गोपालप्रसाद भट्टराई, नुवाकोट (अर्घाखाँची) ।
आर्थिक वर्ष २०८०/८१ मा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले ८४ दशमलव ४३ प्रतिशत भौतिक प्रगति तथा ८०.५३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
गत आवमा भूमिकास्थानले गरेका प्रगति प्रस्तुत तथा वार्षिक समीक्षा गर्न २०८१ साउन ७ गते सोमबार आयोजित कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
सबै शीर्षकमा कुल ७३ करोड ५८ लाख रुपैयाँ बजेटको सिलिङ प्राप्त गरेको पालिकाले करिब ८५ प्रतिशत भौतिक प्रगति हासिल गर्दा ५९ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार खर्चप्रगतिलाई प्रतिशतमा हेर्दा पालिकाले गत आर्थिक वर्षमा ८० दशमलव ५३ प्रतिशत वित्तिय प्रगति हासिल गरेको योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख झविलाल थापाले कर्मशील जनशक्ति परिचालन कार्यक्रम, पढ्दै–कमाउँदै–रमाउँदै विद्यालय कार्यक्रम र लक्ष्यभन्दा बढी राजस्व सङ्कलन जस्ता उत्कृष्ट कार्यलाई भूमिकास्थानको उपलब्धिमा राख्नुभयो ।
कर्मशील जनशक्ति परिचालन कार्यक्रममार्फत बाझो जग्गामा व्यावसायिक कृषिखेती† जस्तै : प्याज, काँक्रो, करेला, मकै, धान, अकबरे खुर्सानी, कोदो, मकैको पोस्कर–थाकलको पातबाट झोलाटोपी निर्माण, बरोजगारको सूचीमा रहेकालाई स्वरोजगार बनाइनुलाई प्रमख उपलब्धिको रूपमा लिइभएको छ ।
त्यसैगरी, ३८ किलोमिटरमध्ये ३.५ किमि सडक कालोपत्रे, २ सय २० घरधुरीमा एक घर एक धाराअन्तर्गत खानेपानीको मिटर जडान, सिँचाइका लागि ४.५ किमि पक्की कुलो निर्माण, नगरपालिकालाई आवस्यक पर्ने अधिकांश ऐननियम र कार्यविधि तयार हुनु र सबै वडाको प्रतिनिधित्व हुने गरी सार्वजनिक सुनुवाइ गर्न सफल हुनु जस्ता कार्यक्रमलाई पनि महत्त्वपूर्ण उपलब्धि रहेको नगरप्रमुख थापाको भनाइ छ ।
अहिले विकासले गाउँ भरिने, मानिसले सहर भरिने अवस्था आएकोप्रति दुःख व्यक्त गर्दै उहाँले बसाइँसराइ न्यूनीकरणको निम्ति नागरिक सचेतना बढाउनुपर्नेमा जोड दिनुभयो ।
पालिकाका नगरउपप्रमुख बालकृष्ण बन्जाडेले सीमित स्रोतका कारण नगरपालिकासँग जनताका सबै माग पूरा गराउन नसकिएको स्वीकार गर्दै आन्तरिक आम्दानी बढाउनुपर्ने तर्क गर्नुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत तुवलाल सापकोटाले जनताका माग र समस्या ठुलो मात्रामा भएकाले भनेजति काम गर्न नसकिएको स्वीकार गर्नुभयो ।
कार्यक्रममा सबै राजनीतिक दलको तर्फबाट एमाले नगर अध्यक्ष मणिराम पौडेल, अखिल नेपाल शिक्षक सङ्घका प्रतिनिधि रामबहादुर थापा र पत्रकार महासङ्घका सहसचिव हृदयकुमार भुसालले पनि मन्तव्य राख्दै पालिकाको समग्र विकासमा सबैसँग समन्वय गर्न नेतृत्वलाई सुझाव दिनुभयो ।
योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालको सहजीकरण र कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओशनको सञ्चालनमा सम्पन्न कार्यक्रममा भूमिकास्थानका वडाध्यक्ष, कार्यपालिका सदस्य, क्रियाशील राजनीतिक दलका नेता, विभिन्न विषयगत शाखाका प्रमुख, वडासचिव, पत्रकार र अन्य सरोकारवालाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
समीक्षा कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले भौतिक संरचना मात्रैले दिगो र पूर्ण विकास नहुने भन्दै सचेतना र व्यवहार परिर्वतनको लेभल उकास्ने गरी चौतर्फी विकासको काम गर्न सुझाव दिएका थिए । शिक्षा, स्वास्थ्य, कृषिसहितका सेवाको गुणस्तर सुधार गर्न पनि सहभागीले माग गरेका थिए ।