डोटी । जिल्ला कारागार डोटीका कैदीबन्दीले सरकारले स्थापना गरेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग प्रदान गरेका छन् । कारागारमा रहेका ४९ कैदीबन्दीले दैनिक पाउने सुविधाबाट रु १० हजार ९५ जम्मा गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलमार्फत नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार खातामा जम्मा गरिएको जिल्ला कारागार प्रशासन प्रमुख राजन केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कारागारमा रहेका ४९ कैदीबन्दीले दैनिक पाउँदै आउने सुविधा रु ६० का दरले रु दुई हजार ९४० र अन्य कैदीबन्दीको व्यक्तिगत सहयोग रु पाँच हजार पाँच गरी जम्मा रु १० हजार ९५ प्रजिअमार्फत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार खातामा जम्मा गरिएको छ ।
कैदीबन्दीहरुले सहयोग गरेको रकम बुझ्दै प्रजिअ पौडेलले संसारमा कोरोना भाइरस महामारी भइरहेको अवस्थामा कैदीबन्दीहरुको यो सहयोगले सरकारलाई ठूलो सहयोग पुग्ने बताउनुभयो ।
कुल २५ कैदी राख्नसक्ने क्षमता भएको राणाकालमा निर्माण गरिएको जिल्ला कारागारमा हाल ४६ पुरुष र तीन महिलासहित ४९ कैदीबन्दी रहेका छन् । कैदीबन्दी संख्या बढी भएका कारण उनीहरुलाई दैनिक जीवनयापन गर्न निकै समस्या हुँदै आएको बताइएको छ ।