काठमाडौं । नेकपा एमालेबाट निस्कासित नेता भीम रावलले तत्काल नयाँ पार्टी घोषणा नगर्ने भएका छन् ।
बुधबार पत्रकार सम्मेलनमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उनले नयाँ पार्टीको घोषणा गर्नुअघि मातृभूमि जागरण अभियान चलाउने जानकारी दिएका छन्।
‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य बनेको छ,’ रावलले भने, ‘यसै दिशामा हाम्रा कदम अगाडि बढ्नेछन्।’
उनले नेपाली कांगेस (बीपी) र पूर्व सैनिकहरुको संगठनसँग एकता हुनसक्ने संकेत समेत गरे।
‘आजको उपस्थितिले देशको सर्वोपरी हितको भवनालाई प्रतिबिम्बित गर्छ भन्ने ठानेको छु,’ उनले भने, ‘अहिलेको मातृभूमि जागरण अभियान भविष्यको सशक्त संगठन निर्माणको आधार हुनेछ।’
दुर्गा प्रसाईं लगायतसँग सहकार्य हुनसक्छ भन्ने प्रकारहरुको प्रश्नमा उनले प्रसाईंले पनि नेपालीको लगानीको कुरा गरेको भन्दै भविष्यमा सहकार्य हुनसक्ने बताए।
पत्रकार सम्मेलनमा उनले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरे । उनले ओलीले गरेका दर्जनौं कमजोरीहरू तथ्यसहित प्रस्तुत गरेका थिए ।
एमालेमा फर्कने सम्भावना छैन
नेता रावलले एमालेमा फर्कने सम्भावना भने अस्वीकार गरेका छन् ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको एक प्रश्नमा रावलले एउटा लोककथा सुनाए ।
रावलले भने, ‘हाम्रो गाउँघरतिर सुनाइने एउटा कथा भन्छु। पहिले पहिले चेली (छोरी) लाई विवाह गरेर धेरै टाढा पठाउँथे। कैयौँ खोला तरेर जानुपर्थ्यो। पुल हुँदैनथ्यो। बाआमालाई छोडेर टाढा जानुपर्दा छोरी धेरै रुन्थिन्। बाउआमा पनि रुन्थे। अनि सोध्थिन्– बाबा आमा म अब कहिले आउने भनेर। अनि बाआमाले पनि यसलाई आशामा राख्नुपर्छ भनेर ‘ऊ त्यो लेकको उन्यू जहिले फूल्छ, त्यही दिन तिमि आउनू’ रावलले भने, ‘न उन्यू फूल्यो, न त बाउआमाले बोलाए।’