काठमाडौं । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएको दुई दिन नबित्दै मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा जनमत नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ ।
मुख्यमन्त्री सिंहलाई पहिला विश्वासको मत दिने र त्यस लगत्तै सरकारमा गठबन्धनका दल कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई सरकारमा सहभागी गराउने सहमति भएको थियो ।
कांग्रेसलाई अर्थसहित चार मन्त्रालय र गृह तथा सञ्चारसहित लोसपालाई दुई मन्त्रालय दिने आन्तरिक सहमति भएको थियो ।
तर विश्वासको मत लिएपछि जनमत पार्टीका मुख्यमन्त्रीले सहमति कार्यान्वयन नगरेको असन्तुष्टि जनाउँदै कांग्रेस र लोसपा सरकारमा सहभागी भएको छैन । कांग्रेसले जनमत पार्टीलाई सहमति अनुसार विश्वास गरेर विश्वासको मत दिएपनि जनमत पार्टीले धोखाधडी गरी विश्वासको वातावरण कायम राख्न नसकेको आरोप कांग्रेस र लोसपा सांसदहरुको छ । सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेसले आफ्नो नेतृत्वमा छुट्टै सरकार बनाउने तयारी अघि बढाइसकेको छ । सो तयारी स्वरुप आज बिहान जसपा नेपाल, एमाले र लोसपाको संसदीय दलसँग छुट्टाछुट्टै रुपमा छलफल समेत गरेका छन् ।
पार्टी स्रोतकाअनुसार छलफलमा जसपा, एमाले र लोसपाले काँग्रेस नेतृत्वलाई स्वीकार गर्दै अघि बढ्न सुझाव दिएको छ । मन्त्रालय बाँडफाँडमा जनमत केन्द्रीय नेतृत्वको प्रदेशमा हस्तक्षेपका कारण सहमतिको वातावरण बिग्रिन गएको कांग्रेस संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्ण यादवले बताए।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको प्रक्रिया थालेको हो ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासा उनले सबै दलले आफ्नै नेतृत्व स्वीकार गरिसकेको बताए । सहमतिअनुसार नभए नयाँ सरकारको पहल थाल्ने बताए ।