काठमाडौं । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमको नाममा भएको कथित भेलालाई सुदूरपश्चिम प्रदेशअन्तर्गत राजमो जिल्ला समितिहरूले खारेज गरिदिएका छन् ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत राष्ट्रिय जनमोर्चाका जिल्ला समिति कञ्चनपुर, कैलाली, डोटी, वैतडी, दार्चुला, बझाङ जिल्ला समितिले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी अवैध भेला र सो भेलाबाट गठन भएको भनिएको कथित समितिको भ्रममा नपर्न अपिल गरेका छन् ।
राजमो डोटीका अध्यक्ष वेणीमाधव जोशीले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी ‘पार्टीको विधान र केन्द्रीय समितिको निर्णयविपरित केही अनुशासनहीन र फुटपरस्त तत्वहरूले गरेको कथित भेला र उक्त भेलाले गरेको निर्णयलाई राष्ट्रिय जनमोर्चा डोटीले सम्पूर्ण रुपमा अवैध ठहर गरेको’ स्पष्ट पार्नुभएको छ ।
साथै उहाँले आफूलाई उक्त अवैध समितिको सहइन्चार्ज भनी विभिन्न सञ्चार माध्यममा भ्रम पारिएकोप्रति पनि आपत्ति जनाउनु भएको छ ।
यस्तै, राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्की, कैलालीका अध्यक्ष दयाराम सञ्ज्याल, बैतडीका जिल्ला संयोजक वीरेन्द्र भण्डारी र बझाङका अध्यक्ष कल्पना भण्डारीले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी फुटपरस्त तत्वहरूको भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।
यो पनिः राजमो कञ्चनपुर फुटपरस्तको विपक्षमा
यसैगरी राजमो डडेल्धुराका उपाध्यक्ष चन्द्रबहादुर विक र दार्चुलाका अध्यक्ष मनवीर दमाईले पनि फुटपरस्त तत्वहरूसँग सचेत रहन आग्रह गर्नुभएको छ । स्मरणीय छ, राजमो डडेल्धुराका अध्यक्ष पदम ओली लामो समयदेखि देशबाहिर रहनुभएकोले चन्द्रबहादुर विकले नै कार्यबहाक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम अन्तर्गतका जिल्लाहरूले नन्दराज भट्ट नेतृत्वको प्रदेश समिति नै आधिकारिक रहेको ठहर सहित सोही समिति मातहत रहेर काम गर्न तथा फुटपरस्त तत्वहरूलाई निस्तेज पार्न आम कार्यकर्ता पंक्तिसँग आग्रह गरेका छन् ।



