रामप्रसाद पौडेल, हैदरावाद (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले एक बिरामीलाई चार लाख ४१ हजार पाँच सय ६३ रुपिया (भारु दुई लाख ७५ हजार नौ सय ७७) आर्थिक सहयोग गरेको छ ।
बागलुङ बरेङ गाउँपालिका–३ खाल्ले चिप्लेटी घर भई भारतको हैदरावादमा अस्थायी नोकरी गर्दै आउनुभएका बुबा धनिश्वर पौडेल र आमा जमुना पौडेलकी छोरी कोपिला पौडेललाई एकता समाजले सहयोग गरेको हो ।
अचानक नसासम्बन्धी बिरामी हुनुभएको तर उपचारका लागि आर्थिक स्थिति अत्यन्तै नाजुक रहेकाले अवस्थामा एकता समाजको मध्यदक्षिण क्षेत्रीय समितिले “कोपिला बचाऊ अभियान” सञ्चालन गरी फेबु्रअरी १८, २०२२ का दिन निज कोपिला पौडेललाई रकम हस्तान्तरण गरिएको थियो ।
रामप्रसाद पौडेलको अध्यक्षता, घनश्याम शर्माको सञ्चालनमा सम्पन्न सो औपचारिक कार्यक्रममा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलको प्रमुख उपस्थिति रहेको थियो ।
सो अवसरमा कोपिलाकी बाबु धनिश्वर पौडेलले एकता समाजलाई धन्यवाद दिनुभएको थियो भने आमा जमुना पौडेलले पनि सङ्गठनले आफ्नो छोरीको उपचारका लागि आर्थिक सहयोग गरेकोमा आभार प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा मध्यदक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेल, सचिव तिलक राना, कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्यहरू सूर्यबहादुर थापा, पुष्पा पौडेल, लालबहादुर थापा, धनबहादुर थापा, खेम परियार, मोहनलाल शर्मा, नगर समितिका यामबहादुर थापा, नरेन्द्र शर्मालगायतको उपस्थिति रहेको थियो ।

