काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले विवादित अमेरिकी सहायता परियोजना एमसीसी स्वीकार गर्ने निर्णय गरेपछि माओवादीभित्र चर्को असन्तुष्टि बढेको छ । एमसीसी परियोजना स्वीकार गर्ने विषयमा पाँच नेताले असहमति राखेर छुट्टै छलफल थालेका छन् ।
वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेलले एमसीसी परियोजनालाई स्वीकार गर्ने अध्यक्ष प्रचण्डको प्रस्तावमा असहमति जनाउनुभएको हो ।
आइतबार बिहान बसेको माओवादी केन्द्रको पूर्वस्थायी समितिको बैठकले एमसीसीमा भएका राष्ट्रिय हितविपरीतका प्रावधान परिमार्जन/संशोधनसहित पारित गर्न सकिने निर्णय गरेको छ । यद्यपी अमेरिकाले एमसीसीका कुनै प्रावधानमा संशोधन नहुने स्पष्ट पारिसकेको छ ।
माओवादी केन्द्रको यसअघि बसेको पूर्वस्थायी समिति बैठकले संशोधन र परिमार्जन नगरी एमसीसी अगाडि बढाउन नसकिने भनिरहेको थियो।
प्रचण्डले एमसीसी पास गरेर जाने प्रस्ताव ल्याएपछि पार्टीका पाँच नेताले असहमति जनाउँदै अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका हुन् ।