वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ ।
मतदाताको प्रत्यक्ष मतदान र इलोक्ट्रोरल कलेजको समिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यसपटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
निर्वाचनका लागि डेमोर्क्याटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् ।
निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउन्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित थियो ।
नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रूपमा प्रभाव पार्ने कतिपयको धारणा छ । आफ्नो पक्षका उमेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् ।
यसपटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोर्क्याट र रिपब्लिकन पार्टीले आफ्नो एजेन्डा तय गरेका छन् । कोभिड महामारीपश्चात् अर्थतन्त्र केही चलायमान बन्ने प्रयत्न गरेको भए पनि मूल्यवृद्धिले यहाँको हरेक तहलाई असर परेको छ । खाद्यवस्तु, इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आय हुनेहरूका लागि कठिन आर्थिक अवस्था सिर्जना गरेकाले यो निर्वाचनलाई महत्त्वका साथ हेरिएको छ ।
तुलनात्मक रूपमा आप्रवासीप्रति नरम नीति अङ्गीकार गर्ने डेमोर्क्याट पार्टीले अमेरिकाको इतिहासमा पहिलोपटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्नेगरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ । उता, अनेकन मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्ता आरोहणका लागि कडा मेहनत गरिरहेका छन् ।
स्विङ राज्य निर्णायक
अमेरिकामा रहेका कुल ५० राज्यमध्ये मुख्य सात एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ (मतदाताले अन्तिम समयमा निर्णय गर्ने) राज्यका रूपमा परिभाषित गरिएको छ । यसमध्ये सबैभन्दा बढी ध्यान पेन्सलभेनियामा रहेको छ । यी राज्यका विगतको निर्वाचनको नतिजा हेर्दा सन् २०१६ मा डोनाल्ड ट्रम्पले पाँच ओटा स्विङ राज्यमा जित हासिल गरेर निर्वाचित भएका थिए । उता, सन् २०२० मा जो बाइडेनले छ ओटा राज्यमा जित हासिल गरेर राष्ट्रपति बन्न सफल भएका थिए ।
पेन्सलभेनिया कति महत्त्वपूर्ण छ भन्ने विषय उक्त राज्यमा रिपब्लिकन र डेमोर्क्याट पार्टीले सबै प्रकारका चुनावी अभियानमा सबै प्रकारका सञ्चारमध्यममा खर्च गरेका एक अर्ब २० करोड डलरको विज्ञापनले पनि पुष्टि गर्छ । सन् २०२४ को चुनावमा अमेरिकाभर कुल १० अर्व ५३ करोड विज्ञापनमा खर्च गरिएकोमा त्यसमध्ये ११ प्रतिशत एउटै राज्यमा खर्च गरिएकोबाट पनि पुष्टि हुन्छ । कुल ९१ लाख मतदाता रहेको पेन्सलभेनियामा अर्ली भोटिङमार्फत १६ लाख २० हजारले मतदान गरिसकेका छन् ।
नेपालीको मत निर्णायक हुन सक्छ ?
व्याटल ग्राउन्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रूपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सरोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ । सो राज्यमा करिब २५ हजार नेपालीभाषीको मतदानको अधिकार रहेकाले उनीहरू निर्णायक हुन सक्ने बताइएको छ ।
नेपाली मतदातालाई निर्वाचनसम्बन्धी जनचेतनाका लागि पेन्सलभेनियाको ह्यारिसवर्गमा आइपुगेका डा ह्यारी भण्डारीले यो स्थान निर्वाचन निर्णायक बनाउन सक्ने भएकाले निकै महत्त्वपूर्ण रहेको बताए । शनिबार मात्रै उनको अगुवाइमा मेरिल्यान्डबाट ५१ जना स्वयम्सेवक परिचालन गरी भोट माग्न जुटेका भण्डारी हरेक मतको मूल्य हुने बताउँछन् ।
भण्डारीले भने– ‘हामीले यहाँ बसेर जसरी यहाँको राजनीतिमा योगदान दिइरहेका छौँ, यो भावी पिँढीका लागि झन् बढी प्रेरक बन्ने छ । एक आप्रवासीका रूपमा जसरी दोस्रो पुस्तामा कमला ह्यारिसले एउटा गर्विलो इतिहास कोर्ने जमर्को गरिरहनुभएको छ, यसले धेरै आप्रवासीलाई प्रेरणा दिने विश्वास लिएका छौँ ।’
पेन्सलभेनियालाई मुख्य मतदान केन्द्रका रूपमा मानिएको छ । यो ब्याटल ग्राउन्ड स्टेट हो र यसमा सन् २०१६ र २०२० को मतदानको विश्लेषण गर्दा झिनो अन्तरले विजयी भएको देखिन्छ । त्यसैले नेपाली अमेरिकनको मतले एउटा निर्णायक भूमिका निर्वाह गर्नसक्ने उनले धारणा राखे ।
अभियानमा सहभागी अभिषेक थापाले भने– ‘राजनीतिक विश्लेषण गर्दा यसपटक निकै प्रतिस्पर्धा हुने देखिएको छ । यही प्रतिस्पर्धामा हामी नेपालीको मत महत्त्वपूर्ण मानिने विश्वास लिएका छौँ । हामीले पेन्सलभेनियामा रहेका नेपालीभाषीलाई भोट हाल्नका लागि प्रेरित गर्न सम्भव भएसम्म हरेक नेपालीको घरमा पुगेका छौँ । एउटा क्षेत्रमा मात्रै पनि करिब चार हजार पाँच सय नेपाली मतदाता छन् । ती ठाउँबाट हामी मतदान गर्न प्रेरित गरिरहेका छौँ ।’
पेन्सलभेनियामा सक्रिय रहँदै आउनुभएकी विनिता पुरीले मतदान प्रक्रिया र राजनीतिमा सक्रिया सहभागिता जनाउनका लागि नेपालीभाषी समुदायमाझ विभिन्न कार्यक्रम गर्दै आएको बताइन् । उनले थपिन्– ‘हामीले मतदातालाई सचेत बनाउन अभियान सञ्चालन गर्दे आएका छौँ । यसपटकको मतदानमा धेरैभन्दा धेरैले मतदान प्रक्रियामा भाग लिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।’
पेन्सलभेनियामा नै बस्दै आएका जीवन दाहालले भने आफैँ पनि डेमोर्क्याटिक पार्टीमा विश्वास गर्ने भएकाले ह्यारिसलाई विजयी गराउन आह्वान गरे ।
त्यस्तै, प्रकाश ढुङ्गानाले भने– ‘एक नागरिकका रूपमा हामीले मतदानमा भाग लिनु र आफूले मन पराएको उम्मेदवारलाई विजयी गराउनुपर्छ । हामी अमेरिकामा एक आप्रवासीका रूपमा आएका छौँ । यसलाई संवैधानिक अधिकारका रूपमा उपयोग गर्दै राजनीतिक मार्गचित्र तयार गर्नुपर्छ जसले गर्दा भावी पिँढीलाई राजनीतिमा लाग्न प्रेरणा प्रदान गरोस् ।’
नेपाली पनि दुवै पक्षधर
आप्रवासीप्रति नरम नीति लिने डेमोर्क्याट पार्टीका पक्षमा धेरै नेपाली देखिएको भए पनि रिपब्लिकन अर्थात् ट्रम्प समर्थक पनि भेटिन्छन् । नेपाली अमेरिकनले भने आफ्नो सामाजिक सञ्जालमा प्रशस्त टिप्पणी र पोस्ट राखेका छन् ।
ब्याटल ग्राउन्ड स्टेटको विश्लेषण
अमेरिकाको राजनीतिलाई अत्यधिक प्रभाव पार्ने राज्यका रूपमा अहिले पेन्सलभेनिया रहेको छ । उक्त राज्यमा ६७ ओटा क्षेत्र (काउन्टी) मध्ये केही काउन्टीका मतदाता दुवै पक्षमा रहेका पाइएको छ । समर्थकले मतदानमा निर्णय भूमिका निर्वाह गर्ने चुनावी अभियानमा सहभागी स्वयम्सेवकको भनाइ छ ।
चुनावी र्यालीको अन्तिम दिन
अमेरिकाको राष्ट्रपति निर्वाचनमा चुनावी र्यालीको अन्तिम तयारीस्वरूप स्थानीय समयअनुसार सोमबार अपराह्न पेन्सलभेनियाको फिलाडेल्फिया म्युजियम अफ आर्ट अगाडि आयोजना हुने र्यालीलाई उपराष्ट्रपति ह्यारिसले सम्बोधन गरेकी थिइन् भने रिपब्लिकन उम्मेदवार ट्रम्पले पनि सोमबार साँझ पेन्सलभेनियामा आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए ।
यसपटकको निर्वाचनले दुई सय ४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्ने छ वा पूर्वराष्ट्रपति ट्रम्पको दोस्रोपटक ह्वाइट हाउसको यात्रालाई निरन्तरता दिने छ भन्ने विषयको निर्क्यौल यो निर्वाचनले गर्ने छ ।
कुल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता (रजिस्टर्ड) गरेका तथ्याङ्क छ । त्यसैगरी कुल इलेक्ट्रोरल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले निर्वाचनमा जित हासिल गर्न सक्ने छन् । (रासस)