गका मानिसले मात्र गर्दैनथे, स्वयम् शोषित वर्गका मानिसले पनि महिलामाथि धेरै नै अत्याचार गर्दथे । उनले गोर्कीले लेखेको ‘आमा’ उपन्यासमा पावेलका पिताले—जो स्वयम् एक मजदुर थिए—ले आफ्नी पत्नीमाथि गरेका अत्याचारको उल्लेख गरेका छन् । संसारभरि र नेपालमा पनि त्यस प्रकारका असङ्ख्य उदाहरण अहिले पनि पाइन्थे ।

    किसान स्वयम् शोषित वर्ग हो तर उनीहरूका बिचमा पनि थुप्रै अन्तरविरोध पाइन्छन् । उनीहरूले एकअर्कालाई ठग्ने, आपसमा लडाइँझगडा गर्ने, मुद्दामामिला गर्ने वा एकअर्काको ज्यानसम्म मार्ने गरेका कैयौँ उदाहरण पाइन्छन् ।

    कुनै देशमा बन्ने प्रतिक्रियावादी पार्टीमा पनि ठुलो सङ्ख्यामा किसान नै हुन्छन् । विभिन्न देशका प्रतिक्रियावादी सेनामा पनि किसान नै धेरै सङ्ख्यामा पाइन्छन् र उनीहरूले स्वयम् शोषित जनतामाथि नै दमन वा अत्याचार गरिरहेका हुन्छन् ।

    समाजको सबैभन्दा शोषित वर्ग, सर्वहारा वर्गबाट आएका मजदुरका बिचबाट पनि कैयौँ पुँजीवादी वा प्रतिक्रियावादी नेताहरू जन्मेका उदाहरण पनि छन् । मजदुरको न्यायपूर्ण सङ्घर्ष या वर्गसङ्घर्षलाई कमजोर पार्नका लागि पुँजीपतिले मजदुर वर्गलाई नै ठुलो पैमानामा उपयोग गरेका हुन्छन् । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “त्यो कुरा सोच्दासोच्दै उनको ध्यान संसारभरमा कम्युनिस्टका बिचबाट दक्षिणपन्थी संशोधनवादको विकास भएका, संसारका कैयौँ देशका कम्युनिस्ट पार्टीले दक्षिणपन्थी वा कुनै देशको समाजवादी व्यवस्थाको विघटन गरेर पुँजीवादको पुनर्स्थापना गरेका उदाहरणतिर पनि गयो । त्यो कुरा सोच्दासोच्दै उनको ध्यान ख्रुस्चेभ र डा. केशरजङ्ग रायमाझीतिर पनि गयो । उनीहरू कम्युनस्ट नै थिए, तर… !

    समाजमा ठुलो सङ्ख्यामा असामाजिक तत्त्व वा अपराधसम्बन्धी काममा लागेका व्यक्ति पनि हुन्छन् तर उनीहरूको ठुलो सङ्ख्या गरिब किसानका बिचबाट नै आएको हुन्छ । मार्क्सले उनीहरूलाई आवारा सर्वहारा बताएका छन् । उनीहरू पुरानो समाजबाट बहिष्कृत भइसकेका हुन्छन् तर पुँजीवादी समाजमा उनीहरूलाई स्थान प्राप्त भइसकेको हुँदैन । त्यसैले उनीहरू विभिन्न प्रकारका अपराधसम्बन्धी काममा लागेका हुन्छन् । उनले कैयौँ अखबारमा पढेकी थिइन्, कैयौँ ठुल्ठुला डाँकु, सरदार र ठुल्ठुला गिरोहका डन वा कतिपय धेरै नै कहलिएका ठग वा अपराधी पनि सामान्य र निम्न वर्गबाट आएका मान्छे नै थिए । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “जलजलाको मनमा यो प्रश्न उठ्यो, उनीहरू सामाजिक अन्याय वा अत्याचारबाट पीडित भएर ती अत्याचारका विरुद्ध विद्रोह वा सङ्घर्षका लागि अन्य कुनै विकल्प नभएर त्यस प्रकारका अपराधजन्य कार्यमा लागेका थिए वा त्यस प्रकारको अपराधमा लाग्नुका पछाडि अन्य कुनै कारण थिए ? त्यो कारण मनोवैज्ञानिक थियो वा समाजशास्त्रीय । जे होस्, सामान्य गरिब परिवारका बिचबाट आएर पनि उनीहरूले पुनः गरिबमाथि नै कैयौँ अत्याचार गर्दछन् । त्यसलाई अवश्य पनि स्वाभाविक वा न्यायसङ्गत भन्न सकिँदैनथ्यो तर प्रश्न यो हो– त्यस प्रकारका अपराधजन्य कार्यको पछाडि कुन कारण थियो ?”

    उनको ध्यान ड्रग्सको अवैध कारोबारतिर पनि गयो । त्यस प्रकारको कारोबारको विश्वव्यापी सञ्जाल थियो । उनीहरूको स्कुलकलेज वा साना बालबालिका बिचमा पनि ठुलो पैमानामा र सङ्गठित प्रकारले प्रचारप्रसार हुने गर्दछ । त्यसबाट करोडौँ मानिसको जीवनमा कुठाराघात पुगेको हुन्छ । त्यस प्रकारको सञ्जालमा ठुलो सङ्ख्यामा लाग्ने युवायुवती सामान्य वा गरिव परिवारबाट नै आएका हुन्छन् । संसारका अरबपति डनले त्यो व्यवसाय सञ्चालन गर्दछन् तर केही पैसाको लोभमा सामान्य वा गरिब घरका युवायुवतीले पनि ठुलो सङ्ख्यामा काम गर्दछन् ।

    जलजलाको ध्यान महिलाको चोरीव्यापारतिर पनि गयो । ठुलो सङ्ख्यामा महिलाको तस्करी गरिन्छ । उनीहरूलाई विभिन्न प्रकारका प्रलोभन दिएर, फकाएर राम्रो नोकरी वा राम्रो ठाउँमा विवाहको प्रलोभन दिएर उनीहरूलाई भगाउने गरिन्छ र वेश्यालयमा पनि बेच्ने वा कतिपय अवैध कारोबारमा लगाउने पनि गरिन्छ । त्यस प्रकारको धन्दामा प्रायशः गरिब वर्गका मानिस नै हुन्छन् र कतिपय अवस्थामा महिलाले नै उनीहरूलाई भगाएर वेश्यालयमा बेच्ने काम पनि गरिरहेका हुन्छन् । त्यस प्रकारका महिलाको चोरीनिकासी वा तस्करी एउटा विश्वव्यापी धन्दा नै बनेको थियो ।

    केटाकेटीको चोरी पनि एउटा विश्वव्यापी धन्दा बनेको थियो । उनले कतिपय अखबारमा पढेकी थिइन्, कतिपय केटाकेटीलाई चोरेर लगेर उनीहरूलाई होटेलमा बेचिन्छ र मान्छेको मासु खाने रुचि भएको व्यक्तिलाई उनीहरूको मासु सप्लाइ गर्ने गरिन्छ । त्यस प्रकारको चोरी गर्ने काममा पनि धेरैजसो गरिब वर्गका मान्छे नै हुन्थे ।

    ‘मागीखाने’ समाजका सबैभन्दा उत्पीडित मानिस हुन्थे । उनीहरूको घर हुँदैनथ्यो । परिवार हुँदैनथ्यो । सडकमा बसेर मागेर खाएर नै उनीहरूले जीवन निर्वाह गर्नुपर्दथ्यो वा खान नपाएमा भोकै मर्नुपर्दथ्यो तर उनले यो पनि पढेकी थिइन् कि मागीखानेका कैयौँ दादा हुन्थे । उनीहरूले कैयौँ केटाकेटीलाई चोरेर लगेर हातखुट्टा भाचिदिने वा आँखा फोरेर दृष्टिविहीन गराइदिने गर्दथे र उनीहरूलाई माग्नका लागि सडकमा बसालिदिन्थे । ती दादाले मागीखानेका बिचबाट पैसा असुल गर्दथे र त्यसबाट मोज मज्जाको जीवन बिताउँथे । ती समाचार पढेर उनी अत्यन्तै दुखित र एक प्रकारले विक्षिप्तजस्तै हुन्थिन् ।

    उनले कैयौँ यस्ता औषधी व्यापारीलाई पनि चिनेकी थिइन, जसले अस्पतालमा फालिएका औषधीका सिसी ल्याएर त्यसमा ॅडेट एक्सपाएर’ भएका औषधी भर्दथे र तिनीहरूलाई बेच्दथे । त्यही प्रकारले खाद्य पदार्थमा पनि मिसावटको कार्य ठुलो पैमानामा गर्ने गरिन्यो । त्यसमा सामान्य मान्छे पनि ठुलो सङ्ख्यामा लागेका हुन्थे ।

    पकेटमारको धन्दा पनि एउटा विश्वव्यापी धन्दा थियो । त्यसमा आम रूपमा सामान्य गरिब वर्गका मान्छे नै लागेका हुन्थे । कपितय बाटो हिडने, औषधोपचार गर्न अस्पतालमा जाने, बुढाबुढी समेतको पाकेटमारी गर्दा धेरै मानिस पीडित हुनुपर्दथ्यो । त्यस प्रकारको पकेटमारीको धन्दामा पनि धेरैजसो सामान्य वर्गका मानिस नै लागेका हुन्थे । कतिपय महिला पनि त्यो धन्दामा लागेका हुन्थे ।

    उनले कैयौँ अखबारमा पतिले पत्नीलाई, पत्नीले पतिलाई, छोराले बाबुलाई, बाबुले छोरालाई, छोराले आमालाई हत्या गरेका समाचार सुन्ने गर्दथिन । त्यो कति धेरै अमानवीय कुरा हुन्थ्यो ? तैपनि समाजमा त्यस प्रकारका कार्य ठुलो पैमानामा हुने गर्दथे र त्यसमा सामान्य वर्गका मानिस पनि ठुलो सङ्ख्यामा लागेका हुन्थे ।

    उपन्यासमा लेखिएको थियो– “एङ्गेल्सले लेखेको उनले पढेकी थिइन्, ‘पतिपत्नीका बिचको प्रेम टुटेपछि सम्बन्धविच्छेद नै सबैभन्दा सही समाधान हो” तर समाजमा प्रायशः त्यसका लागि पनि बाटो बन्द गर्ने गरिन्छ । त्यसले गर्दा पनि परिवारमा धेरै तनाव वा अन्तरकलह उत्पन्न हुने गर्दछ ।

    उनले गोपाल प्रसादको ‘मसान’ पढेकी थिइन् । त्यसमा पारिवारिक झगडाले गर्दा परिवार मसानजस्तै बनेको देखाइएको थियो । वास्तवमा आज कुनै एउटा परिवार मात्र होइन, समाजमा स्वयम् निम्न वर्गका बिचमा चल्ने अन्तरविरोध वा अवाञ्छित घटनाका कारणले सम्पूर्ण समाज नै नरकजस्तो बनेको थियो । शोषित वर्गले एकातिर, शोषक वर्गका विरुद्ध लामो वर्गसङ्घर्ष चलाउँदै आउनुपरेको छ भने अर्कातिर, स्वयम् शोषित वर्गका बिचमा बढ्ने अन्तरविरोधको कारणले पनि उनीहरू स्वयम् धेरै नै उत्पीडित हुनुपरेको छ । त्यसका साथै त्यो कारणले शोषक वर्गका विरुद्ध उनीहरूको सङ्घर्ष पनि कमजोर हुन जान्छ । संसारका विभिन्न देशका क्रान्तिकारी आन्दोलन शिथिल वा असफल हुनुका पछाडि कहिँ त्यो कारणले पनि धेरै नै असर त पुऱ्याएको छैन ? उनको मनमा कैयौँ बेरसम्म त्यो कुरा घुमिरह्यो । आखिर त्यसको समाधान के हो ?

    त्यो कुरा सोच्दासोच्दै उनको ध्यान माओले लेखेको यो कुराप्रति गयो– “जनताका बिचमा पनि कैयौँ प्रकारका अन्तरविरोध हुन्छन् । त्यस प्रकारका अन्तर्विरोधलाई मैत्रीपूर्ण प्रकारले नै समाधान गर्नुपर्दछ ।” त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “त्यसरी समाधान नगर्दा तिनीहरू बढ्दै जान्छन् र तिनीहरूले शत्रुतापूर्ण रूपग्रहण गर्दछन् । सायद त्यसैको परिणाम हो, परस्परका अन्तरविरोधलाई मैत्रीपूर्ण प्रकारले समाधान नगर्नाको नै परिणाम हो, परिवार वा समाजका कैयौँ अन्तर्विरोधले शत्रुतापूर्ण रूपग्रहण गर्दछन् ।”

    जलजलाको ध्यान जर्मनीको हिटलरको सेनाप्रति गयो । युद्धमा हिटलरको हार भएपछि नाजी सेनाका अफिसर वा सैनिकमाथि कडा कारबाही गरिएको थियो । युद्धका बेलामा पनि उनीहरू ठुलो सङ्ख्यामा मारिएका थिए । त्यसरी दण्डित हुँदा वा मारिँदा उनीहरूका परिवार वा इष्टमित्रलाई कति धेरै कष्ट पुगेको थियो होला ? यो अनुमान गर्न गाह्रो पर्दैन कि ती सैनिकमध्ये धेरैजसो निम्न वर्गबाट आएका मानिस नै थिए तर उनीहरू प्रतिक्रियावादी सेनामा सामेल भएका थिए र उनीहरूले ठुलो सङ्ख्यामा जनसाधारणमाथि अत्याचार गरेका थिए । त्यो कुरा हिटलरको सेनाबारे मात्र सत्य होइन, संसारका सबै प्रतिक्रियावादी सेनाबारे सत्य थियो तर त्यस प्रकारका युद्धले गर्दाखेरि स्वयम् प्रतिक्रियावादी सेनामा सामेल भएका सैनिक पनि ठुलो सङ्ख्यामा मारिनुपर्दथ्यो, घायल हुनुपर्दथ्यो वा उनीहरूका परिवार वा इष्टमित्रलाई धेरै दुःख पुग्दथ्यो । त्यो सबै यसकारणले हुन्थ्यो कि उनीहरू प्रतिक्रियावादी सेनामा सामेल भएर देशभित्र वा देशबाहिर जनतामाथि अत्याचार गर्न पुगेका हुन्थे ।

    आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.