काठमाडौँ । नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरू आन्दोलित भएका छन् ।
२०८० साउन २५ गते बिहीबार काठमाडौँको नयाँबानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भई मजदुर चालक स्वतन्त्र सङ्घर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा बोल्दै नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजका महासचिव दिलिपकुमार श्रेष्ठ निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेकोप्रति आफूहरूको असन्तुष्टि रहेको बताए ।
उनले निजी गाडीले सार्वजनिक सवारीको काम गर्नु यातायात व्यवस्था ऐन–२०४९ को दफा ८ र १२ विपरीत भएको बताए ।
उनले भने– ‘निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेको छ । त्यो यातायात व्यवस्था ऐन–२०४९ को दफा ८ र १२ विपरीत छ । त्यो विपरीत कार्य गर्न पाइँदैन । हामीले पटक पटक ज्ञापनपत्र बुझायौँ । कार्यान्वयन गर्छौं गर्नुभयो तर कार्यान्वयन भएन । यो सरासर कानुनअनुसार गलत छ । हाम्रा माग आम सर्वसाधारणले पनि थाहा पाउन् भनेर माग गर्न विरोध गरेका हौँ ।’
प्रदर्शनकारी यातायात मजदुरले काठमाडौँ उपत्यकामा ट्याक्सी स्ट्यान्ड व्यवस्थापन गरी साँचो खोस्ने, चालकलाई दुव्र्यवहार गर्ने काम बन्द गर्नुपर्ने, अङ्ग्रेजीमा लेखिएको इम्बोस्ड नम्बर खारेज गर्नुपर्ने, नेपाली अङ्क पहिचानसहितको नेपाली संवत् जिपिएस नम्बर कायम गर्नुपर्ने, तेस्रो पक्ष बिमाबाट दुर्घटना भएकोलाई सम्पूर्ण उपचार खर्च राज्यबाट लागु गरी मृत्यु भएमा २५ लाखको राहत प्रदान गर्नुपर्ने, ट्याक्सी मिटर सिल चुडिँदा गाडी साहु र चालक जेल जानुपर्ने कानुन खारेज गर्नुपर्ने जस्ता माग अघि सारेका छन् ।
त्यस्तै, नेपालभरका ट्याक्सी भाडादर एउटै कायम गरी अन्तर्राष्ट्रिय नीति लागु गर्नुपर्ने, नेपाल सरकारको मातहतमा एप्स जडान गरी सम्पूर्ण एप्स खारेज गर्नुपर्ने, एप्स र मिटरको भाडा बराबर गरी सञ्चालन गर्नुपर्ने, सम्पूर्ण गाडीको भन्सार २६० प्रतिशत छुट गरी यातायात सञ्चालन गर्नुपर्ने, यातायातका सेतो, पहेँलो, हरियो, निलो, रातो र कालो प्लेटको सम्मान व्यवहारगर्नुपर्ने लगायतका माग राखी बिरोध प्रदर्शन गरेका हुन् ।