काठमडौं । नेकपा (मसाल) ले भारतलाई २० करोडसम्मका योजनामा सिधै लगानी गर्न पाउनेगरी सरकारले गरेको सम्झौताप्रति आपत्ति जनाएको छ ।
सम्झौताबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रियतामाथि गम्भीर आँच पुगेको मसालको ठहर छ ।
नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले शुक्रबार विज्ञप्ति जारी गरी ‘विकास योजनाको लगानी र खर्च सम्बन्धीको अधिकार नेपालको आन्तरिक मामिला हो र उक्त मामिलामा भारतलाई हस्तक्षेप गर्नका लागि सहमति गर्नु भारतको प्रभावलाई कायम गर्नु हो’ भन्नुभएको छ ।
वक्तव्यमा भनिएको छ
नेपाल–भारत बीच हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयनका लागि भएको सहमतिमा भारतले २० करोडसम्मका परियोजनामा सिधै लगानी गर्न पाउने उल्लेख छ । त्यसबाट नेपालको सार्वभौमिकता स्वतन्त्रता र राष्ट्रियतामाथि गम्भीर आँच पुगेको छ । नेपाल सरकारले त्यसरी नेपालका विभिन्न विकास योजना, आन्तरिक मामिला र लगानी सम्बन्धी भारतलाई रकम बाँडनका लागि अधिकार दिने भनी भएको सहमतिले देशको सार्वभौमिकता र राष्ट्रियतामाथि गम्भीर प्रहार गरेको कुरा स्पष्ट छ ।
भारतले नेपालका विभिन्न विकास योजनामा त्यसरी सिधै लगानी गर्न पाउनु भारतीय प्रभावलाई बढाएर लैजानु हो । विकास योजनाको लगानी र खर्च सम्बन्धीको अधिकार नेपालको आन्तरिक मामिला हो र उक्त मामिलामा भारतलाई हस्तक्षेप गर्नका लागि सहमति गर्नु भारतको प्रभावलाई कायम गर्नु हो । त्यसरी त्यो सहमति देशको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रियताका विरुद्ध रहेको कुरा स्पष्ट छ । हामीले त्यो राष्ट्रघाती सहमतिको विरोध गर्दछौँ र त्यसलाई रद्ध गर्नका लागि माग गर्दछौँ ।
२०८० पौष २० गते