धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइएको छ।
शुक्रबार बसेको माओवादी सुदूरपश्चिम संसदीय दलको बैठकमा बहुमत जुटाएर भट्टलाई दलको नेताबाट निकालिएको हो।
भट्टइतर समूहका ६ सांसद भेला भएर उनको संसदीय दलको नेता पद खोसेका हुन्।
उनको स्थानमा दार्चुलाबाट निर्वाचित माओवादी सांसद मानबहादुर धामीलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको छ।
धामी यसअघि प्रमुख सचेतक थिए। अघिल्लोपटक उनी सुदूरपश्चिम प्रदेश सरकारमा वनमन्त्री पनि भएका थिए।
आफूलाई दलको नेताबाट हटाउने शुक्रबारको बैठकमा भट्ट भने उपस्थित थिएनन्।
माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले खबर गर्दा पनि भट्ट बैठकमा नआएको बताएका छन्।
सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित माओवादीका ११ सांसद छन्।
सांसद मानबहादुर धामी, राज्यमन्त्री गीता माल, सांसदहरु अक्कल रावल, ओमविक्रम भाट, शिवसिंह ओली र लक्ष्मी विकलाई भट्ट इतर समूहका हुन्।
उता भट्टलाई भने बहालवाला मन्त्रीद्वय रमेश धामी, झपड बहादुर साउँद र सांसद जानकीदेवी कुँवरको साथ छ।
