काठमाडौँ । आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रको उनन्तिसौँ सम्मेलन (कोप–२९) मा प्रस्तुत गरिने एजेन्डामाथि नेपालले छलफल गरिरहेको छ ।
कोप तयारीको मुख्य जिम्मेवार मन्त्रालय, वन तथा वातावरण मन्त्रालयले विभिन्न अन्तरसरकारी निकाय, तथा अन्य सरोकारवालासँग आगामी कोपका लागि उठान गरिने एजेन्डामाथि छलफल गरेको हो ।
विगतमा भन्दा अझै कोपलाई उपलब्धिमूलक बनाउन सबै सरोकारवालासँग समन्वय गरेर छलफल भइरहेको मन्त्रालयले जानकारी गराएको छ । वन तथा वातावरण मन्त्रालयले विज्ञ तथा सरोकारवालाको आगामी कोपमा प्रस्तुत गर्ने एजेन्डा र भूमिकालगायत विषयमा आयोजित तीनदिने गोष्ठी शुक्रबार मात्रै सकिएको छ । आज नै कोपलाई अर्थपूर्ण बनाउन राष्ट्रिय जलवायु सम्मेलन आयोजना हुन लागेको छ । मन्त्रालयले कोपलाई थप प्रभावकारी बनाउन व्यापक रूपमा छलफल चलाइरहेको छ ।
जलवायु परिवर्तन गराउन नगन्य भूमिका खलेको नेपाल लगायतका विकासोन्मख राष्ट्रहरूलाई जलवायु परिवर्तनका कार्यक्रम सञ्चालनका लागि आवश्यक लगानीका लागि धनी राष्ट्रहरूले जलवायु वित्तीय दायित्व बढाउनुपर्ने भन्दै विगतका कोपमा पनि नेपालले यस पटक पनि
आवाज उठाउने तयारी गरेको छ । यससँगै उक्त वित्तमा सहज पहुँच हुनुपर्ने भन्दै नेपालले अडान लिँदै आएको छ ।
यसपटक पनि धनी तथा विकसित मुलुकले जलवायु वित्तीय दायित्व बढाउनुपर्ने, नेपाल जस्ता मुलुकका लागि उक्त वित्त प्राप्ति गर्न पहुँच सहज हुनुपर्ने एजेन्डालाई कोपमा निरन्तरता दिँदै छ । नेपाल जस्ता मुलुकका लागि जलवायु वित्तमा सहज पहुँचको व्यवस्था नहुँदा वैदेशिक आर्थिक सहयोग प्राप्त गर्न झन्झटिलो प्रावधान व्यहोर्नुपरेको बताउनुहुन्छ, वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गाना ।
‘जलवायु वित्तमा नेपाल जस्ता मुलुकको पहुँच पुग्न कठिन छ । अन्तर्राष्ट्रिय विज्ञ नभई प्रपोजल नै तयार हुँदैन । रकम ल्याउन पनि उत्तिकै झन्झटिलो छ’ उहाँले भन्नुभयो– ‘विगतको कोपमा झैँ यसपटकको कोपमा पनि जलवायु वित्तमा सहज पहुँच हुनुपर्छ भनेर एजेन्डा लैजाने छौँ ।’
ढुङ्गानाले कोप–२९ मा जलवायुजन्य हानिनोक्सानीको विषयलाई पनि प्राथमिकता दिएर एजेन्डा लैजाने विषयमा व्यापक छलफल भइरहेको बताउनुभयो ।
‘यही असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण नसोचिएको बाढी आयो । ठाउँठाउँमा पहिरो गए । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे भन्ने ठाउँमा अचानक आएको बाढीले अर्बौंको क्षति गरायो । मुस्ताङमा अचानक पहिलोपटक बाढी आयो । केही वर्षअघि मेलम्ची नदीमा आएको बाढीका कारण आयोजनालाई नै क्षति गरायो । जलवायुजन्य परिस्थितिले हानिनोक्सानी धेरै बढेको छ’ डा ढुङ्गानाले भन्नुभयो– ‘हाम्रो हिमाल पग्लेका कारण पनि नेपालले बिपत्को सामना गर्नुपर्ने छ । हिउँपहिरोको समस्या हामीले भोग्नुपर्छ । तसर्थ जलवायु परिवर्तन गराउन मुख्य भूमिका खेल्ने मुलुकबाट हामीलाई आवश्यक पर्ने जलवायु वित्त चाहिन्छ भनेर माग गर्ने छौँ ।’
सरकारको दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तथा राष्ट्रिय अनुकूलन योजना (न्याप) कार्यान्वयन गर्नका लागि अन्तर्राष्ट्र्र्रिय जलवायु वित्त, क्षमता र प्रविधिको आवश्यकता भएकाले यसपटकको कोपमा पनि जलवायु वित्तलाई नै बढी प्रथामिकता दिइएको डा ढुङ्गानाको भनाइ छ ।
‘हामी जलवायुको क्षेत्रमा अधिकार मात्रै खोज्दैनौँ, हाम्रो प्रतिबद्धता पनि पूरा गर्छौं । परियोजना आएर पनि कार्यान्वयन हुन समय लाग्ने गरेको छ । यो सुधार गर्ने छौँ’ उहाँले भन्नुभयो ।
जलवायुविद् डा धर्मराज उप्रेतीले पनि जलवायु परिवर्तन व्यवस्थापनका लागि आगामी कोप–२९ मा जलवायु वित्तका नयाँ आयाममाथि जोडदार रूपमा लबिङ गर्नुपर्ने बताउनुभयो ।
‘वायुमण्डलमा तापक्रम वृद्धि भएर रेकर्ड ब्रेक भइरहेको छ । बाढीपहिरो, डुबान, हिउँपहिरो जस्ता रेकर्ड ब्रेक गर्ने किसिमका बिपत्का घटना हामीले समाना गर्नुपरेको छ । अझै बढी समाना गर्नुपर्ने छ’ उहाँले भन्नुभयो– ॅतसर्थ जलवायु परिवर्तनले निम्ताएका असर व्यवस्थापनका लागि नयाँ वित्तको आवश्यकता छ । विकसित मुलुकले एक सय अर्ब अमेरिकी डलर वार्षिक रूपमा जलवायु वित्त जम्मा गर्ने भन्ने छ, अब यसले पुग्दैन ।’
उहाँका अनुसार अब खर्ब डलरको कुरा गर्नुपर्छ । विश्व समुदायले नै जलवायु वित्तलाई कसरी सम्बोधन गर्ने ? नयाँ लक्ष्य निर्धारण कसरी गर्ने भन्नेमा केन्द्रित भई यसपटकको कोपमा बुलन्द आवाज उठाउनुपर्छ ।
उप्रेतीले कोपमा उठाउने जलवायुका मुद्दा सम्बोधन गराउन टापु मुलुकको पनि ऐक्यबद्धता हुनुपर्नेमा जोड दिनुभयो ।
‘जलवायु परिवर्तनको असर तीव्र गतिमा बढिरहेकाले जलवायुजन्य हानिनोक्सानी सम्बोधन गर्न प्रत्येक क्षेत्रगत रूपमा कुरा उठाउनुपर्छ; जस्तै : जलवायु परिवर्तनका कारण कृषि, पर्यटन, वातावरण, पूर्वाधार, स्वास्थ्य, मानवीयलगायतका क्षेत्रमा पर्ने असर सम्बोधन गर्न क्षतिपूर्तिको व्यवस्था होस् भन्ने आवाज उठाउनुपर्छ’ उहाँले भन्नुभयो– ‘क्षेत्रअनुसार जलवायु परिर्वतन व्यवस्थापनमा ठुला लगानीको खोजिनुपर्छ ।’
जलवायुविज्ञले पनि नेपालले आगामी कोपमा जलवायु वित्तीय दायित्व बढाउन दाबाब दिइनेगरी आफ्नो एजेन्डा तय गर्नुपर्ने सुझाव दिएका छन् ।
अनुकूलन कोषका लागि आकार बढाउन जोड
वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन प्रमुख डा सिन्धु ढुङ्गानाले जलवायु अनुकूलन कोषका लागि आकार बढाउनुपर्नेमा जोड दिनुभयो ।
‘जलवायु अनुकूलन वित्त कुन देशलाई कति आवश्यकता हो ? भन्ने स्पष्ट हुनुपर्छ र यसको आकार बढाए मात्रै जलवायु अनुकूलनसम्बन्धी नीति कार्यान्वयनमा सहज हुने छ’ उहाँले भन्नुभयो– ॅअहिले अनुकूलन कोषको वित्त अपुग देखिएको छ । अब कसले कसले योगदान गर्ने भन्ने प्रश्न पनि छ । सबैले गर्नुपर्छ कोषमा योगदान भन्ने भयो भने फेरि हामीलाई असहज हुनेछ भन्ने कुरा पनि छ ।’
महाशाखाअन्तर्गत अनुकूलन शाखा प्रमुख सुमन सुवेदीले पनि नेपाल जस्ता मुलुकका लागि जलवायु परिवर्तनसम्बन्धी न्यूनीकरणका कार्यक्रमभन्दा अनुकूलनका कार्यक्रम उपयोगी हुने भन्दै अनुकूलनको क्षेत्रमा आवश्यकताअनुसार लगानी जुटाउन प्रयास आवश्यक रहेको बताउनुभयो ।
जलवायुविज्ञले पनि नेपालले आगामी कोपमा जलवायु वित्तीय दायित्व बढाउन दाबाब दिइनेगरी आफ्नो एजेन्डा तय गर्नुपर्ने सुझाव दिएका छन् ।
यी हुन् मुख्य एजेन्डा
जलवायुजन्य जोखिम न्यूनीकरण गर्न र मुलुकको समग्र हितका लागि सरकारले मुख्य छओटा एजेन्डालाई उच्च प्राथमिकता दिएर तयारी थालिरहेको छ । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलले जलवायु वित्त, जलवायुजन्य हानिनोक्सानी, न्यूनीकरण कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिताको छओटा विषयगत कार्यपत्र तयार भएको जानकारी दिनुभयो ।
‘नेपालको राष्ट्रिय स्थितिपत्र पनि तयार भएको छ । यसमा राष्ट्रिय अवधारणापत्र, जलवायु अनुकूलन, जलवायु वित्त, कृषि र खाद्य प्रणाली, स्वास्थ्य र जलवायु परिवर्तन, ऊर्जा सङ्क्रमण र दक्षता, पानी र जलवायुजन्य कार्यजलवायुका लागि प्रकृति लगायतका विषयवस्तु समावेश गरिएको छ’ उहाँले भन्नुभयो– ‘आगामी कोपलाई थप उपलब्धिमूलक बनाउन राम्रो तयारी भइरहेको छ । विभिन्न सरोकारवालाको धारणा पनि समावेश गरेर हामीले कोपको एजेन्डा तर्जुमा गरेका छौँ ।’
गत वर्ष युएइको दुबईमा भएको कोप–२८ मा स्थापना गरिएको जलवायुजन्य हानिनोक्सानीसम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका लागि पनि दबाब दिने पौडेलले जानकारी दिनुभयो ।
‘नेपालले जलवायु परिवर्तनसम्बन्धी पहिलो द्विवर्षीय पारदर्शिता प्रतिवेदन (बिटिआर) प्रतिवेदन तयार गर्ने कार्य भइरहेको छ’ उहाँले भन्नुभयो– ‘नेपालको तेस्रो राष्ट्रिय निर्धारीत योगदान तयारीका लागि बहुपक्षीय प्राविधिक समिति गठन भई कार्य अगाडि बढेको छ ।’

