टेकराज भुसाल, बुटवल ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले अमेरिकी साम्राज्यवादको इण्डो प्यासिफिक रणनीति अन्तर्गतको एमसीसी सहायता अस्वीकार गर्न माग गरेको छ । आइतबार बुटवलको पुष्पलालचोकमा कार्यक्रम गरी अखिल (छैठौं) ले एमसीसी विरुद्ध प्रदर्शन गररेका हो ।
कार्यक्रममा बोल्दै अखिल (छैठौं) का केन्द्रीय सदस्य सरोजमान सिंहले देशलाई अमेरिकी साम्राज्यवादले आफ्नो क्याम्पमा लैजाने प्रयत्न गरिरहेको आरोप लगाउनुभयो । एमसीसी संसदबाट पास भए नेपाल साम्राज्यवादीको जालोमा फस्ने विद्यार्थी नेता सिंहको चेतावनी थियो ।
भारतीय साम्राज्यवादले नेपाललाई सिक्किमलाई जस्तै गरि निल्ने षड्यन्त्र गरिरहेको भन्दै सम्पूर्ण विद्यार्थी तथा आम जनसमूदायलाई साम्राज्यवादी षडयन्त्र विरुद्ध सडकमा उत्रिन आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा बोल्दै अखिल (छैठौं) रुपन्देहीका सचिव सागरले भारतीय तथा अमेरिकी साम्राज्यवादको हेपाहा प्रवृत्ति विरुद्ध एकजुट हुनुपर्ने बताउनुभयो । सीमा अतिक्रमण बिरुद्ध सरकारले समयमै कुटनीतिक समाधान नगरेमा आन्दोलन चर्काउने चेतावनी पनि दिनुभयो ।