काठमाडौं । राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य हरिकृष्ण पाण्डे र अखिल नेपाल महिला संघकी नेतृ कुन्ती पाण्डेले आफ्ना काकाको काजकिरिया बापत लाग्ने खर्च विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।
नेता पाण्डेका काका सिउनाथ पाण्डेको यही जेठ १६ गते कैलालीको अत्तरियास्थित आफ्नै निवासमा ८२ वर्षको उमेरमा मृत्यु भएको थियो ।
पाण्डे दम्पतीले काज किरियमा लाग्ने खर्च गोदावरी नगरपालिका–२ मा रहेको अपांगता बालबालिका अध्ययनरत सुप समावेशी आधारभूत विद्यालयमा छात्रवृति अक्षय कोष स्थापनाका लागि प्रदान गर्नुभएको हो ।
काकाको मृत्यु भएको सातौं दिनमा मंगलबार श्रद्धाञ्जली सभाका आयोजना गरी ५० हजार रुपैयाँको चेक विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदलाई हस्तान्तरण गर्नुभयो ।
पाण्डेले हिन्दु परम्पराअनुसार गरिने काजकिरिया नगरी श्रद्धाञ्जली सभाको आयोजना गरेर प्रगतिशील ढंगबाट काकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
राजमो नेता पाण्डे दम्पतीले यसअघि आफ्ना छोराको विवाह पनि प्रगतिशील ढंगले गर्नुका साथै सोही विद्यालयमा छात्रवृत्तिका लागि ५० हजार प्रदान गर्नुभएको थियो ।