ढाका, ६ असोज । पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको तस्बिर ढाका विश्वविद्यालयको नयाँ सङ्ग्रहालयमा राखिएपछि बङ्गलादेशमा इतिहासको व्याख्या, राष्ट्रियता, धर्म र भाषासँग जोडिएको विवाद चर्किएको छ । सङ्ग्रहालयमा राखिएको तस्बिर विद्यार्थीले हटाएर च्यातेपछि यस विषयमा नयाँ बहस सुरु भएको हो ।
विश्वविद्यालयका विद्यार्थी अबु तैयब हाबिलदारले जिन्ना पाकिस्तानका संस्थापक भए पनि बङ्गाली भाषा र अधिकारको विरोध गरेकाले बङ्गलादेशमा उहाँको भूमिकालाई फरक रूपमा हेरिनुपर्ने बताउनुभयो ।
सन् १९४७ मा भारत विभाजनपछि पाकिस्तानको पूर्वी र पश्चिमी भागका रूपमा रहेका बङ्गलादेश र पाकिस्तान सन् १९७१ को युद्धपछि अलग भएका थिए । उक्त युद्धमा पाकिस्तानी सेनाबाट व्यापक अत्याचार भएको आरोप लाग्दै आएको छ ।
जिन्नाको मुस्लिम राष्ट्र निर्माणसम्बन्धी अभियानका कारण उहाँको विरासत बङ्गलादेशमा विवादित रहँदै आएको छ । राजनीतिक विश्लेषक अल्ताफ परवेजले इस्लामवादी राजनीतिमा नयाँ प्रतीकको खोजीका कारण जिन्नाको चर्चा बढेको बताउनुभयो ।
ढाका विश्वविद्यालय केन्द्रीय विद्यार्थी सङ्घ (डियुसिएसयु) ले भने जिन्नाको तस्बिर विश्वविद्यालयको इतिहासका विभिन्न घटनालाई समयअनुसार प्रस्तुत गरिएको प्रदर्शनीको हिस्सा भएको जनाएको छ । सङ्घका नेता एसएम फरहादले इतिहासका घटनालाई प्रदर्शन गर्नु गलत नभएको बताउँदै तस्बिर तोडफोडको आलोचना गर्नुभयो ।
सङ्ग्रहालयमा जिन्नाका तीन तस्बिर राखिएका थिए । तीमध्ये एउटा सन् १९४८ मा ढाकामा उर्दूलाई पाकिस्तानको एकमात्र राज्यभाषा बनाउने धारणा व्यक्त गर्नुभएको घटनासँग सम्बन्धित थियो । आलोचकहरूले जिन्नालाई प्रमुख स्थान दिँदा भाषा आन्दोलन र स्वतन्त्रता सङ्घर्षमा शेख मुजीबुर रहमानको भूमिकालाई ओझेलमा पारिएको आरोप लगाएका छन् ।
सन् २०२४ मा शेख मुजीबकी छोरी तथा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार विद्यार्थी आन्दोलनपछि अपदस्थ भएपछि बङ्गलादेशमा राजनीतिक इतिहास र नेताहरूको विरासतबारे नयाँ बहस सुरु भएको छ । फरहादले सङ्ग्रहालयलाई नयाँ सन्दर्भअनुसार अद्यावधिक गरिएको बताउनुभयो । तर विद्यार्थी महाफुजुर रहमानले जिन्ना इतिहासको हिस्सा भएकाले उहाँको तस्बिर हटाउनु उचित नभएको बताउनुभयो ।

