काठमाडौँ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले प्रतिगमनको पराजय साझा आवश्यकता भएको बताउनुभएको छ ।
२०७९ कात्तिक ७ गते पाँचदलीय गठबन्धनको बागमती प्रदेश स्तरीय संयुक्त भेलामा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘हाम्रा मतभेद आफ्नै ठाउँमा छन्’ उहाँले अगाडि भन्नुभयो– ‘अहिलेको मुख्य आवश्यकता नेकपा (एमाले) को नेतृत्वमा देखा परेको प्रतिगमनलाई पराजित गर्नु हो ।’
उहाँले प्रतिगमनलाई पराजित नगरिकन २०६२–६३ सालको जनआन्दोलनका उपलब्धिको रक्षा हुन नसक्ने बताउनुभयो ।
‘प्रतिगमनले विजय हासिल गर्यो भने २०६२–६३ सालको जनआन्दोलनका उपलब्धि धरापमा पर्ने छ’ उहाँको भनाइ थियो ।
सम्बोधनको क्रममा उहाँले लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षता नेपाली जनताको लामो आन्दोलनको प्रतिफल भएको बताउनुभयो ।
‘जनताले लामो समयसम्मको आन्दोलनले लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षता हासिल गरेका हुन्’ उहाँले भन्नुभयो– ‘त्यसको रक्षाका लागि हामी पाँच दल एक भएका हौँ ।’
उहाँले आगामी मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगामी शक्तिलाई पराजित गरी प्रतिगमनको विरोध गरिरहेका पाँचदलीय गठबन्धनलाई विजय गराउनु देशको आवश्यकता रहेको बताउनुभयो ।
