काठमाडौं । मंगलबार भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको विस्तारा एयरलाइन्सको विमानमा बम भएको हल्लापछि चौतर्फी आतंकको अवस्था सिर्जना भयो ।
जहाज विमानस्थलमा ओर्लनासाथ नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र विमानस्थलका प्राविधिकहरूले ६ घण्टा लगाएर विमानको जाँच गरे ।
तर, विमानमा बम नभएको पुष्टि भएको छ ।
विमानको सुरक्षा जाँचका क्रममा केही पनि नभेटिएको र बम भएको हल्ला मात्रै भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।
‘विस्ताराको विमानको सुरक्षा जाँच पूरा भयो। केही पनि भेटिएन। सबै नर्मल छ । अब विमान फर्किन पाउँछ’ उनले भने ।
मंगलबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेको विस्तारा एयरलाइन्सको विमानमा बम भएको हल्लापछि सुरक्षाकर्मीले विमान र यात्रुका लगेज जाँच गरेको थियो।
अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ) को नियमानुसार यस्तो अवस्थामा कम्तीमा ६ घण्टासम्म सर्च गरिएको हो।
जहाजमा बम रहेको हल्लापछि बम डिस्पोजलसहितको टोलीले विमानलाई छुट्टै राखेर यात्रुहरूको लगेज एक्स–रे गरेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एसएसपी डम्बर विकले बताए।
यस्तै विमानभित्र अहिले नेपाली सेनाको बम डिस्पोजल टोली, बम पत्ता लगाउने कुकुरसहित नेपाल प्रहरीले संयुक्त रूपमा सर्च गरेको थियो।
काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजी किरण वज्राचार्यका अनुसार, विमानमा १४७ जना यात्रु र १० जना क्रू मेम्बर (विमानका कर्मचारी) थिए।
विमानस्थल केही बेर अबरुद्ध हुँदा यात्रुको भिड लागेको थियो।