काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल समाजवादी मोर्चालाई सक्रिय पार्ने प्रयासमा जुटेका छन् ।
बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाका घटक दलहरुसँग प्रधानमन्त्रीले छलफल गरेका छन् ।
बैठकमा समाजवादी मोर्चाको पुनर्गठन बारे छलफल भएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रमेश मल्लले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीसँगको मोर्चाको पुनर्गठनबारे छलफल गरेका मल्लले बताए।
उनले समाजवादी मोर्चामा पहिला ४ वटा पार्टी भएपनि जनता समाजवादी पार्टी, नेपाल छुट्टिएपछि बैठक बस्न नसकेको र अहिले घटकका तीन दल र महिन्द्र राय यादव नेतृत्वको नेपाल समँजवादी पार्टी मिसिएको बताए।
उनले बैठकमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गर्नुभएको र नेताहरुले पनि आफ्ना धारणा राख्ने काम भएको स्वकीय सचिव मल्लले बताए।
उनले नेताहरुले आफ्नो ठाउँबाट अर्को बैठकसम्म समाजवादी मोर्चामा रहने राजनीतिक दलहरुको टुंगो लगाउने र छिटै बैठक बस्ने जानकारी दिएको पनि बताए।
बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी थिए।