बुटवल । नेपाल विद्यार्थी सङ्घ लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलको आयोजनामा दुई दिने सङ्घीय नमुना संसदीय अभ्यास सम्पन्न भएको छ।
२०८१ साउन १६ गते बुधबारदेखि सुरु भएको संसदीय अभ्यास कार्यक्रम बिहीबार समापन भएको हो ।
युवालाई देशको संविधान, नियमकानुन, संसदीय व्यवस्थाको अभ्यास र अनुशासन सिकाई भविष्यमा नेतृत्व गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नका लागि सो अभ्यास आयोजना गरेको नेविसङ्घ सिटी क्याम्पसले जनाएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषदका कार्यकारी सदस्य सरोज खनाल र टेकराज भुसालले लोकतान्त्रिक प्रणाली, शासकीय स्वरूप र राज्यसञ्चालनको प्रक्रिया, सरकार निर्माण प्रक्रिया, बजेट निर्माण, सङ्घीयसभामा कानुन निर्माणको प्रक्रिया, सभामा पेस, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबिच अन्तरसम्बन्धलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
भुसाल अखिल (छैठौं) का नेता हुनुहुन्छ ।
कार्यक्रममा सिटी क्याम्पसको कानुन सङ्कायमा अध्यनरत सय बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
सहभागीमध्येबाट राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गृह, अर्थ तथा वाणिज्यलगायतका आठओटा मन्त्रालयका मन्त्रीहरू निर्वाचित गरिएको उक्त कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम, वार्षिक बजेट र विभिन्न विधेयकलाई पास गर्दै सङ्घीय संसदको डेमोसमेत प्रस्तुत गरिएको थियो ।