काठमाडौं । काठमाडौं मेडिकल कलेजले डा. विशद र दाहालमाथि लगाएको निलम्बन फिर्ता फिर्ता लिएको छ । काठमाडौं विश्वविद्यालयको रोहबरमा छलफल गरेर अस्पताल प्रशासन निलम्बन फिर्ता लिने निर्णय गरेको हो ।
बुधबार बिहान आन्दोलनरत आवासीय चिकित्सकको टोलीसँगको वार्तापछि अस्पताल प्रशासन निलम्बन फिर्ता लिन सहमत भएको हो ।
मंगलबार शिक्षा मन्त्रालयले दाहालमाथिको निलम्बन तत्काल फिर्ता गर्न काठमाडौं विश्वविद्यालयमार्फत केएमसीलाई निर्देशन दिएपछि आज बालकुमारीस्थित केयूको कार्यालयमा छलफल भएको थियो।
छलफलमा आन्दोलनरत आवासीय चिकित्सकको टोली र अस्पतालबीच निलम्बन फिर्ता लिने, कार्यविधि बनेपछि मात्र हेल्थ क्याम्प सञ्चालन गर्ने र त्यतिञ्जेललाई न्यून संख्यामा मात्र आवासीय चिकित्सकलाई क्याम्पमा खटाउने सहमति भएको डा. दाहालले बताए।
डा. दाहाल दुई सातादेखि अस्पतालले कानुनविपरीत आफूलाई निलम्बन गरेको भन्दै आन्दोलनरत थिए। आफूले पाठ्यक्रममै नभएको हेल्थ क्याम्पमा अस्पतालले मनोमानी ढंगबाट आवासीय चिकित्सकलाई प्रयोग गरेको विषय उठाउँदा अस्पतालले निलम्बन गरेको दाहालको भनाइ थियो।
अब भने हेल्थ क्याम्पको कार्यविधि बनेपछि मात्र अस्पतालले आवासीय चिकित्सकलाई क्याम्पमा खटाउन पाउने सहमति भएको दाहालले बताए। निलम्बन फिर्ता भएसँगै डा। दाहालले अस्पताल प्रवेश गरेका छन्।
