काठमाडौँ । एमआरआई र सिटिस्क्यानको फ्युजनबाट काठमाडौँ मेडिकल कलेजमा विश्वमै दुर्लभ क्यान्सरको बिनाचिरफार सफल उपचार गरिएको छ ।
काठमाडौँ कपन बस्ने ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटरभन्दा सानो क्यान्सर नष्ट गरिएको हो ।
केएमसीले बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरेको हो ।
एक सेन्टिमेटरभन्दा सानो क्यान्सर पत्ता लगाएर बिनाचिरफार सफलतापूर्वक नष्ट गरिएको यो केस विश्वकै दुर्लभ रहेको उपचारमा संलग्न केएमसीका इन्टरभेसन रेडियोलोजी विशेषज्ञ डा. पङ्कज काफ्लेले दावी गरे ।
‘रगतको जाँच गर्दा क्यान्सर हो कि भन्ने शङ्का लाग्यो । त्यसपछि एमआरआई गरेर हेर्दा कलेजोमा १० मिलिमिटरभन्दा पनि सानो क्यान्सर देखियो‘ अत्यधिक मादक पदार्थ सेवनले कलेजो पनि बिग्रिएकोले रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिद्वारा क्यान्सर नष्ट गरिएको भन्दै डा. काफ्लेले भने ।
बिरामीलाई हेपाटाइटिस पोजेटिभसमेत भएकाले उपचार गर्नसमेत जोखिम देखिए पनि केएमसीका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल र डा. काफ्ले मिलेर क्यान्सर नष्ट गरेका हुन् । विश्वमै दुर्लभ यो केस नेपालका लागि पहिलो दुर्लभ केस रहेको जिकिर गरे ।
‘१० मिलिमिटरभन्दा साना क्यान्सरको उपचार विश्वमै दुर्लभ मानिन्छ । नेपालको सन्दर्भमा त यो पहिलो दुर्लभ केस हो’ डा काफ्लेले भने ।
अहिले बिरामीको अवस्था राम्रो रहेको छ । रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट बिना चिरफार क्यान्सर नष्ट गरिएकाले बिरामी आजभोलि नै डिस्चार्ज भएर घर जान सक्छन् । यस प्रविधिबाट उपचार गर्दा बिनाचिरफार, कडा औषधी, रेडियोथेरापी प्रयोग नगरीकन सहज रूपमा एकैछिनमा ट्युमरलाई नष्ट गर्न सकिन्छ ।
रेडियो फ्रिक्वेन्सी एब्लेसन राजधानीका केही अस्पतालमा रहे पनि अन्यत्रभन्दा केएमसीमा कम शुल्क लिएर उपचार गर्ने गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
‘हामीले सरकारी अस्पतालमा भन्दा सर्वसुलभ शुल्कमा यो प्रविधिमा क्यान्सरलगायत अन्य घातक रोगको उपचार गरिरहेका छौँ’ दाहालले भने ।

