भगवती उप्रेती
अहिलेसम्म कुनै देशको अधिनमा नरहेको स्वतन्त्र र स्वाभिमानी देश हो नेपाल । आफ्नो धर्म, संस्कृति, अनि विभिन्न जातजाति, भाषा, भेष भूषा भएको नेपालको विश्वमा अलग्गै पहिचान छ । जुनसुकै भाषा, धर्म, संस्कृति भए पनि नेपालीहरु साझा फूलबारी जस्तै मिलेर बसेका छन् । पञ्चशीलको सिद्धान्त अपनाएको नेपाल विश्व माझ सबैलाई समान दूरीमा राख्न सफल भएको छ । कसैसित रिसराग नराखी बुद्धको शान्ति सन्देश विश्वभर फैलाउन चाहन्छ । अरु देशबाट पनि त्यही शान्तिको अपेक्षा गर्दछ ।
सबैलाई विश्वास गर्ने नेपालीहरुको बानी हो । त्यही विश्वासले गर्दा नै नेपाल र भारतको बीचमा सीमा खुला छ । नेपालले आफू जस्तो विश्वासिलो छ त्यस्तै भारतलाई पनि देखेको छ । यही विश्वासको आधारमा नेपाल र भारतको सम्बन्ध जोडिएको थियो । तर भारतले नेपाल र नेपालीको विश्वासमा छुरा प्रहार गरेको छ । नेपाललाई हेप्ने, थिचोमिचो गर्ने, दबाउने काम गरेको छ । नेपालको भूमि मिचेर, नेपाली जनतालाई दुःख दिएर, उब्जनीयुक्त भूमि रातारात कब्जा गरेर सीमा क्षेत्रमा बस्ने नेपालीहरुलाई बल प्रयोग गरेर तर्साएर आफ्नो हैसियत देखाएको छ । नेपालीहरुलाई शान्तिको स्वास फेर्न दिएको छैन । सीमा अतिक्रमण विरुद्ध बोल्ने नेपालीलाई ज्यानै मार्नेसम्म पनि भइरहेको छ ।
खासगरी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले मिमाना मिच्नेदेखि सीमा क्षेत्रमा आतंक मच्चाउने काम गरिरहेका छन् । एसएसबीकै आडमा भारतीय नागरिक पनि नेपालीहरुलाई उही व्यवहार गर्छन् । खुला सिमानाको फाइदा उठाउँदै भारतीयहरु नेपालमा अपराध गरेर भाग्ने अनि भारतमा अपराध गरि नेपालमा लुक्ने सङ्ख्या कम छैन । खुला सीमाकै कारण सानोतिनो चोरीदेखि लिएर लुटपाट, अपहरण, लागुपदार्थ ओसारपसार वा ज्यान मार्नेसम्मका अपराध हुने गरेका छन् ।
भारत जति नै ठूलो भए पनि उसको काम, सोच विचार व्यवहार त्यति नै घृणित छ । साना र कमजोर देशलाई आफ्नो अधिनमा राख्न खोज्नु, ति देशबाट आफ्नो स्वार्थ पूरा गर्न खोज्नु उसको नियत नै हो । अहिलेसम्मको व्यवहार हेर्दा नेपाल जतिबेला अप्ठ्यारो परिस्थितिबाट गुज्रेको हुन्छ, त्यति बेला नै भूमि अतिक्रमण गर्न थाल्छ । नेपालीहरुलाइ दुःख दिने गर्दछ । भूकम्पले सृजना गरेको विषम परिस्थितिमा जुधिरहेका नेपालीहरुलाई नाकाबन्दी लगायो । अत्यावस्यक सामान ग्यास, पेट्रोलियम पदार्थ, औषधि लगायतका सामानको आपुर्ति भारतले रोकिदियो । यसले गर्दा नेपालीहरुलाई गार्हो पर्यो । तर नेपालीले सबै मिलेर नाकाबन्दीको सामना गरे । हिमाल पहाड र तराईबासि सबै मिलेर राष्ट्रको लागि एक भए ।
केही समय पछि भारतले फेरि अर्को पिडा दियो । नेपाली भूमी लिपूलेकबाट व्यापारीक मार्ग चलाउन चीनसँग द्विपक्षीय सम्झौता गर्यो । लिपूलेक, कालापानी, लिम्पीयाधुरा आफ्नो अधिनस्त हो भनि नेपालको मान मर्यादामा अर्को प्रहार गर्यो । उसले हेपाहा प्रवृत्ति देखाउँदै गयो । लिम्पीयाधुरादेखि लिपूलेकसम्मको ३७२ वर्ग किलोमिटर भूमि मिच्ने काम गरिरहेको छ । जब जब नेपाल प्राकृतिक प्रकोपसँग जुधिरहेको हुन्छ तेति बेला नै आफ्नो हर्कत भारतले देखाउँछ । अहिले विश्व नै नोबेल कोरोना ९कोभिड (१९० को महामारी खेपिरहेका बेला छ । नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । यही मौका छोपेर नेपाललाई फेरि आक्रोशित बनाएको छ । नेपाली भूमी हुँदै चीन जोड्ने सडक उद्घाटन गरेर भारतले नेपालसँग विश्वासघात गरेको छ ।
भारतको यो प्रवृतिविरुद्ध अब हामी देशको रक्षार्थमा एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको छ । कुनै पनि दल नभनि राष्ट्रिय झण्डा बोकेर सबै नेपाली राष्ट्रको सुरक्षाका लागि भारतीय साम्राज्यवाद विरुद्ध उभिनुपर्ने भएको छ । देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई एकजुट हुन आव्हान गर्नुपर्ने बेला आएको छ । वीर गोर्खालीको सन्देश फेरि एकपटक छर्ने बेला आएको छ । हामी नेपाली जो जहाँ छौं त्यही रहेर आफूले गर्न सक्ने सहयोग गरी आफ्नो मातृभूमिको रक्षार्थमा खटिनुपर्ने बेला आएको छ । यति बेला पनि हामीले केही गर्न सकेनौं भने हाम्रो मातृभूमिको भूभाग गुमेको हेर्नु बाहेक अरु केही विकल्प छैन । भारतले यसरी नै खुल्ला सिमानाको फाइदा उठाउँदै जानेछ । हामी हेपिँदै जाने छौ । हाम्रो राष्ट्रवाद मर्ने छ । हामी नेपाल आमाको सन्तान भन्न पनि असमर्थ हुने छौं ।
देश विषम परिस्थितिमा जुधिरहेका बेला आफूलाई राष्ट्रवादी भन्नेहरु कहाँ गए ? नेपालको भूमि भारतले मिच्दा पनि नबोली बस्ने बुद्धिजीवीहरू, नेताहरू, अनि मधेसका नेताहरु खोइ ? जो नेपालमा राजनीति गर्ने तर भारतले नेपालको भूमि मिचेको बारेमा बोल्न पनि नसक्ने रु कतै उताबाट सञ्चालित त छैनन् ? देश रहे मात्र हामी रहन्छौं भन्ने कुरा त सबैलाई जानकारी छ नै होला । यसमा पनि हामी नेपाली जनता एक हुन सकेनौं भने हाम्रो राष्ट्रवाद खोइ ?
देश संकटमा परेको बेला नेतृत्वको अवस्था देख्दा लाग्छ, हामीमा मातृभूमि प्रति कुनै दायित्व छैन । सधैँ आन्तरिक कलहमा नै अलमलिएर बसेका छौं । उदाहरणका लागि वैशाख २६ गते प्रतिनिधि सभाको बैठकमा मधेशवादी नेता राजेन्द्र महतोको वक्तव्य हेर्दा स्पष्ट हुन्छ । त्यो वक्तव्यमा उनले सरकारलाई गाली गरे अनि सरकारको विकल्प दिन पनि तयार छौँ भने । तर राष्ट्रमा परेको वज्रपातबारे एक शब्द बोलेनन् । भारतले नेपालको भूमि माथि गरेको अतिक्रमणको कुरा गर्न उनले आवश्यक ठानेनन् ।
कुर्सीको लागि जति पनि बोल्न सक्ने राष्ट्र र राष्ट्रियताको बारेमा एक शब्द पनि नबोल्ने हो भने देशको रक्षा कसरी हुन्छ ? यस्तो असहज अवस्थामा पनि चरम कुर्सी मोह प्रदर्शन गरे । के यो उनको राष्ट्र प्रतिको सम्मान हो ? यस्तो प्रवृत्तिका नेता कार्यकर्ता र जुनसुकै तहका व्यक्ति भए पनि नेपालको सुरक्षा उच्च जोखिममा पर्ने छ । कैयौं मानिसहरु नेपालमा राजनीति गर्छन, तलव भत्ता नेपाल सरकारको थाप्छन् अनि काम भारतको गर्छन् । यस्ता ब्यक्ति र प्रवृत्ति प्रति हामी सबै सचेत हुने बेला आएको छ ।
यो पनि पढ्नुहोस्ः समाज परिवर्तनमा महिलाको भूमिका