काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभाको अध्यक्षमा कसैलाई पनि भोट दिएन ।
२०८० फागुन २९ गते मङ्गलबार भएको राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा राजमो ‘नो भोट’ को अवस्थामा बसेको हो ।
राजमो सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले अहिले राष्ट्रिय सहमतिको दुवै उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा आफू पुगेको सांसद विश्वकर्माले सभाको बैठकमा बताउनुभयो ।
‘हामी दुवै उम्मेदवारलाई भोट नहाल्ने नो भोटमा अवस्थामा रहने निर्णयमा पुगेका छौँ’ उहाँले भन्नुभयो ।
सङ्क्षिप्त मन्तव्य राख्दै उहाँले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको धारणा राख्नुभयो ।
‘देशमा अझै पनि प्रतिगमनको खतरा छ’ उहाँले भन्नुभयो– ‘त्यसैले प्रतिगमन विरुद्धको साझा सहमतिको आधारमा यो चुनाव हुनुपर्दथ्यो । त्यस्तो नभएकाले अहिले हामी दुवै गठबन्धनलाई भोट नहाल्ने अवस्थामा पुगेका छौँ । नो भोटको अवस्थामा पुगेका छौँ ।
राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।
विपक्षी गठबन्धनले नेपाली काङ्ग्रेसका युवराज शर्मालाई उम्मेदवार बनाएको थियो ।
राष्ट्रियसभामा राजमोबाट विश्वकर्मा एक जना मात्रै सांसद हुनुहुन्छ ।