काठमाडौं । लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री एवम् नेकपा एमालेका नेता विजयबहादुर यादव बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले यादवलाई पक्राउ गरेर रुपन्देही प्रहरीको जिम्मा लगाइएको जानकारी दिए।
प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार बैङ कसुर मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट जारी भएको पक्राउ पुर्जी प्राप्त भएपछि उनलाई पक्राउ गरेर पठाइएको हो।
यादवले रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवको नाममा १० माघ २०७० मा काटेको चेक अनादर भएको थियो। यादवले १२ लाख २८ हजार रुपैयाँ चेक काटेर दिए पनि पटक पटक बैंक जाँदा पर्याप्त मौज्दात नभएको देखिएपछि चेक अनादर (बाउन्स) भएको थियो।
भुक्तानीका लागि चेक लिएका यादवले प्रहरीमा पूर्वमन्त्री यादवविरुद्ध चेक अनादरको उजुरी दर्ता गरेका थिए।