बाकु (अजरबैजान) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै हुनुहुन्छ ।
“पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन” विषयमा हुने सत्रमा नेपालले आफ्ना एजेन्डामाथि विश्व समुदायको ध्यानाकर्षण गराउने छ । कोप शिखर सम्मेलनमा २०८१ कात्तिक २७ गते मङ्गलबार नेपालका तर्फबाट मन्तव्य व्यक्त गर्दै राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकता मनन गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले भन्नुभयो– ‘हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले मनन गरौँ । पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन, तल्लो तटीय मुलुकलाई सङ्कटमा पुर्याउँछ भन्ने वास्तविकता विश्वले बिर्सनुहुँदैन ।’
माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मैज्जुसँग मङ्गलबार भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिव्स जस्ता देश परेकाले जलवायु वार्तामा सहकार्य गर्नुपर्ने बताउनुभएको थियो ।
यसपटक नेपाल “विश्वनेताहरू जलवायुकार्य शिखर सम्मेलन” मा राष्ट्रपति पौडेलको नेतृत्वमा सहभागी भएको छ ।
अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार यहाँ आइपुग्नु भएको हो ।
सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्रीसहित विश्वका अधिकांश मुलुकका जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत प्रभावशाली नेताहरू छलफल र विश्वव्यापी सहकार्यका लागि सहभागी हुनुहुन्छ । (रासस)