काठमाडौँ । आज साउन १० गते बिहीबार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले पाँच प्रदेशका केही भागमा यस्तो अनुमान गरिएको हो ।
विभागले हाल देशभर साधारणतया मौसम बदली रहेको बताएको छ । त्यस क्रममा यतिखेर बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढीपहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।
साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि सबैमा आग्रह गरेको छ ।