काठमाडौं । आज (सोमबार) देखि लामो दूरीको यातायात बन्द भएको छ । छोटो दूरीका सवारी साधन भने सञ्चालन हुनेछन् । यस्तै, हिजोदेखि अन्तर्राष्ट्रिय उडान बन्द भएको छ । आन्तरिक उडान भने यथावत् रहनेछन् ।
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न सरकारले सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो भने देशभित्र पनि लामो दूरीको यातायात बन्द गर्ने निर्णय गरेको हो ।
लामो दूरीअन्तर्गत एक जिल्लाबाट अर्को जिल्लामा पनि गाडी चलाउन नपाइने महागरीय ट्राफिक महाशाखाले जनाएको छ । आज बिहानैदेखि काठमाडौंका सडक सुनसान देखिन थालेका छन् । सार्वजनिक सवारीसाधनको संख्या ह्वात्तै घटेको छ भने निजी सवारीसाधन पनि कमै चलेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरी आइतबारदेखि अन्तर्राष्ट्रिय उडान र आज (सोमबार) देखि लामो दूरीको यातायात बन्द गर्ने घोषणा गरेका थिए ।
कोरोना संक्रमणको डरले काठमाडौंबाट धेरै मासिन आफ्ना गृहजिल्ला फर्किएकाले यात्रुसमेत घटेको छ। बजारमा चहलपहल कम भएको छ । सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आह्वान गरेको छ ।
यसैगरी, आजदेखि सिमानाका एक हप्ताको लागि बन्द हुनेछन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सिमानाका बन्द गर्ने निर्णय गरेको हो।