दिनेश रैदास, दाङ ।
बाँकेको नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बस दाङको भालुबाङनिर राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । ज्यान गुमाएकामध्ये ८ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
दाङका प्रहरी प्रमुख उपरीक्षक रामबहादुर केसीका अनुसार गएराति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो। तीमध्ये अहिलेसम्म ८ जनाको मात्र सनाखत भएको छ। अन्य मृतकको सनाखत हुन सकेको छैन।
शव लमहीस्थित लमही अस्पतालमा राखिएका छन् ।
दुर्घटनामा मृत्यु भएकामध्ये मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय र बाँकेको नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेतको सनाखत भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार पाँचवटा एम्बुलेन्समा घाइतेलाई शिक्षण अस्पताल ल्याइएको थियो ।
इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १०ः३० बजे राप्ती नदीमा खसेको हो। प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ।
२३ जना घाइते
इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार घाइते २३ जनालाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको छ ।
केही घाइतेहरू काठमाडौँका ११ वर्षीया अब्या पाण्डे, काठमाडौँ कालीमाटीका ३८ वर्षीय मन्जु शर्मा, बाँकेका २० वर्षीय निरञ्जन कोरी, बाँकेको नेपालगञ्ज बस्ने वर्षीय २४ को आशतोष गौतम, हाम फालेर बाँच्न सफल भएका छन् ।
अन्य घाइतेको अवस्था यस्तो छ
रौतहट बस्ने २६ वर्षीय सञ्जय कार्की, निधारमा र आँखामा चोट ।
बाँकेको कोहलपुर बस्ने वर्ष २१ को धनबहादुर पुनमगर, खुट्टा, हात र कम्मरमा चोट
भारतका २० वर्षीय छोटी सिलौटा, अवस्था गम्भीर
बर्दियाका २२ वर्षीय राजीव थारू, आन्तरिक रक्ताल्पता, बाँया हातमा चोट
जुम्लाका १९ वर्षीय विशाल बोहरा, मुखमा चोट
बाँकेका १८ वर्षीय दशरथ विक, हात, खुट्टा र निधारमा चोट
बाँकेका १९ वर्षीय नफिज खान, ढाड र कोखामा चोट
डोल्पाका ३५ वर्षीया धनकली बुढा, मुखमा चोट
बाँके राप्ती सोनारी–२ का ३१ वर्षीय कुलबहादुर गोसाई, सहचालक, ढाडमा चोट, गम्भीर
समिर नेपाली, चालक
काठमाडौं चखेवा बस्ने ४५ वर्षीय सुवास कार्की, ढाडमा चोट
बाँकेको नेपालगञ्ज बस्ने ३५ वर्षीया लिला वली, खुट्टामा चोट
बाँकेको नेपालगञ्ज बस्ने ६० वर्षीया कुसुम बस्नेत, ढाडमा चोक, मध्यम
बाँके बैजापुर बस्ने २१ वर्षीय शङ्कर थारू, खलासी, दाहिने हातमा चोट
भारत बस्ने वर्ष २३ का राहुल कुमार अहिर, दाहिने हात भाच्चिएको





