काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) तत्काल संसदमा टेबुल नहुने भएको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहमति नभएपछि एमसीसी तत्कालका लागि संसदमा प्रस्तुत नहुने भएको हो ।
बैठकमा सहभागी केही राजनीतिक दलहरुले सत्तारुढ दलहरुबीच सहमति पछि मात्रै संसदमा लैजान सुझाव दिएका थिए । तर, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी खारेजीमै जोड दिएका थिए ।
बैठकमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले एमसीसी अमेरिकी इन्डोप्यासिफिक रणनीतिको अंग हो भन्ने कुरा प्रष्ट हुँदा हुँदै नेपाल त्यसमा मुछिन नहुने बताउनुभयो ।
‘एमसीसी आईपीएसको अंग हो भन्ने प्रष्ट छ । अहिले विश्वका दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनबीच एक प्रकारको शीतयुद्ध चलिरहेको बेला नेपालले विवादित सहयोग स्वीकार गर्नु अमेरिकाको पक्ष लिनु हो’ बैठकमा राखेका धारणाबारे भट्टले भन्नुभयो, ‘नेपाल आफ्नो असंलग्न परराष्ट्र नीति विपरित कुनै पनि शक्ति राष्ट्रको रणनीतिमा मुछिनु हुँदैन । त्यसकारण एमसीसी खारेज गरिदिनुपर्छ ।’
बैठकमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले राष्ट्रहित विपरितका प्रावधान हटाएर संसदमा पेश गर्न सकिने धारणा राखेका थिए । एकीकृत समाजवादीका सर्वमान्य नेता झलनाथ खनाल र माओवादी नेता नारायणकाजी श्रेष्ठले एमसीसीका राष्ट्रहित विपरितका प्रावधान हटाउनुपर्नेमा दृढतापूर्वक धारणा राखेपनि माओवादी अध्यक्ष प्रचण्डले भने दृढता प्रकट गर्न नसकेको भट्टले बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट एमसीसी पास गर्नुपर्ने कारणबारे बैठकमा पूर्वअर्थमन्त्री डा. रामशरण महतले ब्याख्या गरेका थिए।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी भएको थिएन । सर्वदलीय बैठक अघि पाँच दलीय गठबन्धनको बैठक बसेको थियो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सर्वमान्य नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता नारायणकाजी श्रेष्ठ, मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, राजमो महासचिव भट्टसहित नेताहरु सहभागी थिए ।
यो पनि……नारायणकाजीले मोहनविक्रमसँग भने : गठबन्धन तोडेर एमसीसी पास गर्ने षड्यन्त्र भयो