फुङ्लिङ (ताप्लेजुङ) । जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।
फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो ।
पहिरोले घर घण्डै ४० मिटर तलसम्म पुर्याएको प्रहरीले जनाएको छ । पहिरोले घरसँगै रहेको गोठ बगाउँदा चौपाया पनि मरेका छन्।
यसैगरी सोही गाउँमा अर्को घर बगाउँदा ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएका छन् ।
गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।