काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले देशको पहिचान मेटाउन सङ्घीयता ल्याइएको दाबी गर्नुभएको छ ।
सङ्घीयता खारेजीका लागि राजधानीकेन्द्रित आन्दोलनको चौथो दिन २०८१ चैत २७ गते बुधबार भृकुटीमण्डपमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
‘हामी नेपाली, हाम्रो देश नेपाल—यो हो हाम्रो देशको पहिचान’ प्रमुख वक्तासमेत रहनुभएका नेतृ पौडलले भन्नुभयो– ‘म नेपाली, मेरो देशको पहिचान नेपाल हो भन्ने पहिचान मेट्नका लागि सङ्घीयता ल्याइएको हो ।’

नेपालको सन्दर्भमा कुनै पनि स्वरूपको सङ्घीयता अनावश्यक रहेको उहाँको तर्क थियो ।
आफूहरूको आन्दोलन राष्ट्र जोगाउने आन्दोलन भएको दाबी गर्दै उहाँले भन्नुभयो– ‘राष्ट्र जोगाउने यो आन्दोलनमा सबैले हातेमालो गरौँ ।’
उहाँले सङ्घीयता विरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
‘सङ्घीयता विरुद्धको आन्दोलनलाई अझै सशक्त बनाएर लैजानुपर्दछ’ उहाँले भन्नुभयो– ‘किनकि प्रतिगामीहरूले सङ्घीयता विरोधी आन्दोलनलाई गलत दिशा दिने प्रयास गर्दैछन् ।’

उहाँको इसारा सङ्घीयता विरोधी आन्दोलनलाई राजतन्त्रको पुनर्स्थापनासँग जोडेकोतर्फ थियो ।
गणतन्त्रको रक्षा आफूहरूको अहिलेको आन्दोलनको मुख्य विषय भएको बताउँदै उहाँले राजमोले गणतन्त्र र राष्ट्रियताको रक्षालाई महत्त्व दिएको बताउनुभयो ।
‘गणतन्त्र रगतसित साटेर ल्याएको व्यवस्था हो । यसलाई खोस्ने दुस्प्रयास नगरियोस्’ उहाँको भनाइ थियो ।
उहाँले गणतान्त्रिक व्यवस्थाभित्रको नेतृत्वको गलत नीतिका कारण समग्र गणतान्त्रिक व्यवस्थामाथि आँच पुगेको धारणा व्यक्त गर्नुभयो ।
‘गणतन्त्र आफैमा नराम्रो होइन, सही विचारको समर्थन गर्न तथा गलत विचारको विरोध गर्न पाइएको छ’ उहाँले भन्नुभयो– ‘गणतन्त्रमा मार्गनिर्देशन गर्न सक्ने सही नेता भएनन् । त्यसैले व्यवस्थाको विरुद्धमा असन्तोष फैलिएको हो ।’
गणतन्त्रकै कारण विरोध र खबरदारी गर्न पाइएको अवस्था रहेको ठोकुवा गर्दै उहाँले यसलाई गणतन्त्रको सकारात्मक र प्रगतिशील पक्ष भएका बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘अहिले गणतन्त्रमा प्राप्त अधिकार समाप्त पार्ने होइन, यसलाई संरक्षण गर्दै अरू थप अधिकार लिनका लागि हामी लामबद्ध हुनु आवश्यक छ ।’
गणतन्त्र र राष्ट्रियता सबैभन्दा बढी महत्त्वको विषय भएको बताउँदै उहाँले त्यससँगै सङ्घीयता पनि खारेज गर्नुपर्ने आवश्यकतामा उहाँको जोड थियो ।
‘गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयता खारेजीका लागि हामी जस्तोसुकै मूल्य पनि चुकाउन तयार छौँ’ नेतृ पौडेलको भनाइ थियो ।
प्रतिगामी प्रयत्न स्वाभाविक : रेग्मी
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले प्रत्येक राजनीतिक परिवर्तनपछि प्रतिगामी प्रयास यथावत् रहेको बताउनुभयो ।
‘विश्वको इतिहास हेर्ने हो भने हरेक आन्दोलननको विजयका बाबजुद प्रतिगामीले पुरानो सत्तास्थापनाका लागि हरसम्भव प्रयत्न गर्दछन्’ उहाँले भन्नुभयो ।

२००७ साल, २०३६ साल, २०४६ साल र २०६२–६३ सालका आन्दोलनमा सङ्घीयताको विषय नउठेको बताउँदै उहाँले अहिले प्रतिगामीले सङ्घीयतासँगै गणतन्त्रमाथि नै आक्रमण गरिएको बताउनुभयो ।
उहाँले गणतन्त्र र राष्ट्रियता रक्षाको आन्दोलनलाई निरन्तर अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
सङ्घीयता विरोधी आन्दोलनको महत्त्व बढेको छ : पुन
अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले सङ्घीयता विरोधी आन्दोलनको महत्त्व बढेर गएको बताउनुभयो ।
‘राष्ट्रिय जनमोर्चाले २०६३ सालदेखि नै सङ्घीयताको विरोध गर्दै आइरहेको छ’ उहाँले भन्नुभयो– ‘अहिले राजनीतिक दलप्रतिको वितृष्णालाई गणतन्त्रप्रतिको वितृष्णाको रूपमा लिइरहेका छन् । यस सन्दर्भमा सङ्घीयता विरोधी आन्दोलनको महत्त्व बढेर गएको छ ।’

गत कालमा सङ्घीयताका कारणले संविधानसभाको चार वर्ष खेर गएको स्मरण गर्दै उहाँले अगाडि भन्नुभयो– ‘अहिले सङ्घीयताकै कारण गणतन्त्रमा नेपाली जनताले के पाए ? त्यसबारे समीक्षा गर्न जरुरी छ ।
मन्तव्यको क्रममा उहाँले सङ्घीयताको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनको आधारमा एकात्मक शासन नै उचित रहेको धारणा व्यक्त गर्नुभयो ।
सङ्घीयता सीमित व्यक्तिको स्वार्थपूर्ति गर्न : खनाल
कार्यक्रममा मन्तव्य राख्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले सङ्घीयता जनताको अधिकार स्थापना गर्न नभएर सीमित व्यक्तिको स्वार्थपूर्ति गर्नका लागि ल्याएको दाबी गर्नुभयो ।
‘तपाईं हामीले देखिरहेका छौ, गत विभिन्न जनआन्दोलनको एजेन्डा नभएर पनि कसरी सङ्घीयता देशमा स्वीकार गरियो ?’ उहाँले भन्नुभयो– ‘किनकि सङ्घीयता नेपाली जनतालाई अधिकारसम्पन्न गर्नका लागि नभएर सीमित व्यक्तिको स्वार्थपूर्तिका गर्नका लागि ल्याइएको हो ।’

उहाँले सङ्घीयता नेपाली जनता र देशलाई आर्थिक रूपमा बोझिलो बनाइरहेको स्मरण गर्नुभयो ।
‘पार्टीको दायराभन्दा माथि उठेर देश र जनताको पक्षबाट सोच्दै सङ्घीयता खारेज गर्नेबारे सबैले विचार गर्नुपर्दछ’ उहाँको भनाइ थियो ।
सङ्घीयता राष्ट्रिय अखण्डता विरुद्ध : आलम
तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलमले सङ्घीयता कार्यान्वयनमा गइरहँदा राष्ट्रिय अखण्डता कमजोर भइरहेको बताउनुभयो ।
‘सङ्घीयताको कार्यान्वयन हुँदै गर्दा देशको राष्ट्रिय अखण्डता कमजोर भएको छ’ उहाँले भन्नुभयो– ‘त्यसैले हामीले सङ्घीयता विरुद्धको आन्दोलन अगाडि बढाएका हौँ ।’

मन्तव्यको क्रममा उहाँले सङ्घीयता विरुद्धको आन्दोलन विशुद्ध राजमोको नभएर सम्पूर्ण देशभक्त जनताको आन्दोलन भएको धारणासमेत व्यक्त गर्नुभयो ।
वर्तमान व्यवस्थाले जनताका आधारभूत समस्या समाधान गर्न नसक्ने स्वीकार गर्दै उहाँले यही कारणले गणतन्त्र सङ्कटमा पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो–’तर त्यसको विकल्प राजतन्त्र होइन, योभन्दा उन्नत गणतन्त्र हो ।’
सङ्घीयता कोमामा गइसक्यो : अधिवक्ता रोका
कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाले सङ्घीयतालाई कोमामा पुगेको बिरामीसित तुलना गर्नुभयो ।
‘सङ्घीयता कोमामा गइसकेको छ’ उहाँले भन्नुभयो– ‘अहिले सङ्घीयतालाई बचाउनु भनेको कोमामा पुगेको बिरामीलाई साधारण अवस्थामा फर्काउनुजस्तै हो ।’

नेपालमा देशभक्तिपूर्ण जनमतलाई छिन्नभिन्न पार्नकै लागि भारत र पश्चिमा देशले सङ्घीयता लादेको तर्क राख्दै उहाँले सङ्घीयताले नेपाली जनताको हितमा काम गर्न नसकेको बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो– ‘यदि सङ्घीयता यथावत् रहन्छ भने नयाँ पिँढीमा राष्ट्रभक्ति वा देशभक्ति पूर्ण भावना हस्तान्तरण हुने छैन ।’
छिटोभन्दा छिटो सङ्घीयता खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले त्यो आन्दोलनको नेतृत्व राजमोले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो उपाध्यक्ष जनकराज शर्मा, महासचिव मनोज भट्ट, केन्द्रीय सल्लाहकार आनन्द शर्मा, अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतम र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव खुम रायमाझीको आतिथ्य रहेको थियो ।
राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको अध्यक्षता तथा राजमो नेता बासु पोखरेलको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानले ‘किन चाहियो सङ्घीयता’, ‘फूल फुल्नेछ’ र ‘ फूल फुल्छ कोपिला बनेर’ शीर्षकमा गीतसङ्गीत नृत्य प्रस्तुत गरेको थियो भने प्रगतिवादी साहित्यकार रामप्रसाद गैरेले गजल वाचन गर्नुभएको थियो ।
सभाअघि बसुन्धरा र साप्रेढुङ्गाबाट धुम्बाराही आएका हजारौँ प्रदर्शनकारीले जुलुस प्रदर्शन गरेका थिए । जुलुस धुम्बाराही चोकबाट विशालनगर, भाटभटेनी, नक्साल, चारखाल, डिल्लीबजार, पुतलीसडक, प्रदर्शनमार्ग हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।