जुमान सिंह केसी, प्युठान ।
राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिकाको प्रथम पालिका सम्मेलन सम्पन्न भएको छ। ठुलाबेसी बजारमा शनिबार सयौंको उपस्थितिमा जुलुश प्रदर्शनसहित सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि राजमोका लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्रीले देश झन् पछि झन् अप्ठ्यारोमा परेको बताउनु भयो । उहाँले नेपालका ठूला पार्टीहरु विदेशीको दलाल बन्दा नेपालमा थप समस्या पैदा भएको उहाँको भनाई थियो ।
‘देशमा भ्रष्टाचार ब्यप्त छ तर सरकार मौन छ । नेपालका युवाहरु विदेश पलायन भएका छ्न् । देशमा रोजगार सिर्जना गर्ने कुनै तयारी छैन’ उहाँले भन्नुभयो, ‘नेपालका पार्टीहरु जनताका समस्या समाधान भन्दा पनि आफ्ना निजी स्वार्थमा लागिरहेको आरोप लगाउनु भएको छ ।’
राजमोका केन्द्रीय सदस्य नारायण जिसीले पार्टीको सही नीति, विचार, सिद्धान्त भएका कारण अन्य पार्टीहरु आफ्नो पार्टीविरुद्ध लाग्ने गरेको बताउनु भएको छ । उहाँले अन्य पार्टीहरुले जनतामा झुट र भ्रम छरेर चुनाव जित्ने र खर्च गरेको पैसा उठाउन लागि परेको आरोप लगाउनु भयो।

अखिल नेपाल महिला संघका केन्द्रीय सचिव तारा जिसीले कानुनमा महिलाहरुलाई केही अधिकारहरु सुनिस्चित गरिएको भएपनि व्यबहारमा धेरै समस्या भएको बताउनुभयो । उहाँले सबै सचेत महिलाहरुलाई बुलन्द आवाज उठाउन अपिल पनि गर्नुभयो ।
नेकपा मसालका जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेले स्थानीय तहहरुमा चरम भ्रष्टाचार मौलाएको भन्दै जनतालाई खबरदारी गर्न आग्रह गर्नु भएको छ । उहाँले राजमो आम शोषित उत्पीडित जनताको दुखसुखमा सधै साथमा रहेको उल्लेख गर्नु भयो । अहिलेको बुर्जुवा गणतन्त्रबाट अझ अगाडि जानपर्ने आवस्यकता रहेको भन्दै थप आन्दोलन गर्नुपर्ने उल्लेख गर्नु भयो ।

गौमुखी गाउँपालिकाको ठुलाबेसीमा सम्पन्न भएको प्रथम सम्मेलनको बन्दशत्रले जनक केसीको अध्यक्षतामा १९ सदस्यीय गाउँपालिका संगठन समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष वीरबहादुर केसी, सचिव कृष्णप्रसाद जैशी र कोषध्यक्ष कल्पना कुँवर रहनु भएको छ।
गौमुखी गाउँपालिकाका सबै वार्डबाट पार्टीका नेता कार्याकर्ता, सुभचिन्तक हरुको सहभागीता रहेको थियो भने पार्टीका विभिन्न जनवर्गीय संघसंगठनका प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो ।
कृष्णप्रसाद जैशीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन बरुणध्वज मल्ल र अध्यक्षता जनक केसीले गर्नु भएको थियो ।