काठमाडौँ । कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताले काठमाडौँ मेडिकल कलेजमा स्वास्थ्य सेवा लिन पाउने भएका छन् ।
सञ्चयकर्तालाई कोषले सामाजिक सुरक्षा सुविधाअनुसार साधारण तथा घातक रोगको उपचार गर्न काठमाडौँ मेडिकल कलेजलाई पनि समावेश गरेको हो ।
कोषले एक सूचना प्रकाशित गरी आगामी फागुन १ गतेदेखि लागु हुने गरी विभिन्न अस्पतालको छनौट गरेको छ । छनौट गरिएका अस्पतालमध्ये काठमाडौँ मेडिकल कलेजसमेत परेको हो ।
केएमसीका जनरल म्यानेजर नारायण दाहालले कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताले केएमसीमा सहज रूपमा स्वास्थ्य सेवा लिन सक्ने बताए ।
कोषले जनाएअनुसारको कागजात लिएर केएमसीमा उपलब्ध जुनसुकै स्वास्थ्य सेवाको लाभ लिन सकिन्छ ।
कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष रु एक लाख तथा घातक रोगको हकमा सेवा अवधिभर रु १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएकोमा फागुन १ गतेदेखि लागु हुने गरी उपचार गराउने अस्पतालको सूची तयार पारेको छ । कोषले हाल साविकमा सञ्चयकर्तालाई मात्र स्वास्थ्य उपचार सुविधा दिएकोमा फागुन १ गतेदेखि लागु हुने गरी पतिरपत्नीलाई समेत समावेश गरेको छ ।
सूचीअनुसार कोषको स्वास्थ्य उपचार योजनाअन्तर्गतको सेवा पाउने अस्पतालमा केएमसीसँगै बागमती प्रदेशमा ६० ओटा, कोशी प्रदेशमा नोबेल मेडिकल कलेजसहित १६ ओटा, मधेस प्रदेशमा नेसनल मेडिकल कलेजसहित नौओटा, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित १५ ओटा, लुम्विनी प्रदेशमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित आठओटा कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल सुर्खेत, सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल सहित तीनओटा रहेका छन् ।