काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको हुम्लाका उपसभापतिसहित तीन जनासँग अदालतले जनही एक लाख रुपैयाँ धरौटी मागेको छ ।
हातपातको आरोपमा पक्राउ परेका दोलखाको तामाकोसी गाउँपालिका १ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी,हुम्लाको अदानचुली गाउँपालिका ४ घर भई हाल काठमाडौँको टोखा बस्ने ३२ वर्षका महानन्द जैसी र झापाको बुद्धशान्ती गाउँपालिका ४ घर भई शान्तिनगर बस्ने ५५ वर्षकी शीतल राई भन्ने सितादेवी राईविरुद्ध मुद्दा दर्ता भएको हो ।
महानन्द जैसी राष्ट्रिय स्वतन्त्र पार्टीको हुम्ला जिल्लाका उपसभापति हुन् ।
जिल्ला अदालत काठमाडौँका न्यायाधिश गायत्रीप्रसाद रेग्मीको इजलासले शुक्रबार ज्यान मार्ने उद्योगको मुद्दामा पक्राउ परेका तीनै जनालाई एक एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता तथा रवि लामिछानेका समर्थकले माघ २ गते जिल्ला अदालतको गेट बाहिर त्रिपाठीमाथि हातपात गरेका थिए ।
उनीहरुविरुद्ध १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ । यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिनु पर्ने पनि अभियोग पत्रमा माग गरिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा रवि अदालतमा थुनछेकका लागि हाजिर भएपछि त्रिपाठीले सहकारी पीडितको तर्फबाट बहस गरेका थिए । बहस सकेर निस्कने क्रममा उनीमाथि हातपात भएको थियो ।