काठमाडौँ । मालदिभ्सलाई हराउँदै घरेलु टोली नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा २०८० असोज ८ गते सोमबार भएको समूह ए को अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले अन्तिम चारमा स्थान बनाएको हो ।
योसँगै समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् ।
सेमिफाइनलमा नेपालले भारत र भुटानबिच एक टोलीसँग खेल्ने छ । आजै हुने समूह बी को अन्तिम खेलमा भारत र भुटान भिड्दै छन् ।
पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै ३ अङ्कमा समूह उपविजेताको रूपमा सेमिफाइनल पुगेको हो । पाकिस्तानसँग बराबरी गरेको मालदिभ्स १ अङ्कमा तालिकाको पुछारमा रहँदै समूह चरणबाटै बाहिरिएको छ ।
नेपालको जितमा समीर तामाङले दुई तथा प्रशान्त लक्सन र निराजन धामीले समान एक गोल गरे । खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्यो ।
खेलको छैटौँ मिनेटमा निराजन धामीको प्रहार पहिलो बारको नजिकबाट बाहिरिँदा नेपालले अग्रता बनाउने मौका गुमायो । त्यसको दुई मिनेटपछि नै निराजनकै प्रहार क्रसबारको थौरै माथिबाट बाहिरियो ।
खेलको सत्रौँ मिनेटमा प्रशान्त लक्सनको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो । खेलको सत्ताइसौँ मिनेटमा मालदिभ्सका कप्तान मोहम्मदको फ्री किक प्रहार नेपालका गोलरक्षक जियारथले सहजै बचाए ।
उनन्तिसौँ मिनेटमा निराजन धामीको थु्र पासमा पासमा समीर तामाङको उत्कृष्ट गोलमा नेपालले अग्रता दोब्बर पार्यो ।
खेलको चौतिसौँ मिनेटमा नेपाल र मालदिभ्स १० खेलाडीमा सीमित भए । नेपालका सुजन डङ्गोल र मालदिभ्सका कप्तान मोहम्मद यान हसनले सिधै रातो कार्ड खाँदै मैदान छाडे ।
मालदिभ्सका खेलाडीको लङक्रस प्रहार अफ बलमा नेपालका सुजनले मालदिभ्सका मोहम्मदलाई धकेलेका थिए । त्यही क्रममा दुवै खेलाडीबिच झगडा हुँदा रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।
खेलको अठासिऔँ मिनेटमा प्रशान्त लक्सामको क्रसमा निराजन धामीले गोल गर्दै नेपाललाई ३–१ को अवस्थामा ल्याए ।
इन्ज्युरी समयमा समीरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । दीपक थापामगरको क्रसमा समीरले हेडर गोल गरे ।

