काठमाडौं । सुडानमा सैन्य मिसनमा जाँदै गरेको सेनाको विमान दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
राजधानी खार्तुमबाट करिब २२ किलोमिटर उत्तरतर्फ एन्टोनोभ विमान बस्तीमा खसी दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य, सैन्य अधिकारी र सर्वसाधारण गरी १० जनाको मृत्यु भएको हो ।
दुर्घटना बाक्लो बस्तीमा भएको थियो । त्यसैले कम्तिमा पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको छ । विमानको भग्नावशेष आवासीय घरहरूमा खसेको छ, जसले केही घरहरूमा ठूलो क्षति पुर्याएको छ ।
दुर्घटनापछि अस्पतालमा गम्भीर रूपमा जलेका घाइतेहरू र दश शवहरू ल्याइएको जनाएको छ ।
विमान दुर्घटनाको कारण खुलेको छैन । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले दुर्घटनाको कारण प्राविधिक गडबडी हुनसक्ने जनाएको छ ।
प्रत्यक्षदर्शीहरूले विमान निकै होचो उचाइमा उडिरहेको र अचानक भुइँतर्फ खस्दै जाँदा आगो लागेको देखेको बताएका छन् ।
यो दुर्घटनाले सुडानमा जारी गृहयुद्धको संकटलाई थप गहिरो बनाएको छ । सुडानी सशस्त्र बल र अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स बीच २०२३ को अप्रिलदेखि चलिरहेको द्वन्द्वका कारण अहिलेसम्म २९ हजार ६०० भन्दा बढी मानिस मारिएका छन् । १५ लाखभन्दा बढी विस्थापित भएका अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ ।