काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार ढलेको छ ।
बुधबार जनकपुरस्थित मधेस प्रदेश सभामा बसेको बैठकमा विश्वासको मत नपाएपछि जसपा नेतृत्वको सरकार करिब १७ महिनापछि ढलेको हो।
१०७ सदस्यीय सभामा उनले राखेको प्रस्तावको पक्षमा जम्मा ५० मत परेको छ भने विपक्षमा ५३ मत खसेको छ। विश्वासको मत लिने क्रममा सांसदहरूको उपस्थिती संख्या १०३ थियो ।
नेपाली कांग्रेस २२, जसपा १९, लोकतान्त्रिक समाजवादी पार्टी ९ ले मात्र मत दिए। यो सबै जोड्दा ५० हुन्छ।
उनले प्रदेश सभाको विश्वास गुमाएका छन्।
प्रदेश सभामा विश्वास गुमाएपछि २०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवको सत्ता ढलेको छ।
एमाले र माओवादीले वैशाख ३० गते यादव नेतृत्वको सरकारबाट फिर्ता हुँदै समर्थन झिकेको थियो।
यसअघि पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पाँच वर्ष सत्ता चलाएको थियो । तर, अशोक राईले पार्टी विभाजन गरेपछि सो दल कमजोर बनेको हो ।
सरोज यादव नेतृत्वको सरकार ढलेसँगै मधेसमा जसपा करिब साढे ६ वर्षपछि सत्ताबाट बाहिरिएको छ ।
अब मधेसमा सिके राउत नेतृत्वको जनमत पार्टीले सरकार गठन गर्नेछ ।