काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । काठमाडौंको कपनस्थित राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई नेताबीच समसामयिक विषयमा छलफल भएको थियो।
भेटमा माओवादी नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धन तोड्न देशी विदेशी शक्तिहरुले षडयन्त्र गरिरहेको बताउनुभयो । उहाँले गठबन्धन तोडेर भएपनि एमसीसी पास गर्ने योजनामा कांग्रेस र एमाले रहेको महामन्त्री सिंहलाई जानकारी दिनुभयो ।
‘पाँच दलीय गठबन्धन तोडेर भएपनि एमसीसी पास गर्ने षडयन्त्र भइरहेको छ’ श्रेष्ठको भनाई उदृत गर्दै भेटमा सहभागी नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले भन्नुभयो, ‘कांग्रेस र एमालेले एमसीसी संसदबाट पास गर्ने प्रयास गरिरहेका छन् । त्यसको लागि अहिलेको गठबन्धन भत्काउने प्रयास भएको छ ।’
यस्तै, उहाँले आफ्नो पार्टी एमसीसी अहिलेकै अवस्थामा पास गर्न नदिने पक्षमार रहेको पनि स्पष्ट पार्नुभयो । नेता श्रेष्ठले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी दलले पनि यथास्थितिमा एमसीसी स्वीकार नगर्ने दाबी गर्नुभयो ।
दुई नेताबीच एमसीसीसहित, प्रतिगमनको खतरा तथा देशको राष्ट्रियताका विविध विषयबारे छलफल भएको प्रवक्ता पुरीले युगदर्शनलाई जानकारी दिनुभयो ।
जवाफमा महामन्त्री सिंहले एमसीसी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अंग भएकाले कुनै पनि अवस्थामा यो संसदबाट पास गर्न नहुने र खारेजीकै लागि आन्दोलन चर्काउनुपर्नेमा जोड दिनुभयो । यस्तै, उहाँले अहिले पनि प्रतिगमनको खतरालाई कम आँक्न नहुने बताउनुभयो ।
‘देशमा एकातिर एमसीसीमार्फत अमेरिकी साम्राज्यवाद प्रत्यक्ष पस्न खोजिरहेको छ । अर्कातिर हिन्दु राज्य पुनर्वहाली गर्ने नाममा राजावादी शक्ति, एमाले र भारतको संस्थापन पक्ष लागिरहेको छ । हिन्दु राज्य पुनर्वहाली गर्ने भनेको फेरि राजतन्त्र फर्काउने षडयन्त्र हो’ महामन्त्री सिंहले भन्नुभयो, ‘त्यसकार अहिलेको हाम्रो मुख्य कार्यभार गणतन्त्र र धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा हो । हाम्रो संघर्ष पनि यसैमा केन्द्रित गर्नुपर्छ ।’
महामन्त्री सिंहले प्रतिगमनको खतरालाई रोक्न वर्तमान गठबन्धनले महत्वपूर्ण योगदान दिएको पनि स्पष्ट पार्नुभयो ।
घेटवार्ताका क्रममा नेता श्रेष्ठले महामन्त्री सिंहको स्वास्थ्यबारेसमेत चासो राख्नुभएको थियो ।
वि.स. २०५९ सालमा दुई पार्टीबीच एकता भएर बनेको तत्कालिन नेकपा (एकताकेन्द्र–मसाल) मा सिंह महामन्त्री र श्रेष्ठ सहमहामन्त्री हुनुहुन्थ्यो ।