काबुल । पूर्वी अफगानिस्तानको एउटा फुटबल रङ्गशालामा बिहीबार दुई व्यक्तिलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको छ तालिबान सत्तामा फर्केपछिको यो तेस्रो र चौथो मृत्युदण्डको सजाय हो ।
गजनी प्रान्तका सूचना तथा संस्कृति विभागले एक सार्वजनिक सूचनामा “आँखाको बदला आँखा” सरहको किसास सजायको मृत्युदण्ड भएको बताएको छ यद्यपि प्रारम्भमा कैदी वा उनीहरूको अपराधका बारेमा विवरण दिइएको थिएन ।
सन् १९९६ देखि सन् २००१ सम्म तालिबानको पहिलो शासनको समयमा सार्वजनिक मृत्युदण्ड सामान्य थियो । सन् २०२१ अगस्तमा सत्तामा फिर्ता भएपछि तालिबानले अन्य दुई जनालाई मात्र मृत्युदण्ड दिएको छ । दुवै मृत्युदण्ड हत्याको अपराधका लागि थिए ।
चोरी, व्यभिचार र मदिरा सेवनसहित अन्य अपराधका लागि सार्वजनिक रूपमा कोर्रा हान्ने सजाय दिइने गरिएको छ । तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले गत वर्ष न्यायाधीशलाई सरियाका सबै पक्ष पूर्ण रूपमा कार्यान्वयन गर्न आदेश दिनुभएको थियो । यसमा किसासको सजाय पनि सामेल छ ।
अन्तिमपटक सन् २०२३ जुनमा मृत्युदण्ड दिइएको थियो । एक दोषी हत्यारालाई करिब दुई हजार मानिसको अगाडि लघमान प्रान्तको मस्जिदको मैदानमा गोली हानी मारिएको थियो । (रासस/एएफपी)