मोहन विक्रम सिंह ##
लेनिनले ‘सर्वहारा क्रान्ति र गद्दार काउस्की’ पुस्तकमा लेखेका छन्– कुनै पनि प्रतिक्रियावादी शक्ति सत्ताबाट च्यूत भएपछि त्यसले आफ्नो पहिलेको ‘स्वर्गीय’ जीवन वा सत्ताको पुनस्र्थापनाको लागि पूरा शक्ति लगाउँछ । फ्रान्समा त्यहाँको राजतन्त्रले त्यहाँ स्थापित भएको गणतन्त्रलाई समाप्त गरेर बारम्बार राजतन्त्रको पुनस्र्थापना गरेको इतिहास आम रूपमा थाहा भएको कुरा हो । निश्चय नै अन्त्यमा त्यहाँ राजतन्त्र सधैँको लागि समाप्त भयो र गणतन्त्र स्थायी रूपले कायम भयो ।
संसारका अन्य देशमा त्यस प्रकारका धेरै नै उदाहरण छन् । स्वयम् हाम्रो देशमा पनि त्यस प्रकारका घटना बारम्बार घट्ने गरेका छन् ।
२००७ सालको राजनीतिक परिवर्तनपछि राणा शासकले भरत शमशेरको नेतृत्वमा गोरखा परिषद् बनाएर राणा शासन पुनस्र्थापना गर्ने प्रयत्न गरेका थिए । त्यस सिलसिलामा उनीहरूले त्रिपुरेश्वरको वी.पी. कोइरालाको निवासस्थानमा गएर उनलाई हत्या गर्ने प्रयत्न पनि गरेका थिए । उनीहरूको त्यो प्रयत्न त सफल भएन तर २०१७ सालमा राजा महेन्द्रले संसदीय प्रणालीलाई समाप्त गरेर निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था कायम गरेका थिए । २०४६ सालको जनआन्दोलनपछि त्यो निरङ्कुश राजतन्त्र, पञ्चायती व्यवस्था र पञ्चायती शासन समाप्त भयो । त्यसपछि पनि राजावादीले बहुदलीय व्यवस्थालाई समाप्त गर्नको लागि लगातार प्रयत्न गरिरहे ।
हाम्रो पार्टीले २०४६ सालपछि प्रतिगमनको खतराका विरुद्ध बारम्बार जनताको ध्यान आकर्षित गर्ने प्रयत्न गरेको थियो तर देशका बहुदलीय व्यवस्थाका पक्षथर राजनीतिक शक्तिहरूको त्यसप्रति ध्यान गएन । यहाँसम्म कि स्वयम् कामरेड मोहन वैद्य किरणले पनि प्रतिगमनको खतरालाई हाँसोमा उदाउँदै लेखेका थिए– ‘राजा ७ कोस टाढा फलामको पिँजडामा थुनिएको बाघ हो । त्यसबाट के को डर ?’ तर प्रतिगमनको त्यो खतरा २०५९ सालमा सत्य सावित भयो । त्यसका विरुद्ध देशमा ठुलो जनआन्दोलन भयो र २०६२–६३ मा महान् जनआन्दोलन भयो र त्यसका कैयौँ उपलब्धि भए । जस्तै कि संविधान सभाको चुनाव, गणतन्त्रको स्थापना, धर्म निरपेक्षता आदि ।
जस्तो कि विश्वको इतिहासमा बारम्बार हुँदै आएको छ, कुनै पनि देशका शासक प्रतिक्रियावादीले स्वेच्छाले सत्ता छाड्दैनन् र एकपल्ट त्यो गुमिसकेपछि पनि लगातार त्यसको पुनस्र्थापनाका लागि प्रयत्न गरिरहन्छन् । त्यो विश्वव्यापी नियमअनुसार नेपालका राजावादीले पनि गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर राजतन्त्र पुनस्र्थापनाको लागि लगातार प्रयत्न गरिरहेका छन् ।
२०४६ सालपछि जस्तै गणतन्त्र, धर्मनिरपेक्षता पक्षधर शक्तिहरूले प्रतिगमनको त्यो खतरालाई गम्भीर रूपमा लिएको पाइँदैन ।
कतिपय वामपन्थी वा आफूलाई वामपन्थी बनाउन रुचाउने समूहले पनि प्रतिगामी शक्ति विरुद्धको सङ्घर्षलाई कमजोर पार्ने तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले त्यसलाई बल पुर्याउन प्रयत्न गरेको पाइन्छ । वास्तविकता यो हो कि आज वास्तवमा प्रतिगमनको खतरा २०१७ साल वा २०५९ सालमा भन्दा पनि बढी छ । पहिले दुवैपल्ट राजाले एक्लै नै बहुदलीय व्यवस्था समाप्त गरेर निरङ्कुश राजतन्त्रको पुनस्र्थापना गर्ने प्रयत्न गरेका थिए तर अहिले भारतका कट्टर हिन्दुवादी शासक वर्गले पनि नेपालका प्रतिगामी शक्तिलाई मदत पुर्याइरहेको छ ।
मङ्सिर ७ गतेको राजावादीहरूको प्रतिगामी आन्दोलनको सन्दर्भमा एमाले पनि उनीहरूका विरुद्ध मैदानमा अगाडि आएको देखिएको छ तर ओलीले बारम्बार दुई दुईपल्ट संसद् विघटन गरेर यो देखाएका छन् कि उनको मूल राजनीतिक दिशा पनि प्रतिगामी नै हो । संसारका कैयौँ देशमा प्रतिगमन वा तानाशाही व्यवस्था संसदीय राजनीतिक दिशाबाट पनि आउने गरेका कैयौँ उदाहरण छन् । \
जर्मनीको फासिवाद त्यसको एउटा उदाहरण हो । संसारमा त्यस प्रकार अरू पनि कैयौँ उदाहरण पाइन्छन् । त्यसैले एमालेले मङ्सिर ७ गतेको राजावादीको प्रदर्शनलाई विरोध गर्दैमा उनीहरूले प्रतिगामी दिशा छाडेको भन्न मिल्दैन । दुई दुई पल्ट संसद् विघटन गरेर उनले अफ्नो प्रतिगामी चरित्रको नाङ्गो प्रदर्शन गरिसकेका छन् । आउने दिनमा उनको त्यस प्रकारको चरित्र अरू कुनै रूपमा पनि अगाडि आउन सक्दछ । ओलीको कार्यशैलीमाथि विचार गर्दा एमाले पनि प्रतिगमन पक्षधर शक्ति नै भएको कुरा निश्चित रूपले भन्न सकिन्छ । त्यसरी अहिले समग्र रूपमा प्रतिगमनको खतरा पहिलेभन्दा गम्भीर भएको कुरामा कुनै शङ्का रहन्न ।
एमालेको नेतृत्वमा प्रतिगमन अब कुन रूपमा अगाडि आउ“छ ? त्यो त भविष्यमा नै थाहा हुने छ तैपनि त्यससम्बन्धी राजावादीको लाइन प्रष्ट छ : प्रथम– राजतन्त्रको पुनस्र्थापना, द्वितीय हिन्दु राष्ट्रको पुनस्र्थापना ।
देशमा राजतन्त्र समाप्त भयो तर उनीहरूको सामन्तवादी आधार कायम नै छ । देशमा राणा शासन, पञ्चायती शासन वा राजतन्त्रका विरुद्धको सङ्घर्षको क्रममा जनताको चेतना पहिले जस्तो छैन र त्यो धेरै माथि उठेको छ । त्यस प्रकारको पृष्ठभूमिमा यो कुरा निश्चित छ कि राजावादीको प्रतिगामी उद्देश्य सजिलैसित पूरा हुने छैन तैपनि प्रतिगमनको खतरालाई हल्का रूपमा लिनु सही हुने छैन । पुराना पञ्चको ठुलो समूह अझै पनि राजतन्त्रको पक्षमा छ । पुरातन संस्कृतिको ठुलो असर अझै पनि देशमा छ । उनीहरूले अझै पनि राजालाई भगवान्को अवतार ठान्दछन् । देशका विभिन्न भागमा राजा जाँदा जनताको ठुलो उपस्थितिले त्यो कुराको सङ्केत दिन्छ ।
कतिपय विदेशी साम्राज्यवादी शक्तिहरू, खास गरेर भारतीय साम्राज्यवादको समर्थनले पनि राजावादीलाई बल पुर्याउने गर्दछ । ती कुरामाथि विचार गर्दा प्रतिगमनको खतरालाई हल्का रूपमा लिनु अवश्य पनि सही हुने छैन ।
अहिले देशमा संसदीय प्रणाली छ । यो थाहा भएकै कुरा हो कि अहिले देशमा विद्यमान संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्याको समाधान हुन सक्दैन । त्योबाहेक विद्यमान व्यवस्थाका कतिपय गलत नीति, क्रियाकलाप र भ्रष्टाचारसमेतका कारणले त्यसप्रति जनतामा व्यापक असन्तोष र निराशा पनि छ । राजावादीले अहिले जनतामा भएका त्यस प्रकारका असन्तोष र निराशालाई दोहन गरेर सम्पूर्ण बहुदलीय व्यवस्था र गणतन्त्रप्रति नै जनतामा असन्तोष र विद्रोहका भावना पैदा गर्ने प्रयत्न गर्दछन् ।
संसारका विभिन्न देशको अनुभवबाट यो कुरा प्रस्ट हुने गरेको छ कि त्यस प्रकारको वातावरणले राजा, तानाशाह वा एक वा अर्को प्रकारको निरङ्कुश व्यवस्थालाई जन्म दिने गर्दछ । कतिपय अवस्थामा साम्प्रदायिकता वा जातिवादका कारणले पनि त्यस प्रकारको स्थिति उत्पन्न हुने गर्दछ । त्यही प्रकारको स्थितिमा जर्मनीमा हिटलरको जन्म भएको थियो । कट्टर हिन्दुवादी जनमानसले भारतमा मोदीको फासिवादी शासन कायम हुँदै गएको छ । नेपालमा पनि कट्टर हिन्दु पुरातनवादी धार्मिक सोचाइलाई दोहन गरेर राजावादीले राजतन्त्रको पुनस्र्थापना गर्ने प्रयत्न गर्दै छन् । यसबाट हामी यो कुरामा स्पष्ट हुनुपर्दछ कि संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्याको समाधान हुन सक्दैन । त्यसैले वर्तमान संसदीय प्रणालीको ठाउँमा अग्रगामी व्यवस्था कायम गर्ने प्रयत्न गर्नुपर्दछ ।
यो कुरामा हामी स्पष्ट हुनुपर्दछ : संसदीय प्रणालीमा भएका असङ्गतिको विकल्प प्रतिगमन, राजतन्त्र वा तानाशाही व्यवस्था होइन ।
अहिले राजावादीले जोडदार रूपले यो प्रचार गरेको पाइन्छ कि राजतन्त्रको स्थापना भएपछि नै देशमा शान्ति र सुव्यवस्था कायम हुन सक्दछ, राजनीतिक स्थिरता आउँछ देशको राष्ट्रियताको रक्षा हुन्छ; देशको विकास हुन्छ, जनताको कल्याण हुन्छ, आदि । ती सबै दावी कति झुट र निराधार छन् ? इतिहास वा तथ्यको केही मूल्याङ्कन गर्नेबित्तिकै प्रष्ट हुने छ ।
हाम्रा अगाडि निरङ्कुश राजतन्त्रका तीनओटा उदाहरण छन् : प्रथम– पहिलेको शाहकालीन शासन, द्वितीय– राणाशासन र तृतीय– पञ्चायती शासन ।
तीनओटै शासन तथा २०५९ पछिको अल्पकालीन निरङ्कुश शासन, ती सबै शासन र इतिहासले बताउँछन् । निरङ्कुश राजतन्त्र कति गलत, प्रतिक्रियावादी वा जनविरोधी हुन्छन् । अहिले राजावादीले निरङ्कुश राजतन्त्रको धेरै नै गुणगान गर्दै हिँडिरहेका छन् तर यो सबैलाई थाहा भएको कुरा हो कि शाहकाल वा राणाकालमा देशमा ठुलो पैमानामा हिंसा, हत्या र राजनीतिक अस्थिरता थियो ।
शाहकालमा कैयौँ काण्ड भएका थिए । भण्डारखाल पर्व, कोतपर्व, भीमसेन थापाको हत्या जस्ता घटनाबाट शाहकालको इतिहास भरिएको छ । त्यो बेला कैयौँ महिला वा केटाकेटीसम्मको निर्मम प्रकारले हत्या गरिन्थ्यो । दरबारमा लगातार निम्न भारदारको बिचमा गुटबन्दी चलिरहन्थ्यो र त्यो क्रममा कैयौँपल्ट हत्याकाण्ड भइरहन्थे । भीमसेनको हत्या पनि अत्यन्त निर्मम प्रकारको रहेको थियो ।
उनको सबै सम्पत्ति जफत् गरेर उनलाई जेलमा थुनिएको थियो र उनकी पत्नीलाई नाङ्गै बजारमा घुमाउने भनिएको थियो । भनिन्छ– त्यो अपमान सहन नसकेर उनले जेलभित्र नै आत्महत्या गरेका थिए । पछि उनको शरीरलाई कैयौँ टुक्रा पारेर कुकुरलाई खुवाइएको थियो ।
राणाकालमा पनि त्यस प्रकारका कैयौँ घटना भरिएका छन । अन्तमा आधुनिक कालको नारायणहिटी हत्याकाण्ड पनि सबैलाई थाहा भएको कुरा हो । यी केही उदाहरणबाट राजतन्त्रअन्तर्गत कति धेरै हत्या र हिंसा हुन्छ वा कति धेरै राजनीतिक अस्थिरता हुन्छ भन्ने कुरामा कुनै शङ्का रहन्न । अहिले त्यही प्रकारको शाहकालीन शासनकालको गुनगान गर्दै त्यसलाई पुन: ब्युत्याउने प्रयत्न गरिँदै छ ।
३० सालको पञ्चायती शासनअन्तर्गत देशव्यापी रूपमा भएका हत्या, हिंसा, महिलाको बलात्कार र हत्या, राष्ट्रको सम्पत्तिमा हिनामिना, भ्रष्टाचार, तस्करी, मण्डलेको गुण्डागर्दी आदि आम रूपमा थाहा भएका कुरा हुन । राष्ट्रियताको कुरा गर्ने हो भने पनि राजाले आफ्नो सत्ता वा गद्दीका लागि कैयौँ विदेशी शक्तिसित सौदाबाजी गरेका उदाहरणको पनि कमी छैन । राजा त्रिभुवनले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूसित नेपाललाई भारतमा मिलाउनको लागि अनुरोध गरेका कुरा नेपाल वा भारतका सञ्चारमाध्यमले बाहिर ल्याएको कुरा सर्वविदित नै छ । राजाको शासन भएको बेलामा नै भारतले कालापानीलाई कब्जा गरेको हो र त्यसका विरुद्ध नेपालका राजाहरूले कहिल्यै आवाज उठाएनन् । अहिले पनि नेपालमा गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनस्र्थापनाका लागि नेपालका पूर्व राजाहरूले भारतका कट्टरपन्थी हिन्दु शासक वर्गसँग सौदाबाजी गर्ने प्रयत्न गरिरहेका छन् । वास्तवमा राजाहरूलाई देशको स्वतन्त्रता वा राष्ट्रियता होइन, उनीहरूको सत्ता र गद्दी नै प्रमुख कुरा हुन्छ ।
हामीले यो कुरा स्वीकार गर्दै आएका छौँ कि नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको महत्त्वपूर्ण ऐतिहासिक योगदान रहेको छ ।
निश्चय नै उनी पनि एउटा सामन्ती राजा थिए र उनले नेपालमा विजयको क्रममा जनतामाथि कैयौँ अत्याचार गरेका थिए, जसमध्ये कीर्तिपुरमा उनले गरेका अत्याचार उल्लेखनीय छन् तर तैपनि यो कारणले हामीले उनको योगदानलाई स्वीकार गर्नुपर्दछ कि उनले नेपाल राज्यको निर्माण नगरेको भए नेपाल ब्रिटिस शासनअन्तर्गत हुन्थ्यो र नेपालको कुनै निर्णय, अस्तित्व बाँकी रहने थिएन तर उनको योगदानका कारणले उनका सबै सन्तान वा देशभक्तिको भावना थियो भन्न सकिन्न । शाह वंशको सम्पूर्ण इतिहासमाथि विचार गर्दा उनीहरू प्रतिक्रियावादी र जनविरोधी शक्ति नै भएको कुरामा कुनै शङ्का रहन्न ।
राजतन्त्र एउटा मध्ययुगीन व्यवस्था हो । त्यसको तुलनामा प्रजातन्त्र वा गणतन्त्र एउटा अग्रगामी फड्को हो । गणतन्त्रमा पनि कैयौँ असङ्गति वा कमजोरी हुन्छन् । त्यसकारण त्यसको ठाउँमा अरू उच्च प्रकारको र अग्रगामी व्यवस्था ल्याउन हामीले सङ्घर्ष गर्नुपर्दछ तर गणतन्त्रमा कैयौँ असङ्गति छन् भनेर राजतन्त्र वा निरङ्कुश शासनतिर फर्केर जानु वा अर्काे सरकारमा, प्रतिगमनतिरको बाटो समात्नु कुनै पनि अवस्थामा सही हुने छैन । पञ्चायती शासनसित सम्बन्ध जोडिएका मानिसले पुरानै व्यवस्था ल्याउन वा राजतन्त्रलाई फर्काउनलाई प्रयत्न गरेको पाइन्छ । अहिले पनि उनीहरूले इतिहासको धारालाई उल्टो दिशामा फर्काउने प्रयत्न गरिरहेका छन् ।
उनीहरूका त्यस प्रकारका प्रयत्न बारम्बार असफल हुने गरेका उदाहरण हाम्राअगाडि छन् । राणा शासन पुन: फर्केर आउन सक्दैन ।
पूर्व राजाले ४६ सालपछिको व्यवस्थालाई नै गलत बताएर त्यसभन्दा पहिलेको पञ्चायती व्यवस्थाको प्रशंसा गर्दै हिँडिरहेका छन् ।
जनचेतना र जनताको आन्दोलनको बलमा पञ्चायती शासन वा राजतन्त्रलाई पछाडि पार्दै इतिहास अगाडि बढ्दै आएको छ । हामीले इतिहासको त्यो क्रमलाई अरू अग्रगामी दिशामा बढाउने प्रयत्न गर्नु पर्दछ । इतिहासलाई पछाडि फर्काउनका लागि राजावादीले हिन्दु धर्मलाई हतियार बनाउने प्रयत्न गरेका छन् । नेपालमा हिन्दु धर्म मान्ने मानिस ठुलो सङ्ख्यामा छन् तर धर्म व्यक्तिगत आस्थाको कुरा हो र जनताले आफ्नो आस्थाअनुसार धर्मलाई मान्न सक्दछन् ।
संसारमा धेरैतिर प्रतिक्रियावादी वा साम्राज्यवादी शक्तिले धर्मलाई आफ्ना प्रतिक्रियावादी राजनीतिक उद्देश्य पूरा गर्नका लागि प्रयत्न गर्दै आएका छन् । इसाईले साम्राज्यवादको विस्तारका लागि इसु र इसाई धर्मलाई प्रयोग गर्दछन् । तालिवान र कट्टरपन्थी मुस्लिमले मध्ययुगीन व्यवस्था कायम गर्न मुस्लिम धर्मलाई उपयोग गर्दछन् । बौद्धमार्गीले संसारका कैयौँ देशमा प्रतिक्रियावादी व्यवस्था कायम गर्न बौद्ध धर्मलाई प्रयोग गर्दछन्; जस्तै कि बौद्ध धर्मको नाममा तिब्बतमा दलाई लामालाई पुनस्र्थापना गर्ने प्रयत्न गर्नु । त्यही प्रकारले नेपालमा राजतन्त्रको पुर्नस्थापनाका लागि राजावादीले हिन्दु धर्मलाई हतियारको रूपमा प्रयोग गर्ने गर्दछन् ।
सबै धर्मालम्बीले आफ्नो आस्थाअनुसार बेग्लाबेग्लै धर्मलाई मान्ने कुरालाई हामीले उनीहरूको धार्मिक स्वतन्त्रताको विषय मान्दछौँ र त्यसप्रति हाम्रो कुनै आपत्ति छैन तर कुनै पनि धर्मलाई एउटा वा अर्काे प्रतिक्रियावादी राजनीतिक उद्देश्य पूरा गर्नका लागि प्रयोग गर्ने कुरालाई हामीले गलत मान्छौँ र त्यसको विरोध गर्दछौँ ।