काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी ओलीलाई देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुने कुरा ‘स्मरण’ गराउनुभएको छ ।
अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पास गर्ने क्रममा बोल्दा आफूलाई ओलीले हिरो बन्न खोजेको भनेकोमा रावलको यस्तो जवाफ आएको हो ।
रावलले ओलीलाई राष्ट्रियताको पक्षमा बोलेर आफैँ महाहिरो बन्न पनि सुझाव दिनुभएको छ । रावलले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्य अनुरुप आफूले बोलेको बताउनुभयो ।
‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा संसदमा बोल्दा मैले ‘हिरो’हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैँ देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुने थिएँ’,उहाँले भन्नुभएको छ, ’देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया !’
अध्यक्ष ओलीले मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टी निर्णयविपरीत बोलेर आफूलाई हिरो देखाउन खोजेको बताएपछि रावलले जवाफ फर्काउनुभएको हो ।
उहाँले आफूलाई एमाले सल्लाहकार परिषद्को सदस्यमा राखिएको कुरा दुई महिनाअघि नै अस्वीकार गरेको पनि फेरि दोहोर्याउनुभएको छ ।
राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।
— Dr. Bhim Rawal (@BhimRawal179) March 2, 2022