नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई प्रधानमन्त्री पदमा फर्किएकोमा बधाई दिनुभएको छ ।
आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताबिच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो ।
मतदानमा व्यापक धाँधली भएको दाबीपछि सरिफले सोमबार औपचारिक रूपमा दोस्रोपटक प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको थियो ।
पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का सेना समर्थित ७२ वर्षीय सरिफले सबैभन्दा धेरै सिट जित्ने कारागारमा रहनुभएका पूर्वप्रधानमन्त्री इमरान खानका वफादारलाई सरकारबाट बाहिर राख्न आफ्नो प्रतिद्वन्द्वी पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र धेरै दलसँग गठबन्धन गरेर सरकार बनाउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा भन्नुभएको छ– ‘पाकिस्तानका प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएकोमा शहबाजलाई बधाई ।’
भारत र पाकिस्तान लामो समयदेखि राजनीतिक तनावसँगै कट्टर प्रतिद्वन्द्वी हुन् । सन् १९४७ मा उपमहाद्वीपको विभाजनबाट अलग भएपछि दुवै मुलुकले तीन युद्ध र अन्य झडप व्यहोरेका छन् ।
भारतमा सरिफलाई उहाँका पूर्ववर्ती खानको तुलनामा नयाँदिल्लीप्रति अधिक मिलनसार व्यक्तिका रूपमा हेरिन्छ । वरिष्ठ पाकिस्तानी राजनीतिज्ञका रूपमा असामान्य रूपमा सरिफले सन् २०१३ मा भारतको भ्रमण गर्नुभएको थियो । त्यति बेला उहाँ पाकिस्तानको प्रभावशाली पञ्जाब प्रान्तको मुख्यमन्त्री हुनुहुन्थ्यो ।
उहाँले सीमाको भारतीय भूभागमा आफ्नो परिवारको पैतृक गाउँको भ्रमण गर्नुभयो र अन्य अधिकारीसँग नयाँदिल्लीमा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँग भेट गर्नुभयो ।
हिन्दु राष्ट्रवादी नेताका रूपमा सत्ता सम्हालेको एक वर्षपछि सन् २०१५ मा पाकिस्तानको आश्चर्यजनक भ्रमणका क्रममा मोदीले सरिफ परिवारको विवाहमा भाग लिनुभएको थियो । उहाँलाई तत्कालीन प्रधानमन्त्री एवम् सरिफका दाजु नवाजले स्वागत गर्नुभएको थियो । (रासस/एएफपी)