काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेज्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।
एमसिए नेपालले २०८१ असार १ गते प्रेसविज्ञप्ति जारी गर्दै उक्त सम्झौताबारे जानकारी दिएको हो ।
उक्त ४०० केभी ग्यास इन्सुलेटेड स्विचगियर (जिआइएस) सबस्टेसन ३९ महिनाभित्र निर्माण गरिने छ । निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसन नेपालकै ठुला सबस्टेसनमध्ये एउटा हुने छ ।
पाँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेसनबिच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुको रूपमा काम गर्ने एमसिए–नेपालले जनाएको छ ।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले एमसिसी र एमसिए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेर आदानप्रदान गर्नुभयो ।
एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनओटा सवस्टेसनमध्ये एमसिए–नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेशन निर्माण सम्झौता हो ।