केशव गाहा ‘पाल्पाली’ ##
देशलाई खण्डखण्ड पार्नेहरू
के तिमीहरूले कहिल्यै सोच्यौँ—
सिंहदरबार टुर्क्याएर न्याय आउँछ ?
सिमाना चिर्दै स्वतन्त्रता बढ्छ ?
सङ्घीयताको नाममा तिमीहरूले
एउटा नक्सालाई टुर्क्यायौ,
एउटा राष्ट्रलाई विभाजन गऱ्यौ,
र हाम्रा सपनालाई खण्डहर बनायौ
सगरमाथाको चुचुरो अझै अटल छ,
तर तिमीहरूको सोच— टुक्रिएको हिमाल जस्तै
गण्डकी, कोशी, कर्णाली अझै बगिरहेका छन्,
तर तिमीहरूको मन— सुख्खा बालुवाजस्तै
सङ्घीयता
तिमी समानताको खोल ओढेर आयौ,
तर बिउ रोप्यौ— असमानताको,
तिमी अधिकारको गीत गाएर आयौ,
तर फुलायौ— स्वार्थको काँडा
देश भनेको केवल भूमि होइन,
यो सपनाको एउटा महल हो,
जहाँ भाषा, संस्कृति, जात, धर्म
सबै मिलेर बस्छन्— एउटै आँगनमा
तर तिमीहरूले त्यो आँगन भत्कायौ,
घरका मान्छेबिच पर्खाल ठड्यायौ
सङ्घीयताको नाममा सिमाना कोर्नेहरू,
याद गर
देश भनेको रक्तबीज होइन,
यसलाई काट्दैमा टुक्रिन्न
यो त एउटा आत्मा हो—
जो भत्किए पनि बाँच्छ,
जलाए पनि उठ्छ,
र अन्ततः आफैलाई सम्हाल्छ
सङ्घीयताको अभिशाप नसच्याएसम्म,
यो धर्ती रोइरहनेछ,
यो आकाश कराइरहनेछ,
र एक दिन इतिहास आफैँले फैसला गर्नेछ—
“जसले देश टुर्क्यायो,
उनीहरू आफैँ खरानी भए”