टेकराज भुसाल, सन्धिखर्क ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकाबाङमा रहेको देविकास्थान झाक्रीशाला टोल विकास संस्थाको आयोजनामा नववर्ष विशेष सांस्कृतिक तथा विविध खेलकुद कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमको २०८२ वैशाख १ गते सोमबार नववर्षको अवसर पारी भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले शुभारम्भ गर्नुभएको हो ।
शुभारम्भ गर्दै नगरप्रमुख थापाले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै संस्थाले आयोजना गरेको कार्यक्रमले स्थानीय कला, संस्कृतिको जगेर्ना, खेल क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

नगरपालिकाले उत्पादन र स्वरोजगारका विशेष कार्यक्रम अगाडि बढाएको भन्दै सबै जना नगरले सञ्चालन गरेको प्याजखेती, पोस्करका झोला टोपी बुन्ने, अकबरे खुर्सानी खेतीजस्ता स्वरोजगारमूलक कार्यक्रममा जोडिन आग्रहसमेत गर्नुभयो ।
कार्यक्रममा भूमिकास्थान–२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष प्रेमनारायण आचार्यलगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

विगतका वर्षदेखि निरन्तर गर्दै आएको उक्त कार्यक्रम यस वर्ष पनि वैशाख १, २ र ३ गतेसम्म सांस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता, कुर्सीदौड प्रतियोगितालगायतका कार्यक्रम हुने संस्थाका अध्यक्ष जितेन्द्र खत्रीले बताउनु भयो ।
कार्यक्रममा लोकदोहोरी गायक विष्णु खत्रीलगायतका स्थानिय कलाकारको प्रस्तुति राखेका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य तीर्था बेल्बासे, केशरा परियार, सङ्घीय मामिला मन्त्रालयका अधिकृत केशव थापालगायतका स्थानिय जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दल, पत्रकार, स्थानीय विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवीको आतिथ्य रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष जितेन्द्र खत्रीको अध्यक्षता, सचिव गणेश सुनारको सञ्चालन तथा वडासदस्य नारायण खनालको स्वागत मन्तव्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
