पोखरा । आगामी चैत २४ देखि ३० गतेसम्म घोषणा गरिएको सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनको तयारीमा कास्कीका विभिन्न स्थानमा हस्ताक्षर अभियान चलिरहेको छ ।
राष्ट्रिय जनमोर्चा कास्कीको आयोजनामा २०८१ माघ १६ गते बुधबारदेखि सो अभियान सुरु भएको हो ।
अभियानको पहिलो दिन पोखराको पृथ्वीचोकमा हस्ताक्षर अभियान सम्पन्न भइसकेको छ भने आज माघ १७ गते बिहीबार महेन्द्रपुलमा सो कार्यक्रम सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका अध्यक्ष शङ्कर बरालको नेतृत्वमा अघि बढेको उक्त कार्यक्रमअन्तर्गत माघ १८ गते शुक्रबार अमरसिंह चोकमा, माघ १९ गते शनिबार लेखनाथ नगरपालिकाको तालचोकमा, माघ २० गते आइतबार हेम्जाको मिलनचोकमा र माघ २१ गते सोमबार जिल्ला प्रशासन कार्यालयअगाडि सहिदचोकमा हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ ।
अखिल नेपाल युवक सङ्घका केन्द्र्रीय अध्यक्ष गणेश अधिकारीका अनुसार दैनिक तीन घण्टा सो कार्यक्रम चल्ने गरेको छ । अभियानमा राजमो नेताहरूले सम्बोधन गरिरहनुभएको छ ।
अभियानको क्रममा पर्चा वितरण, जनभेटघाटजस्ता कार्यक्रम पनि सँगसँगै चलिरहेको उहाँले बताउनुभयो ।
‘चैत २४ गतेदेखिको काठमाडौँकेन्द्रित आन्दोलनको तयारीस्वरूप यो कार्यक्रम सञ्चालन गरिएको हो’ अधिकारीले युगदर्शनसित भन्नुभयो– ‘हामीले पोखराबाट बढीभन्दा बढी जनता काठमाडौँ उतार्ने तयारी गरिरहेका छौँ । त्यसैको तयारीस्वरूप यो अभियान चलेको हो ।’
उक्त अभियानमा नेता बराल र अधिकारीसँगै राजमो कास्कीका अध्यक्ष रविमोहन ढकाल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष केबी थापा, जातीय समता समाजका केन्द्र्र्र्र्रीय सदस्य विष्णु विक, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, राजमो कास्कीका सचिव विष्णु पुरी, राजमो पोखरा नगर समितिका सचिव हरि खत्री, अखिल नेपाल किसान महासङ्घ (अप्फा) कास्कीका अध्यक्ष गङ्गाबहादुर थापालगातका नेताकार्यकर्ताको उपस्थिति रहेको छ ।
