काठमाडौँ । संयुक्त किसान सङ्घर्ष समितिले राजावादीद्वारा घटाइएको चैत १५ गतेको घटनाको विरोध गरेको छ ।
२०८१ चैत २१ गते बिहीबार प्रेसविज्ञप्ति जारी गर्दै उनीहरूले दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।
विज्ञप्तिमार्फत उनीहरूले घटनाको निस्पक्ष छानबिन गर्न, सुरेज रजक तथा सबिन महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सो घटनाको छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न, घाइतेको निःशुल्क उपचार गर्न र यस खालका घटना दोहोरिन नदिन माग गरेका छन् ।
प्रेसविज्ञप्तिमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ् (अन्फा) का संयोजक बलदेव चौधरी, क्रान्तिकारी किसान महासङ्घ नेपालमा अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका इन्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीको हस्ताक्षर रहेको छ ।
यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
“विभिन्न स्वार्थ बोकेका पूर्वपञ्च र कथित राजावादीले यही २०८१ चैत १५ गते काठमाडौँको तीनकुने, जडिबुटी, कोटेश्वरसहित विभिन्न स्थानमा दुई जना निर्दोष नागरिकको ज्यान जाने गरी घटाएका विध्वंसात्मक गतिविधि, रक्तपातपूर्ण घटना र तिनबाट उत्पन्न परिस्थितिबारे नेपालका छओटा कम्युनिस्ट पार्टीनिकट किसान सङ्गठन आबद्ध संयुक्त किसान सङ्घर्ष समिति नेपालको गम्भीर ध्यान आकर्षण भएको छ ।
नेपाली किसानसहित आम जनसमुदायको अपूर्व त्याग, तपस्या, सङ्घर्ष र बलिदानबाट प्राप्त भएका सीमित लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता पनि पटक पटक प्रतिगमनको सिकार हुने गरेको, जनता र राष्ट्र कमजोर हुँदा राष्ट्रिय स्वाधीनता, जनजीविका र जनतन्त्र नै खतरामा पर्ने गरेको कटु इतिहास हामीले बेहोर्दै आएका छौँ । जनतालाई अधिकारसम्पन्न हुन नदिने, सङ्घर्षबाट प्राप्त गरेका नैसर्गिक हकअधिकार पटक पटक खोसिने गरेको यथार्थ बुझ्न २०१७ पुस १ गते, २०५८ असोज १८ गते र २०६१ माघ १९ गतेका निकृष्ट उदाहरण पर्याप्त छन् । यसैको निरन्तरताको रूपमा २०८१ चैत ६ गते आएको पूर्वराजा श्री (१) ज्ञानेन्द्र शाहको वक्तव्य, चैत ९ गतेको प्रहसन, चैत १५ गते मञ्चन गरिएका रक्तपातपूर्ण घटना र विदेशी हस्तक्षेप निम्ताउने गरी भएका भारत र भुटान भ्रमणबाट सबैलाई प्रष्ट भइसकेको छ । अनावश्यक रूपमा प्रहरीले बल प्रयोग गर्दा कीर्तिपुरवासी युवा सबिन महर्जनको निधन भएको छ ।
नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशमा ‘सर्वधर्म समभाव’ को अन्तर्य बोकेको धर्मनिरपेक्षतालाई विकृत ज्याख्या गर्दै हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने नाममा परस्पर मिलेर बसेका नेपाली र त्यसमा पनि खास गरी किसानको बिचमा फाटो पार्ने, उक्साउने, आपसमा लडाउने र देशमा धार्मिक द्वन्द्व फैलाउँदै त्यसको बलमा प्रतिगमन गर्ने, जनताका अधिकार खोस्ने र देशलाई पछि धकेल्ने कुचेष्टासहित स्वदेशी–विदेशी प्रतिगामी तथा प्रतिक्रियावादी तत्त्वले षड्यन्त्र गरिरहेका छन् । यस्ता चरमपन्थी, जनघाती र देशद्रोही गतिविधि विरुद्ध समयमै सचेत, सङ्गठित र सङ्घर्षशील रहनुपर्ने आवश्यकता आज झन् बढेको छ ।
देशको जनसङ्ख्याको दुईतिहाइ हिस्सा ओगट्ने, राष्ट्रिय अर्थतन्त्रमा एकतिहाइ योगदान गर्ने देशको मुख्य उत्पादक शक्ति एवम् नेपालको लोकतान्त्रिक आन्दोलनको वास्तविक मेरुदण्ड तथा जीवनदायिनी शक्तिको रूपमा रहेका किसानहरू सामन्ती तथा टुक्रे उत्पादन पद्धतिबाट पूर्ण रूपमा मुक्त हुन सकेका छैनन् । क्रान्तिकारी भूमिसुधारसहित समग्र कृषिक्षेत्रको रूपान्तरण तथा उत्पादक शक्तिको विकास हुन नसक्दा बाह्य वित्तीय पुँजीको समेत सिकार हुन पुगेकोले देशको अर्थतन्त्र किसानको जीवन र जीविका अत्यन्तै कठिन, कमजोर र परनिर्भर बन्न पुगेको छ । नेपाली किसान–मजदुर र आम जनताको हितमा जनवादी क्रान्ति र समाजवादी क्रान्तिका कार्यभारलाई पूरा गर्दै न्याय, स्वतन्त्रता, समानतायुक्त समृद्ध नेपाल निर्माण गर्ने हाम्रो कार्यभार बाँकी नै छ । तसर्थ वर्तमान व्यवस्थाको विकल्प प्रतिगमन होइन, अग्रगमन मात्रै हुन सक्दछ भन्ने कुरामा हामी सबै सचेत हुन जरुरी छ ।
यसै परिप्रेक्ष्यमा २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुने, कोटेश्वर र जडीबुटीलगायतका क्षेत्रमा भएका ढुङ्गामुढा, नागरिकका घरपसल, सुपर मार्केट, कार्यस्थल, सार्वजनिक सम्पत्ति, पार्टी कार्यालय, राष्ट्रिय औद्योगिक प्रतिष्ठान र यातायातका साधनमा आगजनी, तोडफोड, लुटपाटसहित राष्ट्रिय झन्डाको दुरुपयोग गर्ने, कथित धर्मगुरु गेरुवस्त्र धारण गरेर हिन्दु धर्मावलम्बीकै बेइज्जत हुने गरी प्रहरी र नागरिकमाथि ढुङ्गामुढा गर्ने र टलिभिजनकर्मी सुरेश रजकलाई आगो लगाएर जिउँदै जलाउनेलगायतका कथित राजावादी, प्रतिगामी, धार्मिक अतिवादी तथा दक्षिणपन्थी शक्तिका उदण्ड, विध्वंसात्मक तथा आततायी घटनाको तीव्र निन्दा तथा भर्त्सना गर्दछौँ । सो घटनामा जीवन गुमाउने सबिन महर्जन र श्रमजीवी पत्रकार सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै हामी चैत १५ गतेका सम्पूर्ण घटनाको गम्भीर छानबिन गर्न, घटनामा संलग्न र तिनका मतियारलाई कडा कारबाही गर्न, सम्पूर्ण घाइतेको निःशुल्क उपचार गर्न तथा आगामी दिनमा यस्ता घटना घट्न नदिन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ साथै जनआक्रोश बढाउने, बाह्य तथा आन्तरिक जनविरोधी तथा प्रतिगामी शक्तिले खेल्ने र जनाधिकारमाथि प्रहार गर्ने आधार तयार गर्ने गरी देशमा व्याप्त भ्रष्टाचार, कमिसनखोरी, तस्करी, कालोबजारी, नातावाद, कृपापाद र जनविरोधी हर्कत अविलम्ब रोक्न र संयुक्त किसान सङ्घर्ष समिति नेपालले नेपाल सरकारसमक्ष बुझाएका ६५ बुँदे माग अविलम्ब पूरा गर्न माग गर्दछौँ अन्यथा सशक्त सङ्घर्षबाहेक अर्को कुनै विकल्प नरहने कुरा यसै विज्ञप्तिमार्फत सार्वजनिक गर्दछौँ ।”