• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मोहनविक्रम सिंहलाई जस्ताको तस्तै प्रस्तुत गर्ने कृति


  •   बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
  • प्रकाश थापामगर ##

    Advertisement

    निष्कर्ष

    नेपाली वाम आन्दोलनका वरिष्ठ व्यक्तित्व मोहनविक्रम सिंहलाई जस्ताको तस्तै प्रस्तुत गर्ने कृति हो, लेखक पुरीको भर्खरै प्रकाशित कृति “कम्युनिस्ट आन्दोलनमा मोहनविक्रम सिंह” । सिंहलाई विभिन्न लान्छना लगाएर आफै निष्ठामा बस्न नसकेका वा आलोचकलाई स्रोत बनाएर सिंहलाई विकृत स्वरूपमा प्रस्तुत गर्ने विभिन्न शोधार्थी वा लेखकमाझ यो कृतिको प्रकाशनले लेखक पुरीलाई बेग्लै स्थानमा उभ्याइदिन्छ । त्यस अर्थमा लेखकले सिंहको यथार्थ मूल्याङ्कन गरेका छन् ।

    पुस्तकको सारांशमा लेखिएको छ : “एउटै वाक्यमा सिंहबारे गरिएको मूल्याङ्कनको पूर्ण आकृति देख्न सकिन्छ : सानो पार्टीको नेतृत्व गरेर पनि विचारकै कारण सधैँभरि चर्चामा रहने र उनीमाथि विभिन्न आरोप लगाउने उनकै कतिपय सहयात्रीहरू आज कम्युनिस्ट आन्दोलनबाट हराउँदै जान थालेका छन्” (पृ. ५१) ।

    पुस्तकले नेपाली कम्युनिस्ट आन्दोलनको समयले बताएको यथार्थलाई पक्रेको छ । लेखकले पुस्तकमा कुनै खास र छोटो कालखण्डको होइन, लामो कालखण्ड (सम्भवतः सत्तरी वर्ष) को निष्कर्षलाई यस रूपमा प्रस्तुत गरेका छन् भन्न सकिन्छ ।

    त्यसैगरी, पुस्तकको अर्को स्थानमा भनिएको छ : “एकातिर, सत्तासुखका लागि कुनै पनि गलत राजनीतिक वा अराजनीतिक कार्यशैलीबाट आफूलाई अलग गर्दै, अर्कातिर, कम्युनिस्ट मूल्यमाथि आधारित भएर कम्युनिस्ट आन्दोलनभित्र उत्पन्न भएका गलत धारणा र प्रवृत्तिका विरुद्धको सङ्घर्षसहित छुट्टै परम्परालाई जीवन्त बनाएर आधा शताब्दीभन्दा बढी समयदेखि अविच्छिन्न रूपमा सङ्घर्षरत रहन सक्नु नेपाली कम्युनिस्ट आन्दोलनमा सिंहको विशिष्टता हो” (पृ. ४४९) ।

    पुस्तकमा सिंहबारे किटानी गरिएको अर्को यथार्थ यही हो । सिंह र त्यसभन्दा अगाडिका पुस्ता अब हामीसँग जीवित छैनन् भन्दा पनि हुन्छ ।

    उनको पुस्तामध्ये आजीवन क्रान्तिकारी आन्दोलनमा लाग्नेमध्ये पछिल्लो शीर्षस्थ व्यक्तित्व सिंह नै हुन् भन्न हामीले हिचकिचाउनु पर्ने छैन ।

    सिंहपछि अर्को त्यस्तो कुनै व्यक्तिले जब क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा निरन्तर क्रियाशील रहेको कीर्तिमान बनाउने छ, तब सिंहप्रतिको यस्तो विश्लेषण स्थितिबारे हामीले छलफल गरौँला । त्यसका विपरीत हालसम्मको वास्तविकता यही हो ः मोहनविक्रम सिंह नै हालसम्मका जीवितमध्ये आजीवन क्रान्तिकारी कम्युनिस्ट योद्धा हुन् । यतिखेर त्यस्तो अरू कुनै जीवित व्यक्तित्व नेपालमा हामीले भेट्याएका छैनौँ ।

    लेखक परिचय
    रामप्रकाश पुरी मूलतः कवि हुन् । उनको पछिल्लो कविताकृति “स्मृति” थियो । यो खण्डकाव्य कृति २०७१ सालमा प्रकाशित भएको थियो । उनका यसअघि “ग्रहण नलागोस्” (खण्डकाव्य), “विचरण”, “अक्षुण्ण” र “सङ्कल्प” महाकाव्य प्रकाशित भइसकेका छन् ।

    त्यसैगरी उनका “नानीकी आमा”, “सच्याइको गीत” र “वनमाराका बुटाहरू” उपन्यास प्रकाशित भइसकेका छन् । यसबाट उनी कविका साथै आख्यानकार पनि भएको देखिन्छ ।

    लेखक पुरी साहित्यकार मात्रै होइन, उनका सयौँ वैचारिक, सैद्धान्तिक लेख (निबन्ध) पनि प्रकाशित छन् । गत केही सालयता उनी नेकपा (मसाल) को केन्द्रीय प्रवक्ताको भूमिकामा रहनुका साथै पछिल्लो कृति “कम्युनिस्ट आन्दोलनमा मोहनविक्रम सिंह” यही २०७८ चैतमा प्रकाशित भएको छ । यसरी उनी साहित्यका साथै गैरआख्यान (ननफिक्सन) लेखन अर्थात् गम्भीर वैचारिक, सैद्धान्तिक लेखनमा पनि पोख्त लेखक हुन् भन्ने पुष्टि हुन्छ ।

    कृतिको बारेमा
    “कम्युनिस्ट आन्दोलनमा मोहनविक्रम सिंह” (व्यक्तित्व आयाम, वैचारिक विकासक्रम, सङ्घर्ष, योगदान र मूल्याङ्कन) भाग १ लेखक पुरीको सबैभन्दा पछिल्लो पुस्तक आकारको कृति हो । यो कृति मूलतः त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक सङ्कायअन्तर्गत इतिहास विषयको स्नातकोत्तर तह चौथो तथा दसौँ पत्र प्रयोजनका निमित्त इतिहास केन्द्रीय विभाग, कीर्तिपुरमा प्रस्तुत शोधपत्रमाथि आधारित छ ।

    शोत्रपत्रमा यसको शीर्षक “नेपालको कम्युनिस्ट आन्दोलनमा मोहनविक्रम सिंहको योगदान” थियो । कुल ६३२ पृष्ठमा विस्तारित डिमाइ आकारको यो कृतिको प्रकाशन वीरगाथा पब्लिकेसन प्रालि, काठमाडौँले गरेको हो । प्रारम्भिक पृष्ठ (प्रिपेज) १६ रहेको यस कृतिको मूल्य ने.रु. १,०००, भा.रु. ८०० र अमेरिकी डलर २० रहेको छ । प्रिपेजअन्तर्गत लेखकद्वारा गरिएको “कृतज्ञता ज्ञापन” र “लेखकीय” रहेको छ ।

    पुस्तक नेकपाको स्थापनादेखि तेस्रो महाधिवेशनसम्मका अभियन्ता, नेतृत्व, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक पुस्ताप्रति समर्पित छ ।

    पुस्तक लेखनको औचित्य
    मोहनविक्रम सिंह चर्चित वामपन्थी नेता हुन् । उनको विषयमा नेपालमा र नेपालबाहिर स्नातकोत्तर, विद्यावारिधी (पिएचडी) र अन्य विभिन्न सन्दर्भ र प्रयोजनका लागि थुप्रै शोध वा अध्ययन–अनुसन्धान गरिएका छन् । त्यसका बाबजुद पुरीले पुनः मोहनविक्रम सिंहकै विषयमा किन शोधशीर्षक स्वीकृत गराए ? त्यसको उत्तर प्रस्तुत कृतिमा दिइएको छ ।

    २०४२ सालमा मसाल प्रकाशन केन्द्रीय कार्यालयद्वारा प्रकाशित “अराजकतावादी व्यक्तिवाद : दक्षिणपन्थी अवसरवादको नेपाली आयाम” शीर्षकको पुस्तकमार्फत् सिंहमाथि एकतर्फी रूपमा आक्षेप लगाइएकाले;

    २०४७ सालमा मोहन वैद्यद्वारा लिखित पुस्तक “पाँचौँ महाधिवेशन जिन्दावाद” मा सिंहलाई फुटपरस्त सावित गर्ने प्रयास गरिएकाले;
    सोही वर्ष २०४७ सालमा भीम रावलद्वारा स्नातकोत्तरका लागि लिखित शोधपत्रमाथि आधारित पुस्तक “नेपालको साम्यवादी आन्दोलन : उद्भव र विकास” मा शोधसीमाका कारण सिंहको यथार्थ मूल्याङ्कन हुन नसकेकाले;

    २०५६ सालमा सुरेन्द्र केसीद्वारा विद्यावारिधीका लागि तयार पारिएको शोधपत्र “नेपाल कम्युनिस्ट आन्दोलनको इतिहास” मा पनि शोधसीमाका कारण सिंहको कम्युनिस्ट आन्दोलनमा योगदानसम्बन्धी विस्तृत चर्चा हुन नसकेकाले;

    २०५७ सालमा बालाराम पोख्रेलद्वारा लिखित त्रिवि नेपाली विभागअन्तर्गतको शोधपत्रमाथि आधारित पुस्तक “मोहनविक्रम सिंह ः जीवनी र व्यक्तित्व” मा साहित्यिक व्यक्तित्व र कृतिबारे मात्रै चर्चा गरिएकाले;

    २०५८ सालमा बालचन्द्र मिश्रद्वारा स्नातकोत्तरका लागि तयार पारिएको शोधमाथि आधारित पुस्तक “झापा आन्दोलनदेखि एमालेको विभाजनसम्म” मूलतः नेकपा (एमाले) को बारेमा केन्द्रित भएकाले;

    नेकपा (मसाल) केन्द्रीय कार्यालयद्वारा २०५९ सालमा प्रकाशित “रातो तरबार” अङ्क २ मा दस्तावेज सङ्ग्रह मात्रै भएको हुँदा सिंहको बारेमा चर्चा नभएकाले;

    अर्जुन कार्की र डेभिड सेडोनद्वारा सम्पादित र लिखित तथा सन् २००३ मा प्रकाशित पुस्तक “पिपुल्स वार इन नेपाल” मुख्यतः माओवादी सशस्त्र सङ्घर्षमाथि आधारित रहेर त्यसको अनुपयुक्ततामाथि केन्द्रित रहेकाले;

    भवानी पौडेलद्वारा २०६३ सालमा सम्पन्न गरिएको शोध “मोहनविक्रम सिंहको कविताको विश्लेषण” सिंहको कवितामाथि मात्रै केन्द्रित भएकाले;

    राजकुमार पोखरेलद्वारा सन् २००७ सालमा प्रकाशित विद्यावारिधी शोधमाथि आधारित पुस्तक “अ जर्नी अफ द कम्युनिस्ट्स अफ नेपाल” मा शोधसीमाका कारण सिंहको बारेमा आवश्यकताअनुसार चर्चा हुन नसकेकाले;

    प्रवीण मानन्धर र डेभिड सेडोनद्वारा सन् २०१० मा सम्पादित तथा लिखित पुस्तक “इन होप एन्ड इन फियर” मा पनि मुख्यतः माओवादी सशस्त्र सङ्घर्षसम्बन्धी लेख प्रकाशित गरिएकाले;

    कमला थापाद्वारा २०६८ सालमा सम्पन्न शोध “मोहनविक्रम सिंहको निबन्धकारिता” सिंहको निबन्धमाथि मात्रै केन्द्रित रहेकाले;
    धनप्रसाद पुनद्वारा २०७० सालमा सम्पन्न शोध “बाह्र मई नाटकको सङ्कथनात्मक विश्लेषण” विशुद्ध रूपमा सिंहको “बाह्र मई” नाटकमाथि केन्द्रित रहेकाले;

    फ्रान्सिसी लेखक मेरी लेकोम्टे तिलोइनद्वारा सम्पादित तथा सन् २०१३ मा प्रकाशित पुस्तक “रिभोल्युसन इन नेपाल” मा एउटा मात्र लेख सिंहसित सम्बन्धित रहेकाले र त्यसमा गरिएको चर्चा अपर्याप्त रहेकाले;

    डा. बेनोट केलमेलद्वारा सन् २०१३ मा नै लिखित “रिभोल्युसन इन नेपाल” पुस्तकभित्रको लेख “सी.पी.एन. मसाल बासन कम्युनिस्ट मिलिट्यान्सी इन प्युठान एन्ड इट्स इन्फ्लुयन्स अन द पिपुल्स वार” मा सिंहको राजनीतिक व्यक्तित्वको उजागर नभएकाले;

    डा. बेनोट केलमेलद्वारा सन् २०१५ मा फेन्च भाषामा सम्पन्न शोधमा “ले मुभमेन्ट माओइस्ट अउ नेपाल (१९४९–२००८” नेपालका साथै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सिंहको योगदानबारे चर्चा नगरिएकाले;

    दुर्गा पौडेलद्वारा २०७२ सालमा सम्पन्न स्नातकोत्तर शोध “प्युठान जिल्लामा कम्युनिस्ट आन्दोलनको विकासक्रम : एक अध्ययन” मा सिंहको प्युठानको कम्युनिस्ट आन्दोलनप्रतिको योगदानबारे मात्र चर्चा गरिएकाले;

    प्रस्तुत शीर्षकमा शोधकार्य गर्नुपरेको लेखक पुरीको स्पष्टोक्ति छ । त्यसका साथै त्रिवि र अन्य विद्यालयमा गरिएका शोध वा गत छ दशकयता लेखिएका वा अध्ययन–अनुसन्धान गरिएका लेख वा शोधमा सिंहको चित्तबुझ्दो मूल्याङ्कन नभएकाले प्रस्तुत शोधपुस्तक जन्मिएको लेखक पुरीको भनाइ छ ।

    पुस्तकको विषयवस्तु
    पुस्तक नौ अध्याय, चार परिशिष्ट र सन्दर्भ सामग्रीका साथ विस्तारित छ । त्यसका विषयवस्तु यस प्रकार छन् :
    अध्याय एक : पुस्तक सारांश । यस अध्यायमा पुस्तकको सारांश दिइएको छ ।

    अध्याय दुई : अध्ययन परिचय । यस अध्यायमा मोहनविक्रम सिंह को हुन् ? किन उनको विषयमा शोधपत्र नै तयार पार्नुप¥यो भन्नेबारे चर्चा गरिएको छ ।

    अध्याय तीन : पूर्व अध्ययनको समीक्षा । मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलन र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको समेत चर्चित व्यक्तित्व भएकाले उनका विषयमा धेरै शोध वा अध्ययन–अनुसन्धान गरिए पनि लेखकले पुनः किन सिंहलाई नै रोजे ? त्यसबारे हालसम्म प्रकाशित कृतिको विषयवस्तुमाथिको विवेचनासहित चर्चा गरिएको छ ।

    अध्याय चार : मोहनविक्रम सिंह—व्यक्ति र व्यक्तित्व । यस अध्यायमा सिंहको वंश, जन्म, बाल्यकाल र शिक्षा, विवाह र परिवार, सम्पत्ति, जीवनशैली, अध्ययन–अनुसन्धान, दैनिक राजनीतिक क्रियाकलाप र उनको बहुआयामिक व्यक्तित्वबारे उल्लेख गरिएको छ ।

    अध्याय पाँच : सिंहको वैचारिक विकासक्रमको सङ्क्षिप्त इतिहास । यस अध्यायमा सिंहको वैचारिक विकासका लागि उपयोगमा आएका स्रोत, सम्बन्ध र शिक्षा तथा विभिन्न विषयमा उनको धारणा र दृष्टिकोणबारे चर्चा गरिएको छ ।

    अध्याय छ : नेपाली कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास । यो अध्याय नेकपाको स्थापनादेखि नेकपा (मसाल) को आठौँ महाधिवेशनसम्मको इतिहासबारे सङ्क्षिप्त चर्चा गर्दै लेखिएको छ ।

    यसमा नेकपा स्थापनाको पृष्ठभूमि, नेकपाको स्थापना, नेकपाको प्रथम सम्मेलन, नेकपामाथिको प्रतिबन्ध, प्रथम महाधिवेशन, दोस्रो पार्टी सम्मेलन, दोस्रो महाधिवेशन, पहिलो आम निर्वाचन–२०१५ मा नेकपाको स्थिति, जनकपुर प्लेनम, २०१७ सालको कू र नेकपाको भूमिका, दरभङ्गा प्लेनम, तेस्रो महाधिवेशन र तेस्रो महाधिवेशनपछि पार्टीको अवस्थाबारे चर्चा गरिएको छ ।

    त्यस्तै, यसै अध्यायमा केन्द्रीय न्युक्लसको स्थापना, चौथो महाधिवेशन, चौथो महाधिवेशनपछि पार्टीको स्थिति, तेस्रो राष्ट्रिय सम्मेलन, पाँचौँ महाधिवेशन र विवाद र पाँचौँ महाधिवेशनपछि पार्टीमा फुटको कारणबारे लेखकले तथ्य राख्नुभएको छ ।

    एवम् प्रकारले यस अध्यायमा नेकपा (मसाल) को चौथो राष्ट्रिय सम्मेलन, २०४६ सालको जनआन्दोलनमा पार्टीको भूमिका, संविधान सभा चुनावका लागि २०४८ सालको आमचुनावको बहिष्कारसहितको सङ्घर्ष, पार्टी एकीकरणप्रति नेकपा (मसाल) को असहमति, पाँचौँ राष्ट्रिय सम्मेलन, पार्टीमा अराजकता र फुटपरस्त गतिविधि, छैटौँ राष्ट्रिय सम्मेलन, स्थानीय निर्वाचनको उपयोग, छैटौँ महाधिवेशन, छैटौँ

    महाधिवेशनपछि पार्टीको स्थिति, सातौँ राष्ट्रिय सम्मेलन, आठौँ राष्ट्रिय सम्मेलन र नेकपा (मसाल) र नेकपा (एकताकेन्द्र) बिच पार्टीएकता जस्ता विषय समावेश छन् ।

    सोही प्रकारले यस अध्यायमा नेकपा (एकताकेन्द्र–मसाल) मा फुट, फुटपछि मोहनविक्रम सिंह पक्षको स्थिति, प्रतिगमन विरुद्धको सङ्घर्षमा पार्टीको भूमिका, सातौँ महाधिवेशन, सातौँ महाधिवेशनपछि पार्टीको स्थिति, त्यसपछि आठौँ महाधिवेशन पूर्वका राष्ट्रिय भेला र तिनको महत्व र आठौँ महाधिवेशनबारे उल्लेख गरिएको छ ।

    अध्याय सात : योगदानको कसीमा मोहनविक्रम सिंह । यस अध्यायमा मोहनविक्रम सिंहको राजनैतिक र वैचारिक योगदान तथा तिनको मूल्य र स्थानबारे चर्चा गरिएको छ ।

    अध्याय आठ : सिंहको मूल्याङ्कन । यस अध्यायमा सिंहद्वारा कम्युनिस्ट आन्दोलनमा दिइएको योगदानको मूल्याङ्कन गरिएको छ । त्यसभन्दा अघि यस अध्यायमा सिंहका बारेमा विभिन्न बुझाइ र धारणा, आलोचना, विरोध, आरोप, आक्षेप वा लान्छना, गालीगलौज, चरित्रहत्या, घृणा र अफवाह, कमजोरी र सीमाबारे विभिन्न व्यक्ति तथा पक्षका धारणा उल्लेख गरिएको छ । त्यसका साथै यहाँ सिंहको बारेमा गरिएका विभिन्न मूल्याङ्कनबारे चर्चा गरिएको छ ।

    अध्याय नौ : अध्ययनको पुनर्ताजगी र निष्कर्ष । यो विषयवस्तु विवेचनाको क्रममा अन्तिम अध्याय हो । यसमा लेखकद्वारा आफूले गरेको अध्ययनको सङ्क्षिप्त विवेचना गरिएको छ । अर्को अर्थमा यो अध्याय शोध वा अध्ययनको पुनः निष्कर्ष हो ।

    लेखक पुरीले पुस्तकमा आफूले गरेको अध्ययनसित सम्बन्धित स्रोतहरू पुस्तकको पछिल्लो भागमा अर्थात् अध्याय नौपछि परिशिष्टको रूपमा दिएका छन् ।

    परिशिष्ट एक : यो अन्तर्वार्ता खण्ड हो । यसमा मोहनविक्रम सिंह, चित्रबहादुर केसी, मोहन वैद्य किरण, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, रामचन्द्र पौडेल, मोहनचन्द्र अधिकारी, रामसिंह श्रीस, रश्मीराज नेपाली, भैरव रेग्मी, खगुलाल गुरुङ, कृष्णराज पौडेल, शान्ता सिंह, दुर्गा पौडेल, सिद्धिमानसिंह घर्ती क्षेत्री र विद्यानाथ अधिकारीको अन्तर्वार्ता छ । यसमध्ये अरू सबै राजनीतिज्ञ हुन् भने विद्यानाथ अधिकारी पत्रकार हुन् ।

    परिशिष्ट दुई : यो अभिमत खण्ड हो । यसमा मोहनविक्रम सिंहको बारेमा विभिन्न व्यक्तित्वद्वारा व्यक्त अभिमत समावेश गरिएको छ ।

    अभिमत व्यक्त गर्नेहरूमा छन् : रामचन्द्र भट्ट, वोमबहादुर खत्री, जनकराज शर्मा, आनन्द शर्मा, मनोज भट्ट, अमर थापा, कृष्ण अधिकारी, सुरेश थापा, मीना पुन, दुर्गाबहादुर केसी, शेरबहादुर बिसी, हरि आचार्य, राजेश विश्वकर्मा, शङ्कर बराल, चन्द्रबहादुर केसी, दुर्गानाथ खरेल, काशीनाथ पोख्रेल, हिमलाल पुरी, बद्रे आलम, तिलक जिसी, कुलबहादुर थापा, प्राडा श्रीधर गौतम, डा. गोविन्द आचार्य, खेम थपलियाय, प्रकाश थापामगर र गोविन्द शर्मा ।

    परिशिष्ट तीन : यसमा मोहनविक्रम सिंहसित सम्बन्धित केही ऐतिहासिक चिठीपत्रको प्रतिलिपि समावेश गरिएको छ ।
    परिशिष्ट चार : यसमा सिंहसित सम्बन्धित सातओटा प्रतिनिधि तस्बिर समावेश गरिएको छ ।
    अन्तिममा पुस्तक लेखनसित सम्बन्धित सन्दर्भ सामग्री; जस्तै : पुस्तक, जर्नल, दस्तावेज, मुखपत्र, मन्तव्य, वक्तव्य, अपिल, परिपत्र, अन्तर्वार्ता, अप्रकाशित शोधपत्र, पत्रपत्रिका, अनलाइन मिडिया, चिठीपत्र, अन्तर्वार्ता र अभिमतकर्ताको नाम सामेल गरिएको छ ।

    सबल पक्ष
    प्रस्तुत पुस्तक मोहनविक्रम सिंहका साथै नेपाल कम्युनिस्ट पार्टीको इतिहाससित सम्बन्धित छ । खासगरी नेकपाको स्थापनासँगै सिंहको नेतृत्वसित सम्बन्धित रहेर केन्द्रीय न्युक्लसको गठन, २०४२ सालको पाँचौँ महाधिवेशन र फुट, २०५९ सालमा नेकपा (मसाल) र नेकपा (एकताकेन्द्र) माझको पार्टीएकता र फुट, २०६३ सालमा सातौँ महाधिवेशनमार्फत् नेकपा (मसाल) को पुनस्र्थापना हुँदै आठौँ महाधिवेशनसम्मको सङ्क्षिप्त इतिहास यस पुस्तकमा लिपिबद्ध गरिएको छ । सिंहको नेतृत्वमा नेकपा (मसाल) को अविच्छिन्न यात्रा अर्थात् नेपाली वाम आन्दोलनमा अतिवादका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट धारसम्बन्धी समझदारी कायम गर्ने हो भने यो पुस्तकले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको आठौँ महाधिवेशन (२०७६ जेठ) सम्मको इतिहासको बयान गर्दछ । यस अर्थमा मोहनविक्रम सिंहको योगदानसँग सिङ्गै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको तथ्य र सूचना यस पुस्तकभित्र समेटिएका छन् । पुस्तकको मूल सबल पक्ष यही हो ।
    फेरि पनि प्रस्तुत पुस्तकको सबल पक्षलाई यसरी बुँदाकृत गर्न सकिन्छ :

    १. वैचारिक स्पष्टता प्रस्तुत पुस्तकको सबैभन्दा महत्वपूर्ण पक्ष हो । पुस्तकमा सूक्ष्म वैचारिक विश्लेषण भएको देखिन्छ ।

    २. यस पुस्तकले मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) लाई क्रान्तिकारी कम्युनिस्ट मानेको छ । यसमा तथ्य छ किनकि अन्य वामपन्थी शक्ति दाया वा बाया अतिवादका सिकार भएका छन् तर नेकपा (मसाल) मात्रै अतिवादी गल्तीबाट बच्न सकेको छ ।

    ३. यस पुस्तकले मोहनविक्रम सिंहलाई क्रान्तिकारी व्यक्तित्व मानेको छ । यसमा पनि तथ्य छ । तमाम कमी–कमजोरीका बाबजुद सिंहकै नेतृत्वमा नेकपा (मसाल) ले सही राजनीतिक लाइन अपनाएकाले नेपालका अन्य वाम व्यक्तित्वमध्ये सिंह नै क्रान्तिकारी व्यक्तित्व भएको मान्नका लागि ठाउँ छ ।

    ४. पुस्तकले नेताका साथै नीतिलाई महत्व दिने तरिका अपनाएको छ । यदि गैरराजनीतिक शोधार्थीले यही शीर्षकमा शोधपत्र तयार पारेको भए बढी सम्भावना थियो : शोधमा सिंहका जीवनीवृत्त मात्र अटाउँथे; अझ बढी सम्भावना थियो : तथ्यहरू तोडमोड गरिएका हुन सक्दथे ।

    ५. जीवनीका साथै इतिहास वा गतिविधिलाई प्राथमिकता दिइनु पुस्तकको त्यस्तै अर्को सबल पक्ष हो । प्रस्तुत पुस्तकमा सबैभन्दा ठुलो आकार अध्याय सातको रहेको छ । त्यसमा सिंहको वैचारिक–राजनीतिक योगदानबारे चर्चा गरिएको छ । त्यसका लागि १३४ पृष्ठ खर्च गरिएको छ ।

    त्यसभन्दा दोस्रो सानो आकार अध्याय छको रहेको छ । त्यसमा नेपाली कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहासबारे चर्चा गरिएको छ ।

    यसमा लेखकद्वारा ४३ ओटा उपशीर्षकअन्तर्गत रहेर नेकपा (मसाल) को इतिहासबारे तथ्य, सूचना र गतिविधि प्रस्तुत गरिएको छ ।
    ६. पुस्तकको स्रोत सही चयन गरिएको छ । पुस्तकको औचित्य अर्थात् शोधकार्यको औचित्य निश्चित गरिसकेपछि लेखकले जति पनि अन्तर्वार्ता र अभिमतकर्तालाई स्रोतव्यक्ति छानेका छन्, तीमध्ये सिंहका समकालीन व्यक्तित्वका साथै मसाल वृत्तभित्रैका बढी छन् । यदि त्यसका विपरीत मसाल वृत्तभन्दा बाहिरका वा मसाल विरोधी व्यक्तित्वलाई स्रोतको रूपमा छानिएको भए पुस्तकले सही निष्कर्ष दिन सक्दैनथ्यो ।

    ७. लेखकले आफूले अन्तर्वार्ता वा अभिमत लिएका सामग्रीलाई जस्ताको तस्तै प्रस्तुत गरेका छन् । त्यसबाट लेखकमा रहेको कडा इमान्दारितालाई ठम्याउन सकिन्छ । पाठकले मूल विषयवस्तुका साथै परिशिष्टमा राखिएका यी सामग्रीबाट पनि प्रशस्त लाभ उठाउन सक्ने अवस्था छ ।

    कमजोर पक्ष
    प्रस्तुत पुस्तकको सन्दर्भमा पक्कै पनि पुस्तकको सबल पक्षको तुलनामा कमजोरी गौण पक्ष हो । फेरि पनि अशुद्धि न्यूनीकरण गर्नु सबै लेखक, साहित्यकारका लागि हितकर हुन्छ । त्यसकारण यहाँ केही कमजोरी औल्याइएको छ ।

    १. भाषा–व्याकरणसम्बन्धी अशुद्धि प्रस्तुत पुस्तकको कमजोर पक्ष हो । डा. दीपक गौतमले लेखकको “विचरण” महाकाव्यको समीक्षा गर्दै लेखेका थिए : “महाकविले भाषिक, तथ्याङ्कीयलगायत थुप्रै कुरामा शुद्धीकरणमा जोड दिनु सान्दर्भिक लागेको छ । प्रस्तुत विश्लेष्य महाकाव्यमा पनि महाकाव्यकै मुखमा महाकाव्य लेखनमा अशुद्धि, एउटै पेजमा पनि मदेस, मधेस, मधेश जस्ता वर्णविन्यास, अपरम्परित छन्दको प्रयोग, शब्दकोषमा भेट्याउन नसकिने शब्दको प्रयोग, तत्सम शब्दको प्रयोगमा अधिकताले महाकाव्य गाहारो बन्न पुगेको छ ।”

    डा. गौतमले २०७५ सालमा लेखक पुरीको रचनामा यस्ता कमजोरी औल्याएका थिए । त्यस्ता कमजोरी प्रस्तुत पुस्तकमा अहिले पनि यथावत छन् । अझै पनि शब्दकोशमा नभेटिने शब्दको प्रयोग भएको छ । तद्भवीकरण नभइसकेका आगन्तुक शब्दको प्रयोग प्रशस्त छ । पदयोग, पदवियोग, श, ष र स तथा व र ब को प्रयोग, ह्रस्वदीर्घसम्बन्धी समस्या यस कृतिमा छन् ।

    २. लेखकले अध्याय छ मा नेपाली कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहासबारे उल्लेख गर्दै गर्दा २०५१ सालभन्दा पछि र २०५७ सालभन्दा अगाडिका गतिविधिबारे ध्यान कम पुगेको छ । यस सन्दर्भमा २०५६ सालको चुनावमा नेकपा (मसाल) को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाको सफलता उल्लेखनीय छ ।

    ३. स्रोतव्यक्तिको सन्दर्भमा कतिपय स्थानमा अनावश्यक रूपमा “प्राडा” उल्लेख गरिएको छ । उदाहरणका लागि ‘प्राडा सुरेन्द्र केसीको विद्यावारिधी शोध’ जस्ता वाक्य प्रयोगमा ल्याइएको छ । पक्कै पनि विद्यावारिधी गरिसकेपछि नै सुरेन्द्र केसीले ‘डा’ लेख्न मिल्ने होला । विद्यावारिधी गर्दै गर्दा कोही पनि ‘डा’ हुदैन । त्यस्तै स्थिति ‘उपप्र’ गोविन्द आचार्यको बारेमा पनि लागु हुन्छ ।

    ४. कतिपय स्थानमा अत्यन्तै हल्का शब्द प्रयोगमा आएको छ । यद्यपि लेखकको मनसाय त्यस्तो हुँदै होइन भन्ने प्रष्टै छ । जस्तै : “सिंहले कम्युनिस्ट मूल्यमाथि कहिल्यै उटपट्याङ गरेनन्” (पृ. १९–२०) । यहाँ “उटपट्याङ” को स्थानमा अरू शिष्ट शब्द प्रयोग गरेको हुन्थ्यो ।

    त्यसैगरी, उनले अर्को स्थानमा लेखेका छन् : “उनलाई (सिंहलाई) पिएचडीको पनि भूत चढेको तथ्य यो कुराबाट स्पष्ट हुन्छ” (पृ. ७१) । यहाँ “भूत चढेको” जस्ता शब्दको स्थानमा वैकल्पिक शब्द प्रयोग गर्न सकिन्थ्यो भन्ने पनि प्रष्टै छ ।

    ५. पुस्तकमा शोधसीमाभित्र रहेर प्राज्ञिक शैली अपनाउन खोज्दाखोज्दै पनि कतिपय स्थानमा पार्टीप्रवक्ताको रूपमा महामन्त्रीप्रतिको स्वाभाविक श्रद्धा झल्किन पुगेको छ । यसले गर्दा प्रस्तुत पुस्तकले कतै कतै शोधको सीमा नाघेको हो कि भन्ने शङ्का उत्पन्न हुन्छ ।

    ६. सन्दर्भ सामग्री पूरै नै ए.पी.ए. फम्र्याटअनुरूप हुन सकेको छैन; जस्तै : प्रकाशन स्थान पहिला र त्यसपछि मात्र प्रकाशकको नाम हुनुपर्नेमा त्यसको ठिक उल्टो भएको छ । सन्दर्भ सामग्रीको “नेपाली पुस्तक” अन्तर्गत मोहनविक्रम सिंहको पुस्तकलाई पुनः उल्लेख गर्दा ‘” ” हुनुपर्नेमा “…..” हुन पुगेको छ । त्यसले लेखकको नाम थाहा नलागेको अर्थ दिन्छ ।

    ७. पुस्तकको एक स्थानमा तथ्याङ्क मिलेको छैन (पृ. ९१) । केन्द्रीय न्युक्लसमा जम्मा ९ जना सदस्य रहेको र त्यसमध्ये ६ जनाले न्युक्लसको उद्देश्य त्यागेको बताइएको छ । त्यसपछि बाँकी तीन जना रहनुपर्ने हुन्छ तर यहाँ चार जना बाँकी रहन्छन् : मोहनविक्रम सिंह, निर्मल लामा, जयगोविन्द साह र चित्रबहादुर केसी । तथ्य के हो ?

    समापन
    सामाजिक परिवर्तनको पक्षमा आजीवन क्रियाशील रहेका व्यक्तित्वका बारेमा शोध गर्नु अत्यन्तै राम्रो काम हो । यस्तै गम्भीर काम लेखक पुरीले गरेका छन् । यस दिशामा अरू पनि शोधार्थी वा लेखकहरूले काम गर्नुपर्ने आवश्यकता छ । लेखक पुरीले जसरी स्पष्ट वैचारिक दृष्टिकोणका साथ मोहनविक्रम सिंहका साथै नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास उठाएका छन्, त्यो स्वागतयोग्य छ । यस आधारमा लेखक पुरीबाट आगामी समयमा यस्तै अरू गम्भीर कृतिको अपेक्षा गर्नु अन्यथा हुने छैन । लेखक पुरीको लेखनयात्रा अरू उच्च स्तरमा अगाडि बढोस् । प्रगतिको शुभकामना ।

    सन्दर्भसूची
    गौतम, डा. दीपक (२०७५). महाकाव्य अध्ययन, (प्रथम संस्क.). सुर्खेत : लेखक स्वयम् ।
    पुरी, रामप्रकाश (२०७८). कम्युनिस्ट आन्दोलनमा मोहनविक्रम सिंह. काठमाडौँ:  वीरगाथा पब्लिकेसन ।
    पुरी, रामप्रकाश (२०७१). स्मृति (खण्डकाव्य), काठमाडौँ : विष्णु ओली ।

    बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.